
धुलिखेल÷ किर्तिपुर नगरपालिका–५ का ५० वर्षीय विनोद खड्गीको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको सजाय भएको छ ।
खत्रीलाई हनी ट्रयापमा पार्ने मुख्य अभियुक्त सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भई हाल मध्यपुर ठिमी नगरपालिका–९ बस्ने मनिषा महत, महोत्तरी जिल्ला गौशला नगरपालिका–६ घरभई हाल भक्तपुर कौशलटार बस्ने आशिष पासवान र बाग्लुङ गलकोट नगरपालिका–७ घरभई हाल काठमाडौँ कोटेश्वर बस्ने प्रतिक गौतमलाई जन्मकैदको फैसला भएको हो । काभ्रेपलाञ्चोक जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले महत, पासवान र गौतमलाई जन्मकैदको फैसला गरेको हो । उनीहरुबाट २—२ लाख रुपैयाँका दरले जरिवानाको फैसला पनि अदालतले गरेको छ ।
उनीहरुबाट जनही २८०० रुपैयाँ पीडित राहत कोषमा जम्मा गराउने आदेश पनि अदालतले दिएको छ । पासवानको साथको स्कुटर जफत गरेर जाहेरवालाले पाउने फैसला पनि भएको छ । मतियारको रुपमा मुद्दा चलाइएका काठमाडौँ शङ्करापुर नगरपालिका–५ का सरिन घिमिरेलाई पनि अदालतले दोषी ठहर गरेको छ । उनलाई सजाय निर्धारणका लागि अर्को पेशी तोकिएको छ । यो प्रकरणमा संलग्न भनिएका अंशु खान र शिवम सिं राजपुत फरार रहेका छन् भने अन्य प्रतिवादीहरु रोशनी महत, सञ्जय खत्री, मेनुका महत र दिपेश पौडेलले सफाई पाएका छन् ।
काठमाडौं कीर्तिपुर नगरपालिका–५ मा मासु पसल सञ्चालन गर्दै आएका खड्गीलाई उक्त समूहले २०८१ असोज ५ गते राति अपहरण गरी फिरौती रकम असुलेर हत्या गरेका थिए । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भई मध्यपुर थिमीमा बस्ने २१ वर्षीया मनिषा महतले भारतीय र नेपाली नागरिकसँग मिलेर कीर्तिपुरका विनोदको हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।