बनेपाको धार्मिक पर्यटकीयस्थल गोसाइँस्थानमा जनैपूर्णिमा मेला

  • काभ्रे खबर
  • / कला/संस्कृति /
  • २०८२ श्रावण २४, शनिबार (६ महिना अघि)
  • ३२९ पटक पढिएको

बनेपाको धार्मिक पर्यटकीयस्थल गोसाइँस्थानमा जनैपूर्णिमा मेला

बनेपा/ बनेपाको धार्मिक पर्यटकीयस्थल गोसाइँस्थानमा जनैपूर्णिमा मेला लागेको छ ।

नेपालको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डसँग कथा र महत्व जोडिएको बनेपाको बुडोल स्थित गोसाइँस्थानमा जनै पूर्णिमाको दिन जनैधारण गर्ने, शिव मन्दिरमा दर्शन, पूजाअर्चना गर्न भक्तजनहरूको भिड लाग्ने गर्दछ ।

हिन्दु धर्मसंस्कार अनुसार यहाँ रहेको शिव मन्दिरमा पूजा गरी ब्राह्मणबाट रक्षाबन्धन र टीका लगाइन्छ । यस्तै तामाङ समुदायका ‘झाँक्री’ ढ्याङ्ग्रो बजाउँदै विभिन्न किसिमले पूजा गरी दर्शन गर्ने गर्दछन् । नेवार समुदायले अन्नपात चढाउने, ब्राह्मण समुदायले जनै लगाउने र हातमा रक्षाबन्धन बाँध्ने चलन छ । रसुवाको गोसाइँकुण्ड पुग्न नसक्नेले यहाँको गोसाइँस्थानमा आएर दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ ।

परापूर्वकालमा भाद्र पूर्णिमाका दिन देवगण र राक्षसहरु मिलेर समुन्द्र मन्थन गर्दा समुन्द्रको गर्भमा लुकेको विष बाहिर निस्कियो । त्यो विषलाई महादेवले सेवन गरेपछि विष सेवनको छटपटीलाई सहन नसकेर महादेव हिमालय पर्वततर्फ लाग्नुभयो । त्यही क्रममा महादेवको पहिलो बास गोसाइँस्थानमा बसेको र बिहान भाले बासेपछि उहाँले रसुवाको गोसाइँकुण्डमा पुगेर त्यहाँ त्रिशूलले घोपेर पानी निकाली पीडा शान्त पार्नुभएको किंवदन्ती छ ।

सोही किंवदन्ती अनुसार हरेक बर्ष जनैपूर्निमाको दिन गोसाइँस्थानमा मेला लाग्ने गर्दछ । मेला भर्नका लागि काभ्रेपलाञ्चोकलगायत काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत विभिन्न जिल्लाबाट भक्तजनहरु आउने गर्दछन् ।

शान्त, रमणीय र मनोरञ्जन लिन आकर्षक स्थान हुनुका साथै धार्मिक दृष्टिकोणले महादेव मन्दिरको दर्शन गर्न पाइने भएकाले यहाँ पर्यटकको आगमन बढ्दै गएको बनेपा वडा नं ६ का वडाध्यक्ष सचितानन्द केसीले बताउनु भयो ।

ताजा अपडेट

२०८२ माघ २३, शुक्रबार

कर्मले मन जित्दै सुमन

यो साताको प्रचलित

खोजी गर्नुहोस