केयूको ३१ औं दीक्षान्त पहिलो चरण मंसिर २४ गते हुने

  • काभ्रे खबर
  • / शिक्षा /
  • २०८२ मंसिर २२, सोमबार (१ महिना अघि)
  • ४५८ पटक पढिएको

केयूको ३१ औं दीक्षान्त पहिलो चरण मंसिर २४ गते हुने

धुलिखेल- काठमाडौं विश्वविद्यालयको  ३१औं दीक्षान्त (पहिलो चरण) २०८२ मंसिर २४ गते बुधबार आयोजना हुने भएको छ । दीक्षान्त समारोह विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा विहान ११ बजे सुरु हुनेछ
। प्रधानमन्त्री तथा कुलपति सुशीला कार्किको अध्यक्षतामा आयोजना हुने समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुनसमेत सहभागी हुने कार्यक्रम छ।

समारोहमा नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्रा सान्तीश्री धुलिपुडी पण्डितले प्रमुख आतिथ्यता ग्रहण र दीक्षान्त सम्भाषण गर्नुहुनेछ। रजिष्ट्रार प्रा. डा. राजीव श्रेष्ठले सञ्चालन गर्ने समारोहमा उपकुलपति प्रा. डा अच्युत वाग्लेले विश्वविद्यालयका तर्फबाट स्वागत मन्तव्य दिनुहुने कार्यक्रम छ ।

समारोहमा विश्वविद्यालयको स्कुल अफ आर्टसका ८३. स्कुल अफ एजुकेसनका २९४, स्कुल अफ इन्जिनियरिङका ३४०, स्कुल अफ लका ३६, स्कुल अफ मेनेजमेन्टका ३७८, स्कुल अफ मेडिकल साइन्सेजका ८८१ र स्कुल अफ साइन्सका १९७ गरी जम्मा २ हजार २ सय ९ जना विद्यार्थी यस पटक दीक्षित हुनेछन् ।

दीक्षितमध्ये पीएचडी, डीएम र एमसीएच तहका ७ जना, स्नातकोत्तर तहका ३९७ जना, पीजीडी तहका ५० जना र स्नातक तहका १ हजार सात सय २८ जना रहनेछन् । दीक्षितमध्ये पुरुष ५२.२४ प्रतिशत ( १ हजार १ सय ५४ जना र महिला ४७.७६ प्रतिशत (एक हजार ५५ जना) रहनेछन् । दीक्षितमध्ये अष्ट्रेलिया, अस्ट्रिया, बंगलादेश, भुटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलङ्का, स्विडेन, संयुक्त राज्य अमेरिका, र भियतनाम गरी १७ देशका १९६ जना अर्थात् विदेशी रहनेछन् ।

काठमाडौं विश्वविद्यालयबाट पहिलोपटक स्कुल अफ साइन्सेज अन्तर्गत Master of Philosophy by Research in Mathematics मा १ जना र Bachelor of Science in Agriculture मा २९ जना दीक्षित हुनेछन । त्यसैगरी, स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत पहिलोपटक Master of Medical Research मा २० जना दीक्षित हुनेछन् ।

३१औं दीक्षान्त (पहिलो चरण) सहित गरी हालसम्म काठमाडौं विश्वविद्यालयबाट दीक्षितको सङ्ख्या ५० हजार ४० जना पुगेको छ। तीमध्ये विदेशीको सङ्ख्या ५ हजार ८६० अर्थात करीब १२ प्रतिशत रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस