पाँचखाल नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

  • काभ्रे खबर
  • / स्वास्थ्य /
  • २०८३ बैशाख १७, बिहिबार (२ हप्ता अघि)
  • १५६ पटक पढिएको

पाँचखाल नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

पाँचखाल/काभ्रेको पाँचखाल नगरपालिकालाई चालु आर्थिक वर्षका लागि पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । बिहीबार नगरप्रमुख तथा पालिकास्तरीय खोप समितिका संयोजक महेश खरेलको अध्यक्षता र जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक दीपककुमार गौतमको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
यससँगै पाँचखाल नगरपालिका जिल्लामा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने पालिकामध्ये चौथो स्थानमा पुगेको छ । यसअघि नमोबुद्ध नगरपालिका पहिलो, मण्डनदेउपुर नगरपालिका दोस्रो र भुम्लु गाउँपालिका तेस्रो भएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले पूर्णखोप सुनिश्चितता अभियान अन्त्य नभई सुरुवात भएको बताउनुभयो । उहाँले बालबालिकाको स्वास्थ्यप्रति अभिभावक जति सजग हुन्छन्, खोपप्रति पनि त्यत्तिकै संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो । खोपबाट बञ्चित बालबालिकामा दीर्घकालीन रोगको जोखिम उच्च हुने भएकाले अनिवार्य रूपमा खोप लगाउनुपर्ने उहाँको भनाइ थियो । साथै अभियानलाई निरन्तरता दिन सबै पक्षको सक्रियता आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका खोप अधिकृत पार्थमणि न्यौपानेले पाँचखाल नगरपालिका जिल्लाको चौथो पूर्णखोप पालिका बनेको जानकारी दिँदै छिट्टै सबै १३ वटै पालिकालाई यस अभियानमा समेटिने बताउनुभयो । उहाँले एक बालबालिकालाई खोप लगाउँदा राज्यले करिब ७ हजार रुपैयाँ खर्च गर्ने र २३ महिनासम्मको खोपमा प्रति बालबालिका ५० हजारभन्दा बढी लगानी हुने जानकारी दिनुभयो । नेपालमा खोप अभावका कारण दैनिक औसत २३ जना बालबालिकाको मृत्यु हुने तथ्यांक प्रस्तुत गर्दै उहाँले खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । खोपको गुणस्तर कायम राख्न वातानुकूलित खोप केन्द्र आवश्यक रहेको समेत उहाँले औंल्याउनुभयो ।
नगरप्रमुख महेश खरेलले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको बताउँदै नागरिकको स्वास्थ्यप्रति नगरपालिका सधैं सजग रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले आगामी वर्ष जिल्लाकै पहिलो पूर्णखोप सुनिश्चित पालिका बन्ने लक्ष्यसहित काम अघि बढाइने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा जनप्रतिनिधि, वडाध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य स्वयंसेविका लगायत सरोकारवालाले बालबालिकाको खोप पाउने अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए ।
नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार हाल १६ देखि २३ महिनाभित्रका २८५ जना बालबालिकाले पूर्णखोप प्राप्त गरेका छन् । वडागत रूपमा हेर्दा वडा नं. १ मा १४, वडा नं. २ मा २७, वडा नं. ३ मा ११, वडा नं. ४ मा १३, वडा नं. ५ मा २६, वडा नं. ६ मा ४९, वडा नं. ७ मा २६, वडा नं. ८ मा १३, वडा नं. ९ मा ३५, वडा नं. १० मा ६, वडा नं. ११ मा ५, वडा नं. १२ मा ४९ र वडा नं. १३ मा ११ जना बालबालिकाले पूर्णखोप प्राप्त गरेका छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस