एबिएम स्कूल बनेपामा विद्यार्थीको स्वागत र विदाई

  • काभ्रे खबर
  • / शिक्षा /
  • २०८२ भाद्र १, आईतबार (४ महिना अघि)
  • २४७ पटक पढिएको

एबिएम स्कूल बनेपामा विद्यार्थीको स्वागत र विदाई

बनेपामा रहेको आर्दश विद्या मन्दिर (एविएम) स्कूल / कलेजले साउन ३१ गते बनेपामा एक बृहत कार्यक्रम आयोजना गरी कक्षा-११ का विद्यार्थीलाई स्वागत र कक्षा-१२ मा उर्तिण विद्यार्थीको विदाई गरेको छ । प्राध्यापक भोजराज तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली भाषा विज्ञ प्राध्यापक डाक्टर रामप्रसाद ज्ञवालीले पठन संस्कृतिको विकासका लागि योगदान गर्न आग्रह गर्नुभयो । कार्यक्रममा शिक्षाविद् डाक्टर चन्द्रप्रसाद लुइटेल र आइएसओका अन्तराष्ट्रिय अडिटर शैलेन्द्र खरेलले विद्यालयले जिल्लामा नै राम्रो शिक्षा प्रदान गरेको उल्लेख गर्नुभयो ।
उद्घाटन कार्यक्रममा भाषा विज्ञ प्राध्यापक ज्ञवालीले पानसमा दिप प्रज्वलन गर्नुभएको थियो भने महर्षि मुदगल सान्दीपनि गुरुकुलका विद्यार्थीले स्वस्तिक वाचन गरेका थिए ।

औपचारिक कार्यक्रममा विद्यालयका प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले विद्यालयको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । विद्यार्थी दिया खड्काले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन विद्यालयका संयोजक सरोज कुइकेलले गर्नुभएको थियो । कार्यक्रम औपचारिक र अनौपचारिक गरी दुई भागमा बाढिएको थियो । अनौपचारिक कार्यक्रममा विद्यार्थीले आफ्नो प्रतिभा देखाएका थिए ।
कार्यक्रममा कक्षा १२ मा अध्ययन सकेका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गर्नुका साथै अतिथीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले देशभक्तिपूर्ण गित र मनोरञ्जनपूर्ण नृत्यहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा पत्रकार, शिक्षक, विद्यार्थी र अभिभावकको उल्लेख्य सहभागिता थियो । यस वर्ष कक्षा १२ मा ११८ जना विद्यार्थी विशिष्ट श्रेणीमा उर्तिण भएका थिए । कक्षा ११ मा १७२ जना विद्यार्थी भर्ना भएका छन् ।
आदर्श विद्या मन्दिर (एविएम) स्कूल बनेपाले आइएसओ २१००१ प्रमाण पत्र प्राप्त गरेको छ । आइएसओ २१००१ शैक्षिक संस्थाहरूका लागि अन्तराष्ट्रिय मानक हो, जसले शैक्षिक संस्थाहरूमा सिक्ने र सिकाउने माध्यमहरूका लागि मार्गनिर्देश गर्दछ । विद्यालयमा २० वटा सिक्ने माध्यम र १५ वटा सिकाई विधिलाई अवलम्वन गरिएको छ । सिकाई विधिको सूची (LLM) मा व्याख्यान, छलफल, अनुभव अदानप्रदान, समस्यामा आधारित शिक्षा, परियोजनामा आधारित सिकाई, साथीहरूसँगको अध्यापन, कक्षा कोठा बाहिर निर्देशानात्मक सामाग्रीको प्रयोग, साझा सिकाई अर्थात टिम वर्क, खेलमा आधारित सिकाई, अनलाईन सिकाई, बहुसंवेदनशिल सिकाई, श्रव्यदृश्यबाट सिकाई र भूमिका निर्वाहलाई प्राथमिकतामा राखिएको छ ।
सिक्ने विधिको सूची (LLA) मा पाठ्यपुस्तक र कार्यपुस्तकहरू, कार्यपत्रहरू, भौतिक सामाग्रीको प्रर्दशन, शव्दावलीका कार्ड तथा तालिकाहरू, कार्यशाला, सन्दर्भ पुस्तकहरूको आदानप्रदान, पोष्टर र ग्राफिक्स पुस्तक उपन्यासहरू, शैक्षिक खेलहरू, विद्युतिय पाठ्यक्रम तथा शैक्षिक सामाग्री, गतिविधि पुस्तकहरू, श्रव्य दृश्य र शैक्षिक सामाग्री, पत्रपत्रिकाहरू, प्रयोगशाला, चलचित्र, टेलिभिजन प्रर्दशन, घटना अध्ययन र सिफारिस गरिएका अध्ययन सामाग्रीलाई माध्यमका रुपमा राखिएका छन् ।
विद्यालयहरूमध्येमा गुणस्तरिय शिक्षा प्रदान गरिएको छ कि छैन भन्ने अभिभावकहरूमा रहेको अन्यौंलतालाई आइएसओले मापन गर्दछ । गुणस्तरको मापन र जोखिम व्यवस्थापनका लागि समस्याको पहिचान, विश्लेषण र व्यवस्थापनमा यसको महत्वपूर्ण भूमिका रहन्छ । यसमा माइक्रोसफ्ट, ओराकल र साप सफ्टवेयरहरू प्रयोग गरिन्छन् । हरेक दिन परामर्श फारामहरूमार्फत समस्याको समाधानमा यसले मद्दत गर्दछ । विद्यालयमा परिक्षा सकिएको केही मिनेटमा नै परिक्षाफल प्रकाशन गर्नदेखी विद्यार्थीको अवस्था बुझ्नका लागि यो फलदायी देखिएको छ । बनेपा नपा – ११ हाइटमा रहेको आर्दश विद्या मन्दिरमा स्नातक सम्मको पढाई हुन्छ । विज्ञान, मानविकी, शिक्षा, कानुन र व्यवस्थापन विषयमा प्रशिक्षित, योग्य, सक्षम र अनुभवी शिक्षकहरुद्धारा यहाँ पठन पाठन हुन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस