संकल्प–२६’ अन्तर्गत सम्पन्न विज्ञान प्रदर्शनी प्रतियोगितामा ज्ञानज्योति इङ्ग्लिस सेकेन्डरी स्कुल प्रथम

  • काभ्रे खबर
  • / शिक्षा /
  • २०८३ अषाढ ११, बिहिबार (२ हप्ता अघि)
  • २७३ पटक पढिएको

संकल्प–२६’ अन्तर्गत सम्पन्न विज्ञान प्रदर्शनी प्रतियोगितामा ज्ञानज्योति इङ्ग्लिस सेकेन्डरी स्कुल प्रथम

धुलिखेल/काठमाडौं विश्वविद्यालय सिभिल इन्जिनियरिङ क्लबद्वारा काठमाडौं विश्वविद्यालय, धुलिखेलमा आयोजित वार्षिक कार्यक्रम ‘संकल्प–२६’ अन्तर्गत सम्पन्न विज्ञान प्रदर्शनी प्रतियोगितामा ज्ञानज्योति इङ्ग्लिस सेकेन्डरी स्कुलले प्रथम स्थान हासिल गर्न सफल भएको छ।
विद्यालयका विद्यार्थीहरू सजना श्रेष्ठ, ऋषिका श्रेष्ठ, रिजन भुजेल, सबन तोलाङ्गे, अनिता तामाङ र एन्नी मानन्धरले ‘एकीकृत जल व्यवस्थापन प्रणाली : वर्षाको पानी सङ्कलन तथा पुनःप्रयोग’ शीर्षकको परियोजना प्रस्तुत गर्दै उक्त सफलता हासिल गर्नुभएको हो। परियोजनाले वर्षाको पानी सङ्कलन, भण्डारण तथा पुनःप्रयोगमार्फत जलस्रोतको दिगो व्यवस्थापन र पानी संरक्षणका व्यावहारिक उपायहरू प्रस्तुत गरेको थियो।
प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित परियोजनाहरू प्रदर्शन गर्नुभएको थियो। सहभागी परियोजनाहरूको मूल्याङ्कन वैज्ञानिक अवधारणा, नवीनता, व्यावहारिक उपयोगिता, वातावरणीय प्रभाव तथा प्रस्तुतीकरणका आधारमा गरिएको आयोजकले जनाएको छ।
ज्ञानज्योति इङ्ग्लिस सेकेन्डरीका विद्यार्थीहरूको अनुसन्धानमूलक सोच, सिर्जनशीलता तथा दिगो विकासप्रतिको प्रतिबद्धता झल्काउने उक्त परियोजनाले निर्णायकहरूको उच्च प्रशंसा प्राप्त गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो।
परियोजनाका टोली सदस्यहरूलाई विद्यालयकी मार्गदर्शक शिक्षिका श्रीमती बबिता बुद्धाचार्यले आवश्यक निर्देशन तथा सहजीकरण गर्नुभएको थियो। उहाँको मार्गदर्शनमा तयार गरिएको परियोजनाले पानी व्यवस्थापनसम्बन्धी वर्तमान चुनौतीहरूको व्यवहारिक र प्रभावकारी समाधान प्रस्तुत गरेको बताइएको छ।
यस उपलब्धिप्रति विद्यालय व्यवस्थापन, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूले खुसी व्यक्त गर्नुभएको छ। विद्यालयले यस सफलताले विद्यार्थीहरूमा वैज्ञानिक सोच, अनुसन्धान तथा नवप्रवर्तनप्रतिको रुचि अझ वृद्धि गर्ने विश्वास व्यक्त गरेको छ।
काठमाडौं विश्वविद्यालय सिभिल इन्जिनियरिङ क्लबद्वारा आयोजित ‘संकल्प–२६’ कार्यक्रमले विद्यार्थीहरूमा विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनको संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस