दोलखा अस्पताललाई अत्याधुनिक सीएलआईए मेसिन हस्तान्तरण

थाइराइड र हर्मोन परीक्षणका लागि काठमाडौँ जानुपर्ने बाध्यता हट्यो
  • काभ्रे खबर
  • / स्वास्थ्य /
  • २०८३ भाद्र १८, बिहिबार (६ दिन अघि)
  • ६३ पटक पढिएको

दोलखा अस्पताललाई अत्याधुनिक सीएलआईए मेसिन हस्तान्तरण

दोलखा/लायन्स क्लब अफ दोलखाले दोलखा अस्पताललाई अत्याधुनिक CLIA (Chemiluminescence Immunoassay) Analyzer मेसिन हस्तान्तरण गरेको छ। स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्दै जिल्लाबासीलाई सहज, छिटो तथा विश्वसनीय प्रयोगशाला सेवा उपलब्ध गराउने उद्देश्यले उक्त उपकरण प्रदान गरिएको हो।

दोलखा अस्पताल परिसरमा आयोजित एक विशेष हस्तान्तरण कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धर प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी नगर उपप्रमुख कमला बस्नेत र वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

लायन्स क्लब अफ दोलखाका अध्यक्ष दिपेन्द्र शाक्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्कृतिप्रेमी शान्तकृष्ण श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा लायन्स क्लबका पूर्वअध्यक्षहरू, पदाधिकारीहरू, दोलखा अस्पताल प्रशासन इन्चार्ज श्याम बुढाथोकी , स्वास्थ्यकर्मी, समाजसेवी तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

अब जिल्लामै विशिष्टीकृत रक्त परीक्षण हुने
अस्पतालका अनुसार लायन्स क्लबले हस्तान्तरण गरेको यो उपकरण आधुनिक प्रयोगशाला उपकरणहरूमध्ये एक मानिन्छ। यस उपकरणमार्फत अब अस्पतालमै थाइराइड, विभिन्न हर्मोन, भिटामिनको मात्रा, सङ्क्रमणजन्य रोग तथा अन्य विशेष प्रकारका रक्त परीक्षणहरू उच्च शुद्धता र विश्वसनीयताका साथ गर्न सकिनेछ।

हालसम्म यस्ता विशिष्टीकृत परीक्षणहरूका लागि दोलखाका बिरामीहरू काठमाडौँ वा अन्य ठूला शहरका अस्पताल तथा प्रयोगशालामा पुग्न बाध्य थिए। यस मेसिनको आगमनसँगै परीक्षणका लागि लाग्ने समय, खर्च र झन्झट बेहोर्नुपर्ने अवस्थाको अन्त्य भएको छ। अब बिरामीहरूले जिल्लामै छिटो परीक्षण रिपोर्ट प्राप्त गरी समयमै उपचार सुरु गर्न सक्ने र आर्थिक भारसमेत कम हुने विश्वास गरिएको छ।

सरोकारवालाहरूको प्रतिक्रिया
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै नगर प्रमुख ईश्वरनारायण मानन्धरले स्वास्थ्य क्षेत्रमा निजी तथा सामाजिक संस्थाहरूको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो। लायन्स क्लबले प्रदान गरेको उपकरणले स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। भीमेश्वर नगरपालिकाले पनि स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने अभियानमा सहयोग पुर्‍याउँदै आएको उल्लेख गर्दै उहाँले लायन्स क्लबको यो पहलको उच्च प्रशंसा गर्नुभयो।

त्यसैगरी, वडाध्यक्ष स्टालिन श्रेष्ठ, अस्पतालका चिकित्सक डा. अञ्जना र डा. विराटले पनि मन्तव्य व्यक्त गर्दै आधुनिक उपकरणको आगमनले अस्पतालको प्रयोगशाला सेवामा गुणात्मक सुधार आउने र बिरामीले जिल्ला बाहिर धाउनुपर्ने बाध्यता कम हुने उल्लेख गर्नुभयो।

दोलखा अस्पतालका प्रमुख तथा स्वास्थ्यकर्मीहरूले उपकरण हस्तान्तरणप्रति धन्यवाद ज्ञापन गर्दै यसले अस्पतालको प्रयोगशाला सेवाको स्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्। अस्पतालले उपकरण सञ्चालनका लागि आवश्यक प्राविधिक तयारीसमेत अघि बढाइसकेको जनाएको छ।

लायन्स क्लब अफ दोलखाका प्रतिनिधिहरूले सामाजिक सेवाप्रति क्लबको प्रतिबद्धतालाई निरन्तरता दिँदै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर यो सहयोग गरिएको बताए। आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने उनीहरूले प्रतिबद्धता व्यक्त गरे।

स्वास्थ्य क्षेत्रमा अत्याधुनिक उपकरण भित्रिएसँगै दोलखा अस्पतालले अब थप प्रभावकारी, विश्वसनीय र आधुनिक सेवा प्रदान गर्न सक्ने विश्वास गरिएको छ भने जिल्लामै विशेष प्रकारको परीक्षण सेवा उपलब्ध हुने भएपछि स्थानीय नागरिकहरूले खुसी व्यक्त गरेका छन्। लायन्स क्लबको यो सहयोगलाई जिल्लाको स्वास्थ्य सेवामा एक महत्त्वपूर्ण उपलब्धि र सामुदायिक सहकार्यको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको छ।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस