
बनेपा ÷ संघीय सरकारले अनुदान रोकेपछि शीर मेमोरियल अस्पताल बनेपामा रहेको ‘आमा सुरक्षा’ कार्यक्रम बन्द हुने अवस्थामा पुगेको छ । सुरक्षित सुत्केरी गराउन सरकारले सहयोग स्वरुप दिँदै आएको कार्यक्रम रोकिन लागेको हो । संघीय सरकारले पर्याप्त बजेट नपठाएकाले कार्यक्रमलाई निरन्तरता दिन नसक्ने भन्दै बनेपा नगरपालिकाले पत्र पठाएपछि कार्तिक १ गतेदेखि कार्यक्रम स्थगित गर्न लागिएको हो । २०६८ सालमा नगरपालिका र शीर मेमोरियल अस्पतालबीच द्वीपक्षिय सम्झौता भई संघीय सरकारको बजेटमा आमा सुरक्षा कार्यक्रम संचालन हुँदै आएको थियो । सुत्केरी गराउने महिलाको लागि अस्पतालको तर्फबाट ४८ प्रतिशत, विरामीको तर्फबाट २० प्रतिशत र संघीय सरकारको तर्फबाट ३२ प्रतिशत खर्च ब्यहोर्ने सहमति थियो । संघीय सरकारले शल्यक्रिया गर्दा १० हजार र सामान्य अवस्थामा सुत्केरी भए २ हजार ५ सय रुपैया उपलब्ध गराउँदै आएको थियो । १४ बर्षको अवधिमा अस्पतालमा २८ हजार जना अस्पतालमा सुत्केरी भएका छन् । अस्पतालमा रामेछाप, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र भक्तपुरका स्थानीय समेतले सेवा लिँदै आएका छन् । यसैविच अस्पतालले ‘शीर मदर केयर’ सेवा घोषणा गरेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.हेक्टर गायरसका अनुसार, सुत्केरीका लागि जनरल वार्डमा ५० प्रतिशत, औषधिको खरिदमा पाँच प्रतिशत छुट दिने उल्लेख छ ।