
महाभारत÷महाभारत गाउपालिकाको घर्तिछापमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ६ सय ७६ जना नागरिक लाभान्वित भएका छन । महाभारत गाउँपालिकाको आयोजनामा तथा जिल्ला जनस्वास्थ्य कार्यालय धुलिखेलको समन्वयमा सञ्चालन गरिएको शिविरमार्फत स्थानीय नागरिकले गाउँमै विभिन्न विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गरेका हुन ।
शिविरमा १ सय ६८ जनाले दाँत परीक्षण र ३ सय जनाले आँखा परीक्षण गराएका छन । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत २३३ जनाको नसर्ने रोग स्क्रिनिङ गरिएको छ भने १८६ जनाको रक्त समूह परीक्षण गरिएको छ । बालबालिकाको नाक, कान, घाँटी तथा मुटु परीक्षण २३२ जनाले गराएका छन् । त्यस्तै २७१ जनाले छाती परीक्षण गराएकामध्ये १५९ जनाले एक्स–रे सेवा लिएका छन । सामान्य स्वास्थ्य परीक्षण ३८१ जनाले र प्रसूति तथा स्त्री रोग तथा प्रजनन स्वास्थ्यतर्फ ११० जनाले सेवा लिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
शिविरमा जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपतिका अनुसार शिविरमा धुलिखेल, मेथिनकोट, सिन्धुली, शिरमेमोरियल, ख्वप, तिलगंगा आँखा अस्पताल लगायतका विशेषज्ञ चिकित्सकहरुले सेवा दिएका थिए । शिविरको शुभारम्भ काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले गर्नुभएको थियो । उहाँले संघीयताको मर्म अनुसार गाउँ गाउँमा सेवा उपलब्ध गराउने दायित्व भएको उल्लेख गर्नुभयो ।पालिका अध्यक्ष कान्छालाल जिम्बाले जनतालाई विशेषज्ञा चिकित्सक सेवा दिन बर्षैपिच्छे निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताउनुभयो । उपाध्यक्ष सागर मोक्तान, वडा अध्यक्ष टंक बहादुर आले लगायतले आगामी दिनमा शिविरलाई निरन्तरता दिने बताउनुभयो ।

