
काभ्रेपलाञ्चोक /बालबालिकाको आँखाको स्वास्थ्य संरक्षण, गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्ने तथा दृष्टिसम्बन्धी समस्याको समयमै पहिचान गरी उचित उपचारको पहुँच बढाउने उद्देश्यसहित सञ्चालन गरिएको प्रोजेक्ट “ज्योति” अन्तर्गत श्री जनक माध्यमिक विद्यालय, भकुण्डेबेसी, नमोबुद्ध नगरपालिका–२, काभ्रेपलाञ्चोक मा विद्यालयस्तरीय दृष्टि परीक्षण कार्यक्रमको पहिलो चरण सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमअन्तर्गत नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत कुल सात सय जना विद्यार्थीहरूको निःशुल्क दृष्टि परीक्षण गरिएको छ।
कार्यक्रममा Rotary Club of Kathmandu Height, Rotaract Club of Kathmandu Height, Rotaract Club of Kathmandu Midtown का स्वयंसेवकहरू,तथा रोटरियन परिवारसहित जम्मा २८ जनाको सक्रिय सहभागिता रहेको थियो। सम्पूर्ण सहभागीहरूको समर्पित सेवाभाव र व्यवस्थित कार्यसम्पादनले कार्यक्रमलाई प्रभावकारी र सफल बनाउन महत्वपूर्ण योगदान पुर्याएको थियो।
कार्यक्रमका संयोजक तथा Rotary Club of Kathmandu Heightका पूर्व अध्यक्ष रोटरियन राजाराम जोशी ले कार्यक्रमको उद्देश्य, कार्यप्रक्रिया तथा दीर्घकालीन प्रभावबारे जानकारी गराउँदै दृष्टि परीक्षणलाई बालबालिकाको उज्ज्वल भविष्यसँग प्रत्यक्ष जोडिएको सामाजिक अभियानका रूपमा व्याख्या गर्नुभयो। उहाँले नेपालमा धेरै विद्यार्थीहरू दृष्टि समस्याका कारण पढाइमा पछाडि पर्ने, सिकाइमा कठिनाइ भोग्ने तथा आत्मविश्वास गुमाउने अवस्था रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले समयमै समस्या पहिचान गरी समाधानतर्फ मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो।
दिनभर सञ्चालन गरिएको परीक्षणमा स्वयंसेवकहरूले व्यवस्थित ढङ्गले प्रत्येक विद्यार्थीको दृष्टि परीक्षण गरेका थिए। परीक्षणका क्रममा दृष्टिसम्बन्धी समस्या देखिएका विद्यार्थीहरूलाई थप विशेषज्ञ परीक्षण तथा आवश्यक उपचारका लागि सिफारिस गरिएको छ। साथै, विद्यार्थीहरूलाई आँखाको सरसफाइ, पोषणयुक्त आहार, स्वस्थ जीवनशैली र नियमित स्वास्थ्य परीक्षणको महत्वबारे पनि जानकारी प्रदान गरिएको थियो।
कार्यक्रम Rotary Club of Kathmandu Height, Rotary Club of Nanaimo Daybreak (Canada), ADSon, Rotary Club of Patan, Rotaract Club of Kathmandu Height, Rotaract Club of Kathmandu Midtown तथा Rose International Fund for Children को संयुक्त सहयोगमा सञ्चालन गरिएको हो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबीचको सहकार्यले विद्यालयस्तरमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन उल्लेखनीय उदाहरण प्रस्तुत गरेको आयोजकहरूको भनाइ छ।
आयोजकका अनुसार प्रोजेक्ट “ज्योति” आगामी दिनमा नेपालका विभिन्न विद्यालयहरूमा विस्तार गर्दै हजारौँ विद्यार्थीसम्म दृष्टि परीक्षण तथा आवश्यक स्वास्थ्य सेवा पुर्याउने लक्ष्य राखिएको छ। दृष्टिसम्बन्धी समस्याका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने मूल उद्देश्यसहित सञ्चालन भइरहेको यो अभियान स्वास्थ्य, शिक्षा र मानवीय सेवाको प्रभावकारी समन्वयको उत्कृष्ट नमुना बनेको छ।