
धुलिखेल । काभ्रेपलाञ्चोक जिल्ला आर्थिक वर्ष २०८२/८३ का लागि पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ।
जिल्ला खोप समन्वय समिति काभ्रेपलाञ्चोकले सोमबार धुलिखेलमा आयोजना गरेको कार्यक्रममा जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतम र सदस्य सचिव तथा जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागीश्री कक्षपति श्रेष्ठलाई पूर्णखोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरे।
जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका १६ देखि २३ महिनासम्मका ३ हजार १ सय ५५ जना बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्न स्वीकृति दिएको हो।
यसअघि काभ्रेपलाञ्चोकका सबै १३ स्थानीय तह पूर्णखोप सुनिश्चित पालिका घोषणा भइसकेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले खोप कार्यक्रमले बालबालिकाको जीवन रक्षा मात्र नभई स्वस्थ समाज निर्माणको आधार तयार गरेको बताए।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले बालबालिकालाई भविष्यमा लाग्नसक्ने रोगबाट बचाउन खोप अनिवार्य रहेकोले खोप अभियान विश्व समुदायको साझा अभियान पनि रहेको बताए ।
जनस्वास्थ्य कार्यालय काभ्रे शाखाकी प्रमुख रागीश्री कक्षपतिले नियमित खोपले १३ प्रकारका घातक संक्रमक रोगविरुद्ध बालबालिकाको सुरक्षा गर्ने भएकाले कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नहुनेमा जोड दिइन ।
सबै स्थानीय तहले पूर्णखोप सुनिश्चितताको मापदण्ड पूरा गरेपछि जिल्लालाई नै पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
