
धुलिखेल÷ काठमाडौं विश्वविद्यालयले चालु शैक्षिक सत्र २०८२÷८३ का लागि विद्यार्थी भर्नामा २० प्रतिशतभन्दा माथि वृद्धिको प्रक्षेपण गरेको छ । गत वर्ष विश्वविद्यालयमा ५ हजार भन्दा वढी विद्यार्थी भर्ना भएका थिए । यस वर्ष यो सङ्ख्या ६ हजार नाघ्ने प्रक्षेपण गरिएको विश्वविद्यालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । विद्यार्थी वृद्धिले विश्वविद्यालयको शैक्षिक प्रतिष्ठा, कार्यक्रम विस्तार र देशभरको पहुँच विस्तारलाई प्रतिविम्बित गर्ने विश्वविद्यालयको दाबी छ । विश्वविद्यालयका अनुसार स्कुल अफ इन्जिनियरिङ र स्कुल अफ साइन्सको स्नातक तहको भर्ना प्रक्रिया अन्तिम चरणमा छ भने अन्य स्कुलहरूमा स्नातक तथा स्नातकोत्तर विद्यार्थी भर्ना हुने क्रम जारी छ ।
यस वर्ष इन्जिनियरिङमा गत वर्षको तुलनामा ३ सय भन्दा बढी नयाँ विद्यार्थी र विज्ञानमा ९० भन्दा बढी विद्यार्थीले भर्ना पाएका छन् । आट्र्स, म्यानेजमेन्ट र एजुकेसनमा करिव ३ सय विद्यार्थी थपिने अपेक्षा गरिएको छ । साथै, मेडिकल साइन्सेजमा राष्ट्रिय चिकित्सा परिषद्को स्वीकृतिका आधारमा ४ सय भन्दा बढी अतिरिक्त सिट थपिने विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयले आफ्ना शैक्षिक र अनुसन्धान गतिविधिहरूलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले विदेशी प्राध्यापक नियुक्तिमा ठोस कदम चालेको जानकारी दिएको छ । विश्वविद्यालयले २०२५ जुलाईमा कम्तीमा एक सत्रका लागि विश्वविद्यालयमै उपस्थित भई अध्यापन गर्न इच्छुक विदेशी प्राध्यापकवाट आवेदन माग गरेकोमा ४ सय ५० भन्दा बढी प्राध्यापकले रुचि देखाएको विश्वविद्यालयको भनाइ छ । यसरी रुचि राख्नेमध्ये शैक्षिक सत्र २०८२÷८३ का लागि १२ जना विदेशी प्राध्यापक नियुक्त भएका छन । स्कुल अफ आट्र्स, स्कुल अफ एजुकेसन, स्कुल अफ मेडिकल साइन्सेज र स्कुल अफ साइन्समा प्राध्यापकहरू नियुक्त भइसकेका छन् । ताइवान, भारत, अमेरिका, चीन, दक्षिण कोरिया लगायत देशका प्राध्यापकहरूले अध्यापन गर्ने भएका हुन् । विश्वविद्यालयले निकट भविष्यमा विदेशी प्राध्यापकको सङ्ख्या १० प्रतिशत बनाउने लक्ष्य राखेको छ ।
विश्वविद्यालयमा तीन दशकमा दीक्षित हुनेमध्ये १२ प्रतिशत विद्यार्थी विदेशी रहेका छन् । हालसम्म ५५ देशका करिव ५ हजार ६ सय ६० विद्यार्थी विश्वविद्यालयवाट दीक्षित भएका छन् । साथै ४१ देशका २९० भन्दा वढी अन्तर्राष्ट्रिय प्राज्ञिक तथा अनुसन्धानमा आधारित संस्थाहरूसँग विश्वविद्यालयको सहकार्य रहेको छ ।
यसैविच काठमाडौं विश्वविद्यालय सूचना प्रविधि केन्द्र स्थापना गरेको छ । केन्द्र नेपालको अनुसन्धान, नवप्रवर्तन र डिजिटल स्थायित्व प्रवद्र्धन गर्ने दीर्घकालीन दृष्टिकोणसहित स्थापना गरिएको विश्वविद्यालयले जनाएको छ । केन्द्रमा जटिल अनुसन्धानका लागि सुपरकम्प्युटिङ क्लस्टर सञ्चालन हुनेछन । त्यस्तै स्थानीय डेटा प्रयोग गरेर अनुसन्धान र नैतिक रूपरेखा विकास गर्ने र भूकम्प, महामारी, वाढीजस्ता आपतकालीन अवस्थाहरूमा निर्णय सहयोग प्रणाली विकास गर्ने विश्वविद्यालयको लक्ष्य छ ।
विश्वविद्यालयले केयु कनेक्ट नामक मोबाइल एपको सफ्ट लञ्च गरेको छ । यसले विद्यार्थीहरूलाई शैक्षिक, प्रशासनिक र क्याम्पससम्बन्धी जानकारीमा सहज पहुँच प्रदान गर्ने अपेक्षा छ । एप्समा विद्यार्थी प्रोफाइल व्यवस्थापन, सूचना र सूचनापत्रहरूमा तुरुन्त पहुंच, विश्वविद्यालयका समाचार, परीक्षा परिणाम र कार्यक्रमहरू, पठनपाठन सम्वन्धी विवरण र कोर्स सूची, शुल्क विवरण र भुक्तानी रेकर्ड र प्रमाणपत्र तथा प्रतिलिपि अनुरोध सेवा समेत समेटिएको छ । यस एपले विश्वविद्यालयको रिर्सोस मेनेजमेन्ट सिस्टमसँग प्रत्यक्ष एकीकृत भएर कोठा आरक्षण, स्रोत व्यवस्थापन र कक्षा तालिका जस्ता सेवामा सहजता ल्याउने बताइएको छ ।
देशभर गुणस्तरीय उच्च शिक्षाको पहुँच विस्तार र सहकार्यद्वारा शैक्षिक उत्कृष्टता प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौं विश्वविद्यालयले केही स्नातक कार्यक्रमहरूमा सम्वन्धन प्रक्रिया सुरु गरेको छ । देशभरका विभिन्न शिक्षण संस्थावाट ८८ वटा आशयपत्र प्राप्त भएकोमा हालसम्म स्कुल अफ आट्र्स र स्कुल अफ एजुकेशन अन्तर्गत जम्मा १० वटा शिक्षण संस्थालाई सम्वन्धन दिइसकिएको विश्वविद्यालयले जनाएको छ । स्कुल अफ इन्जिनियरिङ र स्कुल अफ म्यानेजमेन्ट अन्तर्गतका सम्वन्धनका कार्यक्रमहरूको मूल्याङ्कन प्रक्रिया जारी रहेको बताइएको छ ।
यसैगरी, विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि सातै प्रदेशमा छात्रवृत्ति कार्यक्रम विस्तार गरेको छ । यो कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेशका ६ जना उत्कृष्ट कक्षा १२ का विद्यार्थीहरूले १०० प्रतिशत शुल्क छुट पाउने विश्वविद्यालयको भनाइ छ । कोशी, वागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालय; मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालय र गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले यसमा सहयोग गरेका छन ।