
बनेपा/देशभरि नै राष्ट्रिय सहकारी दिवस मनाइरहँदा जिल्ला सहकारी संघ लिमिटेड काभ्रेले पनि ६९ औँ राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रमका साथ मनाएको छ ।
सहकारी क्षेत्रलाई थप सशक्त, उत्तरदायी र जनमुखी बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम विगत वर्षहरूको निरन्तरतास्वरूप सम्पन्न गरिएको हो । यस वर्ष सहकारी दिवसको नारा ‘उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता’ तय गरिएको थियो ।
शुक्रबार संघका अध्यक्ष अमन पोटेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शान्तिरत्न शाक्य को प्रमुख आतिथ्यता तथा उपप्रमुख विमला सापकोटा लगायतको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमको अवसरमा सहकारीका सञ्चालक तथा कर्मचारीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता, रक्तदान कार्यक्रम, संघ परिसरमा गणेश र लक्ष्मीको प्राण प्रतिष्ठा, सहकारीको झण्डोत्तोलन, वृक्षारोपण, क्यालेन्डर सार्वजनिक तथा उद्यमशील महिलाहरूको विशेष भेला जस्ता कार्यक्रमहरू सम्पन्न गरिएको संघले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि शाक्यले सहकारी क्षेत्रका समस्या समाधानमा स्थानीय सरकार सक्रिय रहेको उल्लेख गर्दै केही सहकारी संस्थाका कारण बचतकर्ताको रकम अझै जोखिममा रहेको बताए । समस्याग्रस्त सहकारीहरूको अनुसन्धान र अनुगमन भइरहेको उनको भनाइ थियो ।
त्यसैगरी उपप्रमुख सापकोटाले नगरभित्रका सहकारीहरूको व्यवस्थापन सुधार तथा उद्यमशीलता प्रवर्द्धनका लागि नगरपालिकाले निरन्तर समन्वय गर्दै आएको जानकारी दिइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, काभ्रे उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्द्र बैदार, राष्ट्रिय सहकारी बैंकका उपेन्द्र दाहाल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रम अन्तर्गत आयोजित फुटसल प्रतियोगितामा पाँचखालको स्वेच्छा बचत सहकारी प्रथम हुँदै नगद १५ हजारसहित शिल्ड र मेडल प्राप्त गर्न सफल भयो । त्यसैगरी पनौतीको इन्द्रेश्वर सहकारी दोस्रो हुँदै नगद १० हजार र बनेपाको एक्सप्रेस साकोस तेस्रो स्थान हासिल गर्दै नगद ५ हजारसहित पुरस्कृत भएका छन् ।