
धुलिखेल / धुलिखेल अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउन बहिरंग सेवा (ओपीडी) को सञ्चालन समय विस्तार गरेको छ ।बिहानी एवं दिउँसाेकाे समयमा कामकाजमा व्यस्त रहने सेवाग्राही (विशेषगरी कार्यालयमा सेवारत समूह) एवं उक्त समयमा कार्य-व्यस्तताका कारण अस्पतालसम्म आइ स्वास्थ्य सेवा लिन नसकेका सेवाग्राहीहरूलाई लक्षित गरी अस्पतालले आफ्नो नियमित ओपीडी सेवाहरू दुई घण्टाले बढाएको हाे।
नयाँ ओपीडी सञ्चालन तालिका अनुसार बिहान ८:०० बजेदेखि साँझ ६:०० बजेसम्म हुने अस्पतालले जानकारी दिएको छ । यसअघि ओपीडी सेवा बिहान ९:०० बजेदेखि साँझ ४:०० बजेसम्म सञ्चालन हुँदै आएको थियो।
यसबाहेक अस्पतालले केही सातादेखि शनिबार पनि ओपीडी सेवा सञ्चालन गर्दै आएको छ। अन्य दिन कार्यालय वा दैनिक व्यस्तताका कारण ओपीडी सेवा लिन नपाएका सेवाग्रहीलाई दृष्टिगत गरी अस्पतालले शनिबार समेत बिहान ९:०० बजे देखि अपराह्न १:०० बजेसम्म बहिरंग सेवा थालनी गरिएको अस्पतालका निर्देशक मल्लले बताए ।
विस्तारित सेवा अर्थात् अपरान्ह सत्रकाे ओपीडी र शनिबारीय ओपीडीमा स्वास्थ्य बिमा सेवा लागु नहुने अस्पतालका प्रवक्ता प्रा.डा.सुमनराज ताम्राकारले बताए । यो समयमा हुने स्वास्थ्य सेवाको बिमा दाबी गर्न समस्या हुने भएकाले सेवा दिन नसकिएको उनको भनाई छ । अस्पतालले सरकारले स्वास्थ्य बिमाअन्तर्गतको रकम भुक्तानीमा ढिलाइ गरे पनि बिमा सेवा निरन्तर दिने जनाएको छ।