एक महिनादेखि हराइरहेका सशस्त्र प्रहरीका असई शक्ति राम र शर्मिला चौधरी मृत फेला

  • काभ्रे खबर
  • / अपराध /
  • २०८३ जेष्ठ २०, बुधबार (५ दिन अघि)
  • १४१ पटक पढिएको

एक महिनादेखि हराइरहेका सशस्त्र प्रहरीका असई शक्ति राम र शर्मिला चौधरी मृत फेला

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं. ३ स्थित ठुली सामुदायिक वनमा एक महिला र एक पुरुषको सडेगलेको अवस्थामा कंकाल फेला परेको छ। कंकालसँगै बरामद भएका कपडा तथा कागजातका आधारमा उनीहरू केही समयदेखि बेपत्ता रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) शक्ति राम र उनकी साथी शर्मिला चौधरी रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार बिहान करिब १०ः३० बजे स्थानीयवासीले वन क्षेत्रमा मौवाका दुई वटा रुखमा सलको पासो लगाई झुण्डिएको अवस्थामा टाउकाको कंकाल मात्र देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी चौकी पाँचखाल र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–८ रामनगरी घर भएका असई शक्ति राम सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हेडक्वाटर काभ्रेमा कार्यरत थिए। उनी गत वैशाख १९ गते दुई दिनको घर बिदा स्वीकृत गराई कार्यालयबाट निस्किएका थिए। तर बिदा सकिएपछि पनि कार्यालयमा नफर्किएपछि गण हेडक्वाटरले वैशाख २१ गतेदेखि उनको खोजी सुरु गरेको थियो।
यस्तै, कैलालीको घोडाघोडी नगरपालिका–१ निवासी २६ वर्षीया शर्मिला चौधरी वैशाख १८ गते शक्ति रामलाई भेट्न काभ्रे जान्छु भन्दै घरबाट निस्किएकी थिइन्। त्यसपछि उनी पनि सम्पर्कविहीन बनेकी थिइन्। मोबाइल फोनसमेत बन्द भएपछि उनका भाइ रञ्जित चौधरीले वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा खोजतलासका लागि निवेदन दिएका थिए।
अनुसन्धानका क्रममा प्रहरीले शर्मिलाको मोबाइलको अन्तिम लोकेशन काभ्रेपलाञ्चोक क्षेत्रमा देखिएको जनाएको छ। त्यसपछि जिल्ला प्रहरी कार्यालय काभ्रे र प्रहरी वृत्त बालाजुको संयुक्त टोलीले बैंकिङ विवरण, कल डिटेल रेकर्ड (सीडीआर) लगायतका प्राविधिक माध्यमबाट दुवैको खोजी कार्य तीव्र बनाएको थियो।
खोजीकै क्रममा आज ठुली सामुदायिक वनमा दुई कंकाल फेला परेका हुन्। घटनास्थलबाट बरामद कपडा तथा व्यक्तिगत सामग्री आफन्त र साथीभाइमार्फत सनाखत गराउँदा कंकाल शक्ति राम र शर्मिला चौधरीकै भएको पुष्टि भएको प्रहरीले जनाएको छ।
प्रहरीले दुवैको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाएको छ। घटनाको कारण र मृत्युको प्रकृतिबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस