
बनेपा/जिल्ला सहकारी संघ लि., काभ्रेले आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न गतिविधि तथा कार्यक्रमको वार्षिक समीक्षा गर्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम, कार्ययोजना तथा बजेट सार्वजनिक गरेको छ।
संघको सभाहलमा शनिबार आयोजित कार्यक्रममा विगत आर्थिक वर्षमा निर्धारित लक्ष्य तथा कार्यक्रमको प्रगति समीक्षा गर्दै आगामी वर्षका प्राथमिकता र कार्यदिशा प्रस्तुत गरिएको हो। कार्यक्रम संघका अध्यक्ष अमन पोटे श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा संघका कार्यवाहक प्रमुख कार्यकारी अधिकृतले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन तथा सम्पन्न भएका कार्यक्रमहरूको समीक्षा प्रस्तुत गरेका थिए। समीक्षाअनुसार संघले निर्धारण गरेका वार्षिक लक्ष्य तथा कार्यक्रमहरूमा शतप्रतिशत उपलब्धि हासिल गरेको जनाइएको छ।
आगामी आर्थिक वर्षमा संघले संस्थागत सुदृढीकरण र सदस्य सेवाको प्रभावकारितालाई मुख्य प्राथमिकतामा राखेको छ। नीति तथा कार्यक्रममा सदस्य संस्थाहरूको अद्यावधिक विवरण संकलन तथा व्यवस्थापन, बचत तथा ऋण कारोबारलाई व्यवस्थित बनाउने, संस्थागत कार्यमा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने र संघलाई तालिम तथा क्षमता विकासको केन्द्रका रूपमा विकास गर्ने विषय समेटिएका छन्।
त्यस्तै, सहकारी संस्थाबाट उत्पादित वस्तुको उत्पादन तथा बजारीकरण प्रवर्द्धनलाई समेत आगामी वर्ष प्राथमिकताका साथ अघि बढाउने संघले जनाएको छ। प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई सहज, छरितो र व्यवस्थित बनाउँदै सदस्य संस्थाको क्षमता अभिवृद्धिमा जोड दिने नीति संघले लिएको छ।
कार्यक्रममा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि सहभागीहरूले विभिन्न जिज्ञासा तथा सुझाव राखेका थिए। सहभागीका प्रश्न तथा जिज्ञासाको संघका अध्यक्ष श्रेष्ठ, सचिव प्रकाश बञ्जारा र कार्यवाहक प्रमुख कार्यकारी अधिकृतले जवाफ दिएका थिए।
कार्यक्रममा संघका उपाध्यक्ष शान्ति लामा तामाङले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। संघका अध्यक्ष श्रेष्ठ र सल्लाहकार कमलप्रसाद कुईकेलले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रमको सञ्चालन संघका सचिव प्रकाश बञ्जाराले गरेका थिए।
वार्षिक समीक्षा कार्यक्रममा संघका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, विभिन्न उपसमितिका सदस्य तथा कर्मचारी गरी ४२ जनाको सहभागिता रहेको थियो।
वार्षिक समीक्षा तथा आगामी वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै संघले संस्थागत सुशासन, प्रविधिमैत्री सेवा, सदस्य संस्थाको क्षमता विकास तथा उत्पादन र बजारीकरणलाई केन्द्रमा राखेर आगामी गतिविधिलाई थप परिणाममुखी बनाउने जनाएको छ।