जिल्ला बचत संघ काभ्रेको “आधारभूत वित्तीय व्यवस्थापन तालिम” सम्पन्न

  • काभ्रे खबर
  • / बैँक / वित्त /
  • २०८३ जेष्ठ २८, बिहिबार (१ महिना अघि)
  • १७२ पटक पढिएको

जिल्ला बचत संघ काभ्रेको “आधारभूत वित्तीय व्यवस्थापन तालिम” सम्पन्न

बनेपा/काभ्रे जिल्ला बचत संघ लि.को वार्षिक कार्यक्रमअन्तर्गत आयोजित “आधारभूत वित्तीय व्यवस्थापन तालिम” बुधबार संघको तालिम हल, बनेपा–७ मा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त तालिममा बनेपा नगरपालिका–४ स्थित दुमो बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति तथा व्यवस्थापन तहका प्रतिनिधिहरूसहित जम्मा १९ जनाको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन सत्रमा संघका अध्यक्ष श्री उदयराम कायस्थज्यूले सहकारी संस्थाको दिगोपना, पारदर्शिता तथा सदस्यहरूको विश्वास अभिवृद्धिका लागि प्रभावकारी वित्तीय व्यवस्थापन अपरिहार्य रहेको बताउनुभयो। उहाँले सहकारी संस्था सञ्चालनका क्रममा सुशासनका सिद्धान्त, सहकारी ऐन, नियमावली, विनियम तथा प्रचलित निर्देशनहरूको पूर्ण पालना गर्नुपर्नेमा विशेष जोड दिनुभयो। साथै, उहाँले जिल्ला बचत संघको आवश्यकता, भूमिका तथा सदस्य संस्थाहरूको क्षमता अभिवृद्धिमा संघले निरन्तर निर्वाह गर्दै आएको योगदानबारे पनि प्रकाश पार्नुभयो।
तालिममा संघका प्रमुख कार्यकारी अधिकृत श्री गुरुप्रसाद ढकालज्यू तथा सहायक कार्यकारी अधिकृत श्री रवि कुमार के.सी.ज्यूले संस्थागत जोखिम व्यवस्थापन, दिगो विकासका आधारहरू, वित्तीय व्यवस्थापनका सिद्धान्त तथा व्यवहारिक पक्षलगायत विविध विषयमा प्रभावकारी सहजीकरण गर्नुभएको थियो। प्रशिक्षणका क्रममा सहभागीहरूलाई वित्तीय अनुशासन, संस्थागत सुदृढीकरण तथा दीर्घकालीन व्यवस्थापनका उपायहरूबारे व्यावहारिक जानकारी प्रदान गरिएको थियो।
सहभागीहरूले तालिमका विषयवस्तुहरू उपयोगी, व्यावहारिक तथा संस्थाको व्यवस्थापन क्षमता अभिवृद्धिमा सहयोगी रहेको प्रतिक्रिया व्यक्त गरेका थिए। उनीहरूले यस्ता तालिम कार्यक्रमले सहकारी संस्थाको सुशासन, पारदर्शिता तथा कार्यकुशलता बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमको समापन सत्रमा दुमो बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष श्री जीवन मंग्रान्तीज्यूले तालिम अत्यन्त उपलब्धिमूलक, ज्ञानवर्धक तथा प्रभावकारी रहेको उल्लेख गर्नुभयो। उहाँले कार्यक्रमको सफल आयोजनाका लागि काभ्रे जिल्ला बचत संघ, प्रशिक्षकहरू तथा व्यवस्थापन पक्षप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभयो।
काभ्रे जिल्ला बचत संघले सदस्य संस्थाहरूको क्षमता विकास, सुशासन प्रवर्द्धन तथा वित्तीय व्यवस्थापन सुदृढीकरणका लागि यस्ता तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरूलाई आगामी दिनहरूमा समेत निरन्तरता दिने जनाएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस