
धुलिखेल / नेपालमा कानुनी शिक्षाका सम्भावना र चुनौतीका साथै यसका विविध पक्षबारे छलफल गरिएको छ ।
काठमाडौँ विश्वविद्यालय स्कुल अफ लको विद्यार्थी कल्याण परिषद्ले ‘कानुनी शिक्षाको सम्भावना र चुनौती, नेपाल बार एसोसिएसनको भूमिका र सहकार्यका साथै नवोदित अधिवक्ता र कानुनका विद्यार्थीका अवसर र चुनौती’ बारे छलफल चलाएको हो ।
कानुनी शिक्षाका सम्भावना र चुनौतीका बारेमा सरोकारवाला पक्षहरूसँग अन्तरक्रिया र सहकार्यको वातावरण बनाउन कार्यक्रम आयोजना गरिएको विद्यार्थी कल्याण परिषदका सभापति प्रशान्त झाले जानकारी दिनुभयो ।
छलफल कार्यक्रममा नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरे, उपाध्यक्ष अजयशंकर झा र महासचिव केदार कोइरालाका साथै विश्वविद्यालयको स्कुल अफ लका निवर्तमान डिन डा. ऋषिकेश वाग्ले ‘प्यानलिस्ट’को रूपमा सहभागी हुनु हुन्थ्यो ।
न्याय प्रणालीमा सुधारको खाँचो रहेको भन्दै मुलुकमा उत्पादन भइरहेका कानुनका विद्यार्थी र नवोदित अधिवक्ताहरूले यसमा सुधार गर्न पहल थाल्नुपर्ने बताए । सत्प्रयासबाट धेरै कुराहरू सम्भव हुने भन्दै उनले आफ्नो क्षमता, विद्वता र कार्यशैलीका कारण गलत आचरण र नियत भएका व्यक्तिहरुलाई ढोकाबाट सहजै बहिर्गमन हुन नदिई झ्यालबाट हाम फाल्नुपर्ने स्थिति रहेको बताउनु भयो।
बारका उपाध्यक्ष अजय शंकर झाले आफ्नो समयमा शिक्षकले पढाउने मात्रै र त्यसैका आधारमा परीक्षामा सामेल भएर उत्तीर्ण हुनुपर्ने अवस्था रहेको चर्चा गर्दै अहिले कानुनका विभिन्न पाटो र अवसरहरू रहेको रहेको चर्चा गर्नु भयो ।
बारका महासचिव केदार कोइरालाले अदालतका मिसिल, फाइल बोक्नेलाई मात्रै ‘कानुन व्यवसायी’को नजरले हेर्ने परिपाटी अन्त्य हुँदै गएको तर्क गर्दै कानुन विषयका विभिन्न आयामहरू रहेको र प्राज्ञिक क्षेत्रका साथै अध्ययन, अनुसन्धान, सयुक्त राष्ट्र संघीय निकाय, कर्पोरेट लगायतका क्षेत्रमा अधिवक्ता वा कानुनका विद्यार्थीको राम्रो सम्भावना भएको बताउनु भयो।
पूर्व न्यायाधीश समेत रहेका काठमाडौँ विश्वविद्यालय स्कुल अफ लका निवर्तमान डिन ऋषिकेश वाग्लेले बार एसोसिएसन र कानुनको प्राज्ञिक क्षेत्रबीच धेरै खाडल रहेको औल्याउँदै न्याय क्षेत्रमा अझै पुरानै जनशक्तिको ‘हालीमुहाली’ रहेको तर्क राख्नु भयो । अध्ययन, अनुसन्धान जस्ता काम कानुन विषयका प्राज्ञिक व्यक्तित्वहरूले गर्न सक्ने भन्दै उनले विशेषज्ञता अनुसारको ‘कार्यविभाजन र सहकार्य’ हुनुपर्ने धारणा राख्नु भयो । यसैगरी काठमाडौँ विश्वविद्यालय स्कुल अफ लका नवनियुक्त डिन शिवकुमार गिरीले कानुनी शिक्षाको क्षेत्रमा नेपालले निकै फड्को मारेको बताउनुभयो ।