
धुलिखेल/ काठमाडौं विश्वविद्यालयले ३४ औं बार्षिकोत्सवको अवसरमा शिक्षक र कर्मचारीलाई सम्मान गरेको छ ।
काठमाडौं विश्वविद्यालयको केन्द्रीय परिसरमा आयोजित समारोहमा २०७६ मंसिरदेखी सेवानिवृत्त २२ जना र २५ बर्षभन्दा बढी निरन्तर सेवा गर्ने ६० जना कर्मचारी, शिक्षकलाई सम्मान गरिएको हो ।
बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति डा. वाग्लेले आफू कुलपति भएदेखि प्राध्यापक, कर्मचारीबाट अतुलनीय सहयोग पाएको बताए । उनले सबैको साथले विश्वविद्यालयको साखलाई नयाँ उचाई दिन लागेको बताउनुभयो ।
संस्थापक उपकुलपति प्राध्यापक डा. सुरेशराज शर्माले विगतको स्मरण गर्दै कठिन अवस्था पार गर्दै आजको अवस्थामा विश्वविद्यालय आइपुग्दा ५० हजार विद्यार्थी दीक्षित गरिसकेको विश्वविद्यालयले देशको कुल चिकित्स मध्ये आधा हिस्सा आगेटेकोमा खुशी लागेको बताउनुभयो ।
विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डा. राजीव श्रेष्ठले हालै सम्पन्न विश्वविद्यालयको दीक्षान्त समारोहमा भएको उपस्थितीले संस्थाप्रतिको विश्वास र माया दर्शिएको स्मरण गर्नु भयो ।
इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) का महानिर्देशक पेमा ग्याम्सोले केयूमा हिमालयन युनिभर्सिटी कन्सोर्टियम (हिमाली विश्वविद्यालय सञ्जाल)को सचिवालय काठमाडौं विश्वविद्यालयलाई हस्तान्तरण गरेर इसिमोड जिम्मेवारीबाट नभागेको भन्दै निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालयको योजना तथा विकास महाशाखाका निर्देशक हरि न्यौपाने, काठमाडौं विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष डा. विकास अधिकारी, काठमाडौं विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष सुरेन्द्र के.सी. लगायतले कर्मचारी, प्राध्यापकको वृतिविकास लगायतका बिषयमा चर्चा गर्नु भएको थियो ।