जनक मा.विमा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम

  • काभ्रे खबर
  • / शिक्षा /
  • २०८२ भाद्र १४, शनिबार (३ महिना अघि)
  • ६३२ पटक पढिएको

जनक मा.विमा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम

जनक माध्यमिक विद्यालयमा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार विद्यालयले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम गरेको हो ।

सोही कार्यक्रममा विद्यालयले कक्षा १२ मा उत्तीर्ण भएका १११ जना विद्यार्थीहरु सम्मानित गरेको छ । विद्यालय प्रथम ऋग्वेद खनाल, व्यवस्थापन समूह प्रथम सञ्जीव लामा, विज्ञान समूह प्रथम सुभेच्छा अधिकारी, शिक्षा समूह प्रथम कृति तिवारीलाई नगद तथा प्रमाणपत्रबाट सम्मान गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर दाहालले विद्यालयमा उद्यमशीलता प्रवर्द्धनका लागि बीउ पूँजीको रूपमा रु. १५ लाख उद्यमशीलता प्रवर्द्धन कोषमा जम्मा गर्नुभएको थियो । नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कुनसाङ लामाले विद्यालयको उत्कृष्ट अभ्यासलाई अन्य विद्यालयमा समेत विस्तार गर्ने प्रतिबद्धता जनाउनुका साथै सो कोषमा रु. ५ लाख उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नुभयो।

उद्यमशीलता प्रवर्द्धन कोषमा नगरका उद्यमी व्यवसायी गोविन्द घिमिरेले रु. २ लाख ,युवा उद्यमी श्रीकृष्ण धितालले रु. ५० हजार, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष वासुदेव काफ्लेले रु. २५ हजार र समाजसेवी तथा विद्यालयका पूर्व शिक्षक कृष्णप्रसाद खनालले रु. १० हजार उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो। यसै गरी कार्यक्रम प्रवर्द्धनका लागि जनक माध्यमिक विद्यालयका पूर्व अध्यक्ष उद्धवप्रसाद काफ्ले तथा वडा नं ४ का वडाध्यक्ष अर्जुनबहादुर कार्कीले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

विद्यालयले सञ्चालन गरेको “पढ्दै कमाउँदै” कार्यक्रम मार्फत बाख्रा सापटी परियोजनाका सफलताका कथाका साथै नमोबुद्ध नगरपालिकाभित्रका युवा उद्यमी श्रीकृष्ण धिताल, प्रेमबहादुर लामा र भरतप्रसाद न्यौपानेका उद्यम सफलताका कथाहरू पनि सहभागीहरूलाई सुनाइएको थियो ।

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, जनक एलुम्नाइ एसोसिएसनका अध्यक्ष रामहरि खनाल, वडा नं ७ का वडाध्यक्ष धर्मसिं लामा, विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी, स्थानीय व्यवसायी तथा विज्ञहरूको सक्रिय सहभागिता रहेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस