
धुलिखेल÷ काभ्रेमा हालसम्म ३० जना डेंगु सङ्क्रमित देखा परेका छन् । गत आर्थिक वर्षमा यहाँ करिब ७०० जनामा सङ्क्रमण पुष्टि भएको थियो ।यो वर्ष साउन १ देखि असोज २२ गतेसम्म ३० जनामा सङ्क्रमण पुष्टि भएको हो । जसमा धुलिखेलमा एक जना, बनेपामा ६ जना, पनौतीमा एक, पाँचखालमा ६, मण्डन देउपुरमा १४ जनामा सङ्क्रमण देखिएको छ ।
गत वर्ष बनेपामा धेरै सङ्क्रमित देखिएकोमा यस वर्ष मण्डनदेउपुरमा सबैभन्दा बढी सङ्क्रमण देखिएको छ । यस्तै भुम्लुमा २ जना सङ्क्रमित भएका जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । जसमा पुरुषको संख्या १० र महिलाको संख्या २० जना रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिन, पानी जम्ने ठाउँहरू सफा राख्न र लामखुट्टेको लार्भा नष्ट गर्न आवश्यक रहेको जनाएको छ । ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने जस्ता डेंगुका लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाह लिन मन्त्रालयले अनुरोध गरेको छ । केही दिनअघिको बर्षाले लामखुट्टेका लार्भा बगाएकाले केही दिन भने संक्रमण काम हुने अनुमान गरिएको छ ।