
काभ्रेपलाञ्चोक । जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकले आफ्नो ५९औँ स्थापना दिवस सामाजिक सेवामूलक कार्यक्रमसहित मनाएको छ। स्थापना दिवसको अवसरमा संघले पनौती नगरपालिका–९, त्रिवेणीघाटस्थित श्री प्राणनाथ माइती वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई भोजन तथा न्यानो जुत्ता वितरण गरेको हो।
संघका अध्यक्ष अमन पोटे श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा ज्येष्ठ नागरिकलाई भोजन गराउनुका साथै चिसो मौसमलाई मध्यनजर गर्दै न्यानो जुत्ता प्रदान गरिएको संघले जनाएको छ।
सो अवसरमा अध्यक्ष श्रेष्ठले ज्येष्ठ नागरिकको सम्मान, संरक्षण र हेरचाह समाजको साझा दायित्व भएको बताए। उनले सहकारी संस्थाहरूले आर्थिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
स्थापना दिवसका अवसरमा संघले आफ्नै सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रमसमेत आयोजना गरेको थियो। कार्यक्रममा सहकारी क्षेत्रका पदाधिकारी तथा अभियन्तासहित सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेका अध्यक्ष गोपाल दाहाल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष उदयराम कायस्थ तथा जिल्ला सहकारी संघका सचिव प्रकाश बञ्जारालगायतको उपस्थिति रहेको थियो।
जिल्लाभरका सहकारी संस्थाहरूको साझा संस्थाका रूपमा रहेको जिल्ला सहकारी संघले स्थापना दिवसलाई सामाजिक सेवासँग जोडेर मनाएको जनाएको छ। संघका अनुसार यस्ता कार्यक्रमले सहकारी संस्था र समुदायबीचको सम्बन्ध थप सुदृढ बनाउनुका साथै ज्येष्ठ नागरिकप्रति सम्मान र मानवीय सेवाको भावना प्रवर्द्धन गर्न सहयोग पुग्नेछ।