
काभ्रे/भुम्लु गाउँपालिकाले उत्कृष्ट अंक ल्याई एसईई २०८१ पास गर्ने २ जना विद्यार्थीलाई जनही १ लाख रुपैयाँ पुरस्कार प्रदान गरेको छ ।
गाउँपालिका भित्रका विद्यालयहरुबाट सर्वोत्कृष्ट अंक ल्याउने १/१ जना छात्रा र छात्रलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको हो ।
माध्यमिक शिक्षा परिक्षा २०८१ मा भुम्लु गाउँपालिका भरीमा सर्वोत्कृष्ट अंक हाँसिल गर्नेमा छात्रातर्फ सेतीदेवी माध्यमिक विद्यालय, सापिङका प्रशन गिरी र छात्रातर्फ अरुणोदय माध्यमिक विद्यालय, सिमथलीका मनिता खड्कालाई पुरस्कृत गरिएको छ । गिरीले ३ दशमलव ७४ सिजिपिए र खड्काले ३ दशमलव ४४ सिजिपिए ल्याएका थिए ।
गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल, उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा लामा), जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका सदस्य कमलराज गिरी, सामाजिक विकास समितिका संयोजक रहेका वडा नं ५ का अध्यक्ष अञ्चल मोक्तान, प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर के.सी लगायतले उनीहरुलाई सम्मान गरिएको थियो ।
धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल ३ विद्यालयलाई पनि नगद जनही २५ हजारसहित सम्मान गरिएको छ । वडा नं ६ को जनता माध्यमिक विद्यालय, वडा नं १ को सेतीदेवी माध्यमिक विद्यालय र वडा नं ७ को शारदा माध्यमिक विद्यालयलाई पुरस्कृत गरिएको हो ।
गाउँपालिकाको शैक्षिक गुणस्तरमा सुधार र वृद्धि होस् भन्ने हेतुले उत्कृष्ट विद्यार्थीका साथै विद्यालयलाई पनि सम्मान एवं प्रोत्साहन गरिएको उपाध्यक्ष जितेन्द्रमान तामाङले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिकाको प्रतिनिधित्व गर्दै योगको जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा पुरस्कृत हुने वनदेवी माविका विद्यार्थी सजन जि.सी र राष्ट्रपति रनिङ शिल्ड जिल्ला स्तरीय प्रतियोगितामा ३ स्वर्ण र एक रजत पदक जित्न सफल विनिशा भण्डारीलाई सम्मान गरिएको थियो ।