
काठमाडौँ, /रोटरी क्लब अफ काठमाडौँ हाइटले युवा तथा विद्यार्थीहरूलाई परम्परागत पेशागत सोचभन्दा बाहिरका उदीयमान करियर विकल्पबारे जानकारी गराउने उद्देश्यका साथ एक बृहत् करियर अभिमुखीकरण तथा प्यानल छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। ‘हामीलाई पनि पढ्नु छ: अपरिचित पेशा, उज्ज्वल भविष्य’ नाराका साथ आयोजित उक्त कार्यक्रम कीर्तिपुरस्थित क्रिएटिभ एकेडेमीमा बिसञ्चालन गरिएको थियो।
कार्यक्रममा कृषि, अनुसन्धान, वित्त तथा सामाजिक उद्यमशीलता क्षेत्रका विज्ञ वक्ताहरूले आफ्ना व्यक्तिगत अनुभव, करियर यात्राका उतार–चढाव, चुनौती र अवसरहरूबारे विद्यार्थी तथा युवाहरूसँग अन्तरक्रियात्मक रूपमा अनुभव साटासाट गरेका थिए।
कार्यक्रमका प्रमुख वक्ताहरूमा ज्ञानबोध रिसर्च एण्ड डेभलपमेन्ट सर्भिस का संस्थापक सुमीरा श्रेष्ठ, संस्कृति फार्म्स एण्ड रिसर्च सेन्टर का निर्देशक श्री कृष्ण धिताल, प्रभु क्यापिटल लिमिटेड की अपरेसन इन्चार्ज मन्जुशा श्रेष्ठ, तथा कार्यक्रमका मध्यस्थकर्ता क्यानोपी नेपाल का कार्यकारी निर्देशक अंगिराश कार्की रहनुभएको थियो।
प्यानल छलफलको सुरुवातमा मध्यस्थकर्ता अंगिराश कार्कीले सबै वक्ताहरूसँग उनीहरू विद्यालय तह (कक्षा ६ देखि ९) मा हुँदा के बन्न चाहन्थे, समयसँगै करियर योजना कसरी परिवर्तन भयो र ती अनुभवहरूले वर्तमान पेशागत यात्रालाई कसरी प्रभाव पारे भन्ने प्रश्न गर्नुभएको थियो। यस क्रममा श्री कृष्ण धितालले इन्जिनियरिङ अध्ययन गरेपछि कृषितर्फ मोडिनुको कारण र त्यसले समाजमा सिर्जना गरेको प्रभावबारे आफ्नो अनुभव साझा गर्नुभयो। त्यस्तै, सुमीरा श्रेष्ठ र मन्जुशा श्रेष्ठले सामाजिक क्षेत्र र वित्त क्षेत्रमा प्रवेश गर्ने निर्णायक क्षण र प्रेरणाबारे चर्चा गर्नुभयो।
छलफलको अर्को चरणमा शैक्षिक मार्गदर्शन र आवश्यक सीपहरूमा केन्द्रित प्रश्नहरू उठाइएका थिए। सुमीरा श्रेष्ठले कक्षा १२ र स्नातक तहपछि विभिन्न अन्तर्राष्ट्रिय छात्रवृत्तिका अवसर खुल्ने उल्लेख गर्दै, त्यस्ता अवसरका लागि विद्यालय तहदेखि नै व्यावहारिक सिकाइ (practical learning) र सीप विकास अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो। उहाँले ‘डेभलपमेन्ट इकोनोमिक्स’ को अवधारणालाई सरल भाषामा व्याख्या गर्दै, सामाजिक परिवर्तनमा अनुसन्धानको भूमिकाबारे प्रकाश पार्नुभयो।
त्यसैगरी, मन्जुशा श्रेष्ठले क्यापिटल तथा बैंकिङ क्षेत्रमा जान गणित मात्र पर्याप्त नभई सञ्चार क्षमता, विश्लेषणात्मक सोच, निर्णय क्षमता र नैतिकता जस्ता सीपहरू अझ महत्वपूर्ण हुने स्पष्ट पार्नुभयो। श्री कृष्ण धितालले कृषि र नवप्रवर्तन क्षेत्रमा सफल हुन विज्ञान, रचनात्मकता, नेतृत्व र सञ्चार सीप सबैको सन्तुलित प्रयोग आवश्यक हुने बताउँदै युवाहरूलाई कृषि क्षेत्रलाई केवल परम्परागत पेशा नभई सम्भावनायुक्त उद्यमका रूपमा हेर्न आग्रह गर्नुभयो।
कार्यक्रमको अर्को खण्डमा वक्ताहरूले आफ्नो दैनिक कार्यजीवन, सामान्य कार्यतालिका र कामसँग जोडिएका अनौठा तथा रोचक अनुभवहरू साझा गरेका थिए, जसले विद्यार्थीहरूलाई विभिन्न पेशागत जीवनको यथार्थ बुझ्न मद्दत गरेको सहभागीहरूले बताएका छन्।
अन्तिम चरणमा हरेक वक्ताले आफ्नो क्षेत्रमा रहेको एक प्रमुख गलत धारणा (misconception) तोड्दै युवाहरूलाई तत्कालै सुरु गर्न सकिने साना तर महत्वपूर्ण कदम (action) हरू सुझाएका थिए। वक्ताहरूले विद्यार्थीहरूलाई रुचि पहिचान, स्वयंसेवा, इन्टर्नसिप, परियोजना कार्य र निरन्तर सिकाइमा जोड दिन आग्रह गरे।
कार्यक्रमले युवाहरूलाई स्थापित र परम्परागत करियर मार्गभन्दा बाहिरका नयाँ सम्भावनाबारे सोच्न प्रेरित गरेको र भविष्य निर्माणका लागि आत्मविश्वास र दिशानिर्देशन प्रदान गरेको आयोजक र सहभागी दुवैले प्रतिक्रिया दिएका छन्। रोटरी क्लब अफ काठमाडौँ हाइटले आगामी दिनमा पनि यस्ता ज्ञानमूलक तथा प्रेरणादायी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।