
बनेपा/रिच इट कन्सल्टेन्सीले काभ्रेको बनेपास्थित चारदोबाटोबाट आफ्नो सेवा विस्तार गर्दै नयाँ कार्यालय सञ्चालनमा ल्याएको छ । बिहीबार एक कार्यक्रमका बीच काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्य ले कार्यालयको औपचारिक उद्घाटन गर्नुभएको हो ।
यसअघि बनेपाको तीनदोबाटोबाट सेवा प्रदान गर्दै आएको कन्सल्टेन्सीले विद्यार्थी तथा वैदेशिक अध्ययनमा रुचि राख्ने युवालाई लक्षित गर्दै नयाँ स्थानबाट सेवा सुरू गरेको जनाएको छ ।
कन्सल्टेन्सीका सञ्चालक राम थापा का अनुसार कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूले यहाँबाट अध्ययन, भाषा तथा वैदेशिक शिक्षासम्बन्धी आवश्यक जानकारी लिन सक्नेछन् । उहाँले कन्सल्टेन्सीले गुणस्तरीय सेवा दिन सधैं प्रतिबद्ध रहेको बताउँदै जापानी भाषा निःशुल्क रूपमा सिकाइने जानकारी दिनुभयो ।
त्यस्तै, यहाँबाट आईएलटिएस, पीटीई तथा जापानी भाषा तयारी कक्षा सञ्चालन गरिनुका साथै जापान, अष्ट्रेलिया, अमेरिका, बेलायत र न्युजिल्याण्डलगायतका देशमा अध्ययनका लागि आवेदन प्रक्रिया समेत अघि बढाइने जनाइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष वैद्यले आफू पनि कुनै समय वैदेशिक रोजगारीमा रहेको अनुभव सुनाउँदै पछिल्ला दिनहरूमा यस्ता कन्सल्टेन्सीहरूले वैदेशिक अध्ययन तथा रोजगारीमा जाने युवाहरूलाई सहजीकरण गरिरहेको बताउनुभयो ।
उहाँले विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजी स्वदेशमै लगानी गरी देशको अर्थतन्त्र सुदृढ बनाउन युवाहरूलाई आग्रह गर्नुभयो । साथै, बढ्दो वैदेशिक पलायन रोक्नका लागि कन्सल्टेन्सीहरूले समेत सचेत भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।