सहकारी र सञ्चार क्षेत्रबीच अन्तरक्रिया, पारदर्शिता र सुशासनमा जोड

  • काभ्रे खबर
  • / बैँक / वित्त /
  • २०८३ भाद्र २७, शनिबार (१ महिना अघि)
  • २६५ पटक पढिएको

सहकारी र सञ्चार क्षेत्रबीच अन्तरक्रिया, पारदर्शिता र सुशासनमा जोड

बनेपा । जिल्ला सहकारी संघ लिमिटेड काभ्रेको आयोजनामा जिल्लाका सञ्चारकर्मीसँग सहकारी क्षेत्रको वर्तमान अवस्था, संघको भूमिका, गतिविधि तथा चुनौतीका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
शनिबार आयोजित कार्यक्रममा जिल्लामा सञ्चालित सहकारी संस्थाका गतिविधि, सहकारी क्षेत्रमा देखिएका समस्या, पारदर्शिता, सुशासन, सदस्यको अधिकार तथा सञ्चारमाध्यमसँगको सम्बन्धलगायतका विषयमा छलफल गरिएको थियो।
कार्यक्रमको अध्यक्षता जिल्ला सहकारी संघ लिमिटेड काभ्रेका अध्यक्ष अमन पोटे श्रेष्ठले गर्नुभएको थियो। संघका वरिष्ठ उपाध्यक्ष शान्ति लामा वाइवाले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै सहभागी सञ्चारकर्मीलाई स्वागत गर्नुभएको थियो।
कार्यक्रममा संघका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले संघका गतिविधि, हालसम्म भएका काम तथा आगामी योजनाबारे प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँका अनुसार काभ्रेमा हाल ६४६ वटा सहकारी संस्था सञ्चालनमा रहेका छन् भने ५८५ वटा सहकारी जिल्ला सहकारी संघमा आबद्ध छन्। जिल्लाका १३ वटै स्थानीय तहमा सहकारी संस्था सञ्चालनमा रहेको जानकारी दिइएको छ।
प्रस्तुतीकरणमा सबैभन्दा धेरै सहकारी संस्था बनेपा नगरपालिकामा २०१ वटा रहेको जानकारी दिइएको थियो। संघले हाल ऋण लगानी तथा बचतसम्बन्धी कार्य रोकिसकेको र सञ्चालनमा रहेका सेवा केन्द्रहरू पनि क्रमशः बन्द गर्दै लगिएको श्रेष्ठले जानकारी दिनुभयो।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले सहकारी क्षेत्रको पारदर्शिता, सुशासन, सदस्यको अधिकार, सहकारी संस्थाको वर्तमान अवस्था तथा सहकारी ठगी र अनियमिततालगायतका विषयमा प्रश्न, सुझाव तथा धारणा राखेका थिए।
सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिँदै अध्यक्ष श्रेष्ठले सञ्चारमाध्यम र सहकारी क्षेत्रबीच आवश्यक समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सञ्चारकर्मीबाट प्राप्त सुझावलाई सकारात्मक रूपमा ग्रहण गर्दै संघका गतिविधिलाई थप प्रभावकारी र पारदर्शी बनाउने बताउनुभयो।
उहाँले सहकारीकर्मी तथा सञ्चारकर्मीबीच अनुभव आदानप्रदानका लागि आवश्यक तालिम सञ्चालन गर्ने, असल शासनका अभ्यास आदानप्रदान गर्ने तथा संघका कामकारबाहीलाई थप पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। संस्थाको काममा कमजोरी वा गल्ती देखिएमा सञ्चारमाध्यम तथा सरोकारवालाबाट प्राप्त सुझावका आधारमा सुधार गर्दै अघि बढ्ने उहाँको भनाइ थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपानेले जिल्ला सहकारी संघले गर्दै आएका सकारात्मक गतिविधिलाई महासंघले सञ्चारमाध्यममार्फत प्रवाह गर्दै आएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि सहकारी संघका सकारात्मक गतिविधिलाई सञ्चारमाध्यममार्फत प्रवाह गर्न महासंघको सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
महासंघका पूर्व अध्यक्ष ईश्वरी ओझाले जिल्ला सहकारी संघले गरेका काम सकारात्मक रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्न शुभकामना दिनुभयो।
पूर्व अध्यक्ष मोतीराम तिमल्सिनाले काभ्रेबाटै सहकारी अभियानको विकासमा महत्वपूर्ण योगदान भएको इतिहासलाई भुल्न नहुने बताउनुभयो। पछिल्लो समय जिल्लामा सहकारी ठगीका घटना समेत देखिएको भन्दै उहाँले सहकारी क्षेत्रका सकारात्मक गतिविधिसँगै ठगी तथा अनियमितताका विषयमा पनि सञ्चारमाध्यमले खोजमूलक समाचारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
उहाँले सहकारी क्षेत्रलाई व्यवस्थित र विश्वसनीय बनाउन नीतिगत रूपमा समेत सुधार आवश्यक रहेको बताउनुभयो।
महासंघका अर्का पूर्व अध्यक्ष महेश पौडेलले सहकारी र सञ्चार क्षेत्रबीचको अन्तरक्रियाले दुवै पक्षलाई एक–अर्काका गतिविधि बुझ्न सहयोग पुग्ने बताउँदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो।
अन्तरक्रियामा सहभागी सञ्चारकर्मीहरूले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि जिल्ला सहकारी संघ, सञ्चारमाध्यम तथा सम्बन्धित सरोकारवाला निकायबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।
कार्यक्रमले जिल्लाको सहकारी क्षेत्रलाई थप पारदर्शी, जवाफदेही र व्यवस्थित बनाउन सञ्चारमाध्यमको भूमिकालाई थप स्पष्ट बनाएको सहभागीहरूले बताएका छन्।

ताजा अपडेट

२०८३ आश्विन २४, शनिबार

समयको हिसाब

यो साताको प्रचलित

खोजी गर्नुहोस