चौरीदेउरालीमा वृहत जनस्वास्थ्य शिविर सम्पन्न

  • काभ्रे खबर
  • / स्वास्थ्य /
  • २०८२ चैत्र २९, आईतबार (१ महिना अघि)
  • १४३ पटक पढिएको

चौरीदेउरालीमा वृहत जनस्वास्थ्य शिविर सम्पन्न

चौरीदेउराली । जनस्वास्थ्य कार्यालय काभ्रेको आयोजना तथा चौरी देउराली गाउँपालिकाको समन्वयमा यहि चैत २६ र २७ गते चौरी देउराली गाउँपालिका–५ स्थित प्राथमिक अस्पतालमा विशेषज्ञ सेवा सहितको वृहत जनस्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।
शिविरको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष श्री रेणुका चौलागाईंले हरेक वर्ष विविध विषयका विशेषज्ञ चिकित्सकसहित शिविर सञ्चालन गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख श्री रागीश्री कक्षपति श्रेष्ठले जनस्वास्थ्य अभियानअन्तर्गत दुर्गम तथा विकट क्षेत्रमा शिविर सञ्चालन गरी सेवा पुर्‍याउनु कार्यालयको पहिलो प्राथमिकता रहेको उल्लेख गर्नुभयो ।
शिविर सञ्चालनमा मेथिनकोट अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रे, नेपाल युथ फाउण्डेशन (पुनर्स्थापन केन्द्र, सुनाकोठी–ललितपुर), नेपाल परिवार नियोजन संघ काभ्रे तथा शिर मेमोरियल अस्पताल बनेपाको प्राविधिक सहयोग रहेको थियो ।
शिविरमार्फत विभिन्न विशेषज्ञ सेवाहरू प्रदान गरिएको थियो । जसअन्तर्गत हाडजोर्नी सेवा ११० जना, नाक–कान–घाँटी सेवा ९१ जना, दन्त सेवा ७३ जना, स्त्री तथा प्रजनन स्वास्थ्य सेवा ११३ जना, बालरोग तथा पोषण सेवा ३३ जना, आयुर्वेद सेवा ११७ जना, ल्याब सेवा ३७ जना, सामान्य जाँच (जनरल चेकअप) १८० जना तथा नसर्ने रोगको स्क्रिनिङ २६६ जनाले सेवा लिएका छन् ।
यसैगरी, प्रोस्टेट सम्बन्धी जाँचका लागि २६ जनाको रगत नमुना संकलन गरिएको जनाइएको छ ।
शिविरबाट स्थानीय नागरिकले निःशुल्क तथा सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गरेको आयोजकले जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस