तीज जोडी फोटो प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण


तीज जोडी फोटो प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण

धुलिखेल/तीज जोडी फोटो प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ ।
नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाको आयोजनामा हिमालय दृश्य रिसोर्ट धुलिखेलमा एक कार्यक्रम बिचतिज जोडी फोटो प्रतियोगिता–२०८२ को पुरस्कार वितरण गरिएको हो ।

प्रतियोगितामा शम्भु घिमिरे र कोपिला घिमिरे प्रथम, दिनेश ठकुरी र सुबिना ठकुरी दोस्रो तथा रुपेश ठकुरी र सरिता ठकुरी तेस्रो भएका थिए । प्रथम हुने जोडीलाई १५ हजार नगद, सम्मानपत्र, मह, घ्यू र दोसल्ला प्रदान गरिएको थियो । दोस्रो हुने जोडीलाई १० हजार नगद सहित सम्मानपत्र, मह, घ्यू र दोसल्ला तथा तेस्रो हुने जोडीलाई ५ हजार नगद सहित सम्मानपत्र, मह, घ्यू र दोसल्ला प्रदान गरिएको थियो ।

प्रतियोगिता साउन १२ गते सोमबार दिउँसो १२ बजेबाट सुरु भई एक महिनासम्म नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाको आधिकारिक फेसबुक पेजमा सञ्चालन भएको थियो।

कार्यक्रम संयोजकका अनुसार, आधुनिकता र फेसनको भीडमा हराउँदै गएको मौलिक नेपाली पहिचानलाई पुनर्जीवित गर्दै तीज पर्वको सामाजिक पक्षलाई उजागर गर्न यो प्रतियोगिता सशक्त माध्यम बनेको छ। नेपाली कला, संस्कृति र मौलिक चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित संस्कृति संरक्षणसँगै सामाजिक एकता र सौहार्दता अभिवृद्धिमा टेवा पुर्‍याउने उद्देश्यसहित यो कार्यक्रम गरिएकोआयोजकले जनाएको छ।

नेपाली कांग्रेस सांस्कृतिक शाखा प्रमुख रामकृष्ण पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव प्रसाद हुमागाईं तथा विशेष आतिथ्यता नेपाली कांग्रेस काभ्रेका उप–सभापति रमेश प्रसाद हुमागाईं, सह–सचिवद्धय रबिन्द्रनाथ सिग्देल र समीर ब्यान्जु श्रेष्ठ, धुलिखेल सभापति विदुर बहादुर बस्नेत, धुलिखेल–९, का वडा अध्यक्ष बद्री प्रसाद हुमागाई लगायतको उपस्थिती रहेको थियो।

प्रमुख अतिथि हुमागाईले तिज चाड केवल मनोरञ्जन मात्र नभई समानता र सामाजिक सन्देश दिने चाड भएको उल्लेख गर्दै सांस्कृतिक मूल्य–मान्यता जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनु भयो । कार्यक्रमका सभापति पोखरेलले तिज पर्वले नेपाली समाजमा आपसी सद्भाव, प्रेम र संस्कृतिको संरक्षण गर्ने कार्यलाई प्रवद्र्धन गरेको बताउँदै यस्ता कार्यक्रमले संस्कृतिको जगेर्नामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो।
कार्यक्रममा धुलिखेल नगरपालिका  वडा नं. ४ का अध्यक्ष उत्तम प्रसाद तिमल्सिना, वडा नं. ६ का अध्यक्ष संजय कोजु,  महिला नेतृ मञ्जु आचार्य घिमिरे,  लगायतको उपस्थिति थियो । लोकप्रिय गायक दिनेश श्रेष्ठ र गायिका साबित्री राना मगरले विशेष सांगीतिक प्रस्तुति दिएको कार्यक्रमको सञ्चालन सांस्कृतिक शाखाका सचिव धनपति दाहालले गर्नुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस