
पाँचखाल/अस्फाल्ट ब्याच मिक्स प्लान्टले वातावरणमा कुनै असर नपर्ने निर्माण कम्पनीले बताएको छ ।
पाँचखाल नगरपालिका वडा नम्बर ८ होक्सेमा स्थापना गर्न लागिएको अस्फाल्ट ब्याच मिक्स प्लान्टले वातावरणमा कुनै असर नपर्ने भन्दै यस बारेमा कुनै भ्रम नपाल्न सरोकारवालामा अनुरोध गरेको छ।
कम्पनीले धुलिखेलमा पत्रकार सम्मेलन गरी बन्दन भगवती निर्माण सेवा प्रालीले प्लान्टका प्राविधिक पक्षबारे सरोकारवालाहरुलाई स्पष्ट पारेको हो ।
निर्माण उद्योगका लागि अत्यावश्यक अस्फाल्ट ब्याच मिक्स प्लान्ट उत्पादनका लागि संसारभर ख्याति कमाएको १ सय ५० वर्ष अघि नै स्थापित अम्मान कम्पनीले यूरोपेली मापदण्डको स्विस प्रविधिमा आधारित प्लान्टले वातावरणमा कुनै असर नगर्ने कम्पनीले दाबी गरेको छ ।
कम्पनीमा रहेका मेसिनमा धुवा र धुलो नियन्त्रण गर्ने स्वचालित कम्प्युटराइज प्रविधि जडान गरिएको छ। ‘विगतमा बिटुमिन र गिट्टी पोलेर सडकमा नै बनाइने अलकत्राले जस्तो यसले प्रदूषण गर्ने होइन,’ पत्रकार सम्मेलनमा उनले भने, ‘मेसिनभित्र रहेको २५४ स्क्वायर मिटरको १ सय ६८ वटा फिल्टरबाट प्रशोधन भएर यसले काम गर्छ, धुवा उड्दैन, बाफ मात्रै निस्किन्छ, गिट्टीमा हुने धुलो पनि हिलोको रुपमा बाहिर आउँछ जुन पुनः प्रयोग गर्न मिल्ने खालको हुन्छ।’ मेसिनमा रहेको ब्लु स्मोक ट्रिटमेन्ट सिस्टम, भिजुअल रिडक्सन डिभाइस, एडभान्स फिल्ट्रेसन सिस्टम लगायतका उच्चतम प्रविधिका कारण वातावरणमा कुनै असर नगर्ने कम्पनीका प्रबन्ध निर्देशक रामजी पन्तले (मुकेस) बताउनु भयो ।
राष्ट्रिय प्रतिष्ठाको विषय बनेको सूर्यविनायक-साँगा-धुलिखेल तथा निकट भविष्यमा निर्माण हुने धुलिखेल-खावा सडक सहित पाँचखाल नगरपालिका भित्र रहेका विभिन्न सडकमा अस्फाल्ट पिच गर्ने उद्देश्यले स्थापना गर्न लागेको प्लान्टका कारण छोटो समयमा गुणस्तरीय निर्माण गर्ने लक्ष्य रहेको कम्पनीको दाबी छ । प्रत्यक्ष अप्रत्यक्ष रूपमा १ सय जनासम्मलाई रोजगारी दिन सक्ने प्लान्ट स्थापना हुँदा पाँचखाल र जिल्लावासी प्रत्यक्ष अप्रत्यक्ष रुपमा लाभन्वित हुने प्रबन्ध निर्देशक पन्त बताउनु भयो ।
३० रोपनी जग्गामा स्थापना हुने उक्त प्लान्ट ती दुई सडक आयोजना निर्माणपछि अन्यत्र लैजाने र त्यहाँ रहेका पुरातात्विक संरचना, वन जङ्गल लगायतका कुनै पनि पूर्वाधारलाई असर नगर्ने उहाँले बताउनु भयो।
स्थानीय तहदेखि सदनसम्म अनर्गल प्रचारवाजी र भ्रम छरिएको प्रति दुःख व्यक्त गर्दै उनले त्यसमा कुनै सत्यता नभएको दावी गर्दै यस्तै किसिमको प्लान्ट यस अघि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरको तिनकुने र पेप्सीकोला तर्फ, बालाजु तिनपिप्ले, ललितपुरको भैसेपाटी, भक्तपुरको सूर्यविनायक नगरपालिका जगाती चोक नजिक, काभ्रे बनेपाको जनागाल लगायतका स्थानमा संचालनमा आइसकेको जानकारी गराउनु भयो ।