
बनेपा । जिल्ला सहकारी संघ लि., काभ्रेपलाञ्चोकले डिजिटल सदस्यता अद्यावधिक प्रणाली (MIS) सञ्चालनमा ल्याएको छ। संस्थागत अभिलेखलाई व्यवस्थित, अद्यावधिक र विश्वसनीय बनाउने उद्देश्यले संघमा आबद्ध सदस्य सहकारी संघ/संस्थाको विवरण डिजिटल प्रणालीमार्फत अद्यावधिक गर्न लागिएको हो।
संघले प्रकाशित गरेको सूचनाअनुसार सबै सदस्य सहकारी संघ/संस्थाले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र अनिवार्य रूपमा आफ्नो सदस्यता विवरण अद्यावधिक गर्नुपर्नेछ। यसका लागि संघले विकास गरेको डिजिटल सदस्यता अद्यावधिक प्रणाली (MIS) मा संस्थाको विवरण प्रविष्ट गरी आवश्यक कागजातसमेत अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ।
संघका अनुसार अद्यावधिक विवरणले सदस्यताको अभिलेख व्यवस्थापन, तथ्यांक विश्लेषण, सेवा प्रवाह, नीति तथा कार्यक्रम निर्माण, सूचना व्यवस्थापन तथा संस्थागत समन्वयलाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ। साथै डिजिटल प्रणालीमार्फत अभिलेख व्यवस्थापन गर्दा कागजी प्रक्रियामा निर्भरता घट्ने, तथ्यांकको शुद्धता कायम हुने तथा सुरक्षित र सहज पहुँच सुनिश्चित हुने अपेक्षा गरिएको छ।
सदस्य संस्थाहरूले https://mis.discofkavre.org.np/ मा गई लग इन गरी विवरण अद्यावधिक गर्न सक्नेछन्। लग इन गर्दा प्रयोगकर्ता नाम (Username) का रूपमा संस्थाको प्यान नम्बर र पासवर्डका रूपमा संघबाट प्रदान गरिएको सदस्यता नम्बर प्रयोग गर्नुपर्नेछ। त्यसपछि प्रणालीमा माग गरिएका विवरण भरी आवश्यक कागजात अपलोड गरी अन्तिममा ‘Submit’ गरी विवरण पेश गर्न सकिनेछ।
प्रणाली सञ्चालनका क्रममा कुनै प्राविधिक समस्या आएमा वा थप जानकारी आवश्यक परेमा संघका प्रतिनिधि सुजित श्रेष्ठ (९८५१३२७७२७) वा उमेश थापा (९८६४५९६१७५) सँग सम्पर्क गर्न सकिने संघले जनाएको छ।
जिल्ला सहकारी संघ लि., काभ्रेपलाञ्चोकले निर्धारित समयभित्र सदस्यता विवरण अद्यावधिक गरी डिजिटल अभिलेख व्यवस्थापन अभियानलाई सफल बनाउन सबै सदस्य संस्थाहरूलाई अनुरोध गरेको छ। साथै आगामी दिनमा सदस्यमैत्री, प्रविधिमैत्री तथा तथ्यमा आधारित सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरेको छ।