नाइटिङ्गेल एकेडेमीमा एसईई उत्तीर्ण विद्यार्थीलाई बिदाइ तथा एसकेजी दीक्षान्त सम्पन्न

  • काभ्रे खबर
  • / शिक्षा /
  • २०८२ चैत्र २२, आईतबार (१ हप्ता अघि)
  • १११ पटक पढिएको

नाइटिङ्गेल एकेडेमीमा एसईई उत्तीर्ण विद्यार्थीलाई बिदाइ तथा एसकेजी दीक्षान्त सम्पन्न

बनेपा/काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० स्थित नाइटिङ्गेल एकेडेमीले शैक्षिक सत्र २०८१ का एसईई उत्तीर्ण विद्यार्थीहरूको बिदाइ तथा कक्षा एसकेजी उत्तीर्ण बालबालिकाको ११औँ दीक्षान्त समारोह सम्पन्न गरेको छ।
शनिबार आयोजित कार्यक्रममा एसईई उत्तीर्ण ४३ जना विद्यार्थीलाई सम्मानसहित बिदाइ गरिएको थियो भने एसकेजी उत्तीर्ण ६४ जना बालबालिकालाई दीक्षित गरिएको विद्यालयले जनाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नकुश रंजितकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली सेनाका प्रमुख झलक सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा विद्यालयकी प्रिन्सिपल उमा बस्नेत, को–अर्डिनेटर विक्रम प्रजापति तथा प्रि–प्राइमरी को–अर्डिनेटर पुण्यश्वरी मानन्धरले विद्यालयले प्रदान गरिरहेको गुणस्तरीय शिक्षा, आधुनिक भौतिक पूर्वाधार, प्रविधिमैत्री शिक्षण प्रणाली, बालबालिकाको सिकाइ उपलब्धि तथा व्यवहारिक, नैतिक र सामाजिक शिक्षाबारे जानकारी गराउनुभएको थियो।
अध्यक्ष रंजितकारले समुदाय, अभिभावक र विद्यालय परिवारको सहकार्यबाट मात्र विद्यार्थीहरूले आवश्यक सीप, ज्ञान र संस्कार हासिल गर्न सक्ने बताउँदै नाइटिङ्गेल एकेडेमीलाई जिल्लाकै उत्कृष्ट शैक्षिक संस्था बनाउने लक्ष्यसहित अघि बढिरहेको उल्लेख गर्नुभयो।
विद्यालयका अनुसार यहाँ छुट्टाछुट्टै खेल मैदान, अतिरिक्त क्रियाकलापका लागि आवश्यक सामग्री तथा उत्कृष्ट शैक्षिक वातावरण उपलब्ध रहेको छ। खेलकुद, कला, अनुशासन र नेतृत्व विकासलाई विद्यालयले निरन्तर प्राथमिकतामा राख्दै आएको छ।
कार्यक्रममा विद्यालयकी प्रथम महिला सिन्जा रञ्जित, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक तथा शिक्षकहरूको सहभागिता रहेको थियो।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस