
बनेपा/ सहकारी संघ लि. काभ्रे अन्तर्गतको युवा समन्वय उपसमितिको आयोजनामा “सहकारीमा युवा नेतृत्वको भूमिका” विषयक अन्तरक्रियात्मक तालिम कार्यक्रम सम्पन्न भएको छ। सहकारी क्षेत्रमा युवाको सक्रिय सहभागिता, नेतृत्व विकास तथा भावी पुस्तालाई सहकारी अभियानसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमको अध्यक्षता युवा समन्वय उपसमितिका संयोजक रोशन कुमार श्रेष्ठले गर्नुभएको थियो भने जिल्ला सहकारी संघ लि. काभ्रेका अध्यक्ष अमन पोटे श्रेष्ठ प्रमुख व्यक्तित्वका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमका प्रमुख व्यक्तित्व श्रेष्ठले सहकारी क्षेत्रको दिगो विकास, सुशासन तथा नवप्रवर्तनका लागि युवा नेतृत्व अपरिहार्य रहेको बताउँदै सहकारी अभियानलाई समयानुकूल, प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउन युवाहरूको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक एवं मोटिभेटर राजु सरकारले सहजीकरण गर्नुभएको थियो। उहाँले नेतृत्व विकास, व्यक्तित्व निर्माण, प्रभावकारी सञ्चार कला, समूह व्यवस्थापन, निर्णय क्षमता तथा सहकारी क्षेत्रमा युवाहरूले निर्वाह गर्न सक्ने भूमिकाका विषयमा प्रशिक्षण दिनुभएको थियो। साथै सहकारी संस्थाहरूमा युवा सहभागिता वृद्धि गर्दै भावी नेतृत्व तयार गर्न आवश्यक रणनीति तथा व्यवहारिक पक्षबारे समेत अन्तरक्रियात्मक छलफल सञ्चालन गरिएको थियो।
कार्यक्रमको सञ्चालन युवा समन्वय उपसमितिका सदस्य सुरज कुमार न्यौपानेले गर्नुभएको थियो भने स्वागत मन्तव्य सदस्य समेश सापकोटाले व्यक्त गर्नुभएको थियो। स्वागत मन्तव्यका क्रममा उहाँले सहकारी अभियानलाई थप सशक्त र प्रभावकारी बनाउन युवाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
तालिम कार्यक्रममा जिल्ला सहकारी संघ लि. काभ्रेका उपाध्यक्ष, महिला उपाध्यक्ष, कोषाध्यक्ष, लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरू, सञ्चालक समितिका सदस्यहरू, विभिन्न उपसमितिका सदस्यहरू, संघका कर्मचारीहरू तथा प्रारम्भिक सहकारी संस्थाका पदाधिकारी एवं कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा कुल ६५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष रोशन कुमार श्रेष्ठले तालिमबाट प्राप्त ज्ञान, सीप तथा अनुभवलाई आ-आफ्नो संस्थामा व्यवहारिक रूपमा प्रयोग गरी सहकारी क्षेत्रमा सक्षम, जिम्मेवार र दूरदर्शी युवा नेतृत्व विकासमा योगदान पुर्याउन सहभागीहरूलाई आग्रह गर्नुभयो। उहाँले आगामी दिनमा पनि युवामुखी कार्यक्रमहरू सञ्चालन गर्दै सहकारी क्षेत्रमा युवाको आकर्षण र सहभागिता बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रम सहभागीहरूले तालिम अत्यन्त उपयोगी, प्रेरणादायी तथा व्यवहारिक रहेको प्रतिक्रिया दिएका थिए। सहकारी क्षेत्रमा युवाको नेतृत्व विकास तथा क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको थियो।