मानसिक स्वास्थ्य प्रवर्द्धन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न


मानसिक स्वास्थ्य प्रवर्द्धन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

धुलिखेल/ मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या न्यूनीकरणमा सञ्चारकर्मीहरूको भूमिका प्रभावकारी बनाउन लक्षित अभिमुखीकरण कार्यक्रम आइतबार धुलिखेलमा सम्पन्न भएको छ ।
बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयको समन्वय तथा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा “मानसिक स्वास्थ्य प्रवर्द्धन लक्षित आत्महत्या न्यूनीकरणका लागि जोखिम सञ्चार प्रवाहसम्बन्धी सञ्चारकर्मी अभिमुखीकरण कार्यक्रम” सम्पन्न गरिएको हो ।
जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको सभाहलमा आयोजित कार्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि, आत्महत्या न्यूनीकरणमा जिम्मेवार सञ्चार प्रवाह तथा सञ्चारमाध्यमले निर्वाह गर्न सक्ने भूमिकाबारे विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा आत्महत्यासम्बन्धी समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने संवेदनशीलता, तथ्यमा आधारित प्रस्तुति, पीडित तथा परिवारको गोपनीयताको संरक्षण तथा सकारात्मक सन्देश प्रवाहका विषयमा विशेष जोड दिइएको थियो ।
कार्यक्रम जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रागिश्री कक्षपति श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन तथा समन्वय जनस्वास्थ्य अधिकृत दीपेन्द्रकाजी श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सूचना अधिकारी तथा स्वास्थ्य समन्वय महाशाखाका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तबहादुर के.सी., नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपाने, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीलगायत पत्रकार महासंघका पदाधिकारी, विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहजीकरण गर्दै जनस्वास्थ्य कार्यालयकी डा. उर्मिला पौडेलले मानसिक स्वास्थ्य अहिलेको समयको गम्भीर सार्वजनिक स्वास्थ्य समस्याका रूपमा देखिएको बताउनुभयो । उहाँले आत्महत्या व्यक्तिगत मात्र नभई सामाजिक, पारिवारिक, आर्थिक तथा मानसिक अवस्थासँग जोडिएको जटिल विषय भएकाले यसको न्यूनीकरणका लागि सबै क्षेत्रबीच समन्वय आवश्यक रहेको धारणा राख्नुभयो ।
उहाँका अनुसार नेपालमा दैनिक औसत १९ जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गरेका छन् भने वार्षिक करिब ८ लाख मानिसले ज्यान गुमाउने गरेका छन् ।
कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार काभ्रेपलाञ्चोक जिल्लामा गत आर्थिक वर्षमा ११९ जनाले आत्महत्या गरेका थिए भने चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ६३ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
वक्ताहरूले मानसिक तनाव, डिप्रेसन, पारिवारिक विग्रह, आर्थिक समस्या तथा लागूऔषध दुर्व्यसनलाई आत्महत्याका प्रमुख कारणका रूपमा औंल्याएका थिए । यस्ता समस्याको पहिचान, समयमै परामर्श तथा सकारात्मक सामाजिक वातावरण निर्माण गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने उनीहरूको भनाइ थियो ।
उनीहरूले आत्महत्यासम्बन्धी समाचार प्रकाशन तथा प्रसारण गर्दा सनसनीपूर्ण शैलीभन्दा सचेतनामूलक र जिम्मेवार ढंगले प्रस्तुत गर्नुपर्नेमा जोड दिएका थिए । गलत तथा असंवेदनशील समाचार सम्प्रेषणले नकारात्मक प्रभाव पार्न सक्ने भएकाले पत्रकारहरूले अन्तर्राष्ट्रिय मापदण्ड र आचारसंहितालाई ध्यानमा राख्नुपर्ने धारणा व्यक्त गरिएको थियो ।
उपस्थित पत्रकारहरूले पनि मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या न्यूनीकरणका लागि आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरूले जनचेतनामूलक सामग्री उत्पादन, सकारात्मक सन्देश प्रवाह तथा समस्या भएका व्यक्तिलाई सहयोग खोज्न प्रेरित गर्ने खालका समाचार सम्प्रेषणमा ध्यान दिने बताएका थिए ।
कार्यक्रम समापन गर्दै अध्यक्ष रागिश्री कक्षपति श्रेष्ठले मानसिक स्वास्थ्यका विषयमा समाजमा अझै खुला बहस हुन नसकेको उल्लेख गर्दै यस क्षेत्रमा सञ्चारमाध्यमको भूमिका अत्यन्त प्रभावकारी रहने बताउनुभयो । उहाँले यस्ता अभिमुखीकरण कार्यक्रमले पत्रकारहरूलाई जिम्मेवार सञ्चार प्रवाहमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस