काभ्रेपलाञ्चोकको जिल्ला स्तरीय स्वास्थ्य समीक्षा तथा योजना गोष्ठी सम्पन्न

  • काभ्रे खबर
  • / स्वास्थ्य /
  • २०८३ आश्विन १६, शुक्रबार (१ हप्ता अघि)
  • ९६ पटक पढिएको

काभ्रेपलाञ्चोकको जिल्ला स्तरीय स्वास्थ्य समीक्षा तथा योजना गोष्ठी सम्पन्न

धुलिखेल /काभ्रेपलाञ्चोक जिल्लाको स्वास्थ्य क्षेत्रमा पछिल्ला वर्षहरूमा देखिएको सुधारलाई निरन्तरता दिँदै आगामी दिनमा सेवाको गुणस्तर थप प्रभावकारी बनाउने प्रतिबद्धतासहित जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ।

जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा बिहीबार र शुक्रबार धुलिखेलमा भएको दुई दिने गोष्ठीमा जिल्लाका १३ वटै स्थानीय तहका स्वास्थ्य शाखाले आफ्नो वार्षिक कार्यप्रगति, उपलब्धि, चुनौती र आगामी योजना प्रस्तुत गरेका थिए।

गोष्ठीको उद्घाटन स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशका मन्त्री गिरबहादुर तामाङले गरेका थिए भने समापन कार्यक्रममा मन्त्रालयकी सचिव डा. सुमित्रा गौतम उपस्थित थिइन्। कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतम, १३ पालिकाका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधि, जनस्वास्थ्य कार्यालयका कर्मचारी, सञ्चारकर्मी र सरोकारवाला निकायका प्रतिनिधि सहभागी थिए।

वक्ताहरूले जिल्लाको समग्र स्वास्थ्य अवस्था क्रमशः सुधारोन्मुख रहेको बताउँदै पहुँच, गुणस्तर र प्रभावकारितामा थप प्रगति आवश्यक रहेको औंल्याए। स्थानीय तह, स्वास्थ्य संस्था र सरोकारवालाबीचको समन्वयलाई मजबुत बनाउँदै उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिइएको थियो। प्रस्तुतीकरणका क्रममा उपलब्धि, समस्या, चुनौती, सिकाइ र आगामी कार्ययोजनाबारे छलफल भएको थियो।

गोष्ठीका अवसरमा १३ वटै स्थानीय तहलाई विभिन्न विधामा सम्मान गरिएको थियो। स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने स्वास्थ्यकर्मी प्रतिनिधि, संस्था र व्यक्तिलाई पनि सम्मान गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। सम्मानित हुनेमा धुलिखेल अस्पताल, शीर मेमोरियल अस्पताल बनेपा, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालका डा. अनुपविक्रम बिसी र जन्त्र नेपालका सुजन ताम्राकार रहेका छन्।

ताजा अपडेट

२०८३ आश्विन २४, शनिबार

समयको हिसाब

यो साताको प्रचलित

खोजी गर्नुहोस