
धुलिखेल/सरकारले काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रार पदमा विराज सिंह थापालाई नियुक्त गरेको छ।
विश्वविद्यालयका उपकुलपतिको सिफारिसका आधारमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई रजिस्ट्रार नियुक्त गर्नुभएको हो।
नवनियुक्त रजिस्ट्रार थापाले बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
थापा विगत २२ वर्षदेखि काठमाडौँ विश्वविद्यालयमा सहप्राध्यापकका रूपमा कार्यरत हुनुहुन्थ्यो। उहाँले नर्वेबाट हाइड्रोपावर विषयमा विद्यावारिधि (पीएचडी) गर्नुभएको छ।
शपथ ग्रहण कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधारका लागि टिमवर्क र सक्रियताका साथ काम गर्न नवनियुक्त पदाधिकारीलाई निर्देशन दिनुभयो।
उहाँले काठमाडौँ विश्वविद्यालयलाई विशिष्टीकृत ढङ्गको ट्रस्टी मोडलमा स्थापित गर्ने प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
नेपालको उच्च शिक्षा सुधारका लागि सबै विश्वविद्यालयबीच बलियो समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले काठमाडौँ विश्वविद्यालयलाई अन्य विश्वविद्यालयभन्दा फरक पहिचानसहित अघि बढाउनुपर्ने बताउनुभयो।
कक्षा १२ पछि विदेश जाने तयारीमा रहेका विद्यार्थीलाई नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन काठमाडौँ विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो।
शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले विश्वविद्यालयको रूपान्तरणसँगै कामलाई परिणाममुखी बनाउन नवनियुक्त पदाधिकारीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा विवेक बराललगायत मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।