आर्थिक उपार्जनको पाटोमा बलियो हुनुपर्छ र आर्थिक रुपमा सक्षम हुनुपर्छ

  • काभ्रे खबर
  • / अन्तरर्वार्ता /
  • २०८२ बैशाख २१, आईतबार (२ महिना अघि)
  • १४८ पटक पढिएको

आर्थिक उपार्जनको पाटोमा बलियो हुनुपर्छ र आर्थिक रुपमा सक्षम हुनुपर्छ

चालु आर्थिक वर्षको लागि भनेर बनाइएका योजनाहरु के के छन् ? बजेट कति छ ? कतिवटा कार्यक्रम सम्पन्न भयो ?
गत असोजमा गएको बाढी पहिरो पछाडि हामीले चालु आर्थिक वर्षमा गर्ने भनेर बनाएका वडागत र नगरपालिका स्तरीय योजनाहरू सबै पूरा गर्न सकेनौं । हामीले धेरै योजनाहरूको लागि उपभोक्ता समितिहरू गठन गरिसकेका थियौं । केही योजना त ठेक्का लगाउनको लागि डकुमेण्ट तयार गर्दै थियौं । हामीले विभिन्न खालका योजनाहरूको लागि तयारी थालिसकेका थियौं । तर असोज १२ गते पछाडि अवस्था फेरियो । वडागत योजनाहरू तत्कालको लागि पुरै स्थगित भयो । बाँकी हामीसँग प्रदेश र संघ सरकारका केही योजनाहरू मात्रै थिए । तत्कालको अवस्थालाई मध्यनजर गरेर नगरस्तरीय योजनामा २० लाख बराबरको बाटो सरसफाई, सिंचाइ सामान्य मर्मत गर्यौं । त्योभन्दा धेरै ठूला कामहरू हामीले यो वर्ष गर्न सकेका छैनौं । प्रदेशबाट आएका छ÷सातवटा योजनाहरू चाहिँ अहिले चालु अवस्थामा नै छ । जसरी गत वर्षहरूमा गर्ने नियमित कामहरू थिए । तिनलाई निरन्तरता दिँदै बाँकी विकासका ठूला कामहरु अहिले तत्काल गर्न सकेका छैनौं ।
चालु आर्थिक वर्षमा वडा भित्र ठुला योजना कति वटा छ ?
प्रदेश सरकारबाट आएको ४० लाखसम्मका योजनाहरू छन् । त्यो सडकको लागि आएको थियो त्यो काम सम्पन्न भइसकेको छ । संघको बजेट पनि थियो दुई करोड जति । उक्त बजेटबाट हामीले पक्की नाली बनाउने काम सम्पन्न गरिसकेका छौं । बाँकी पिचको काम छ । पिच गर्ने काम पूर्णरूपमा यो आर्थिक वर्षमा सम्पन्न नहुने भन्ने कुराको जानकारी पनि हामीले पाएका छौं । त्यो बाहेक अरु साना खानेपानी र सिँचाइका कामहरू चाहिँ सकिसकेको छ ।
लक्षित समुदायको लागि कार्यक्रमहरू पछिल्लो समय खासै भएनन् भन्ने गुनासो पनि आउँछ नि ! तपाईंको वडामा अवस्था के छ ? यस्ता गुनासोहरू आउन नदिनको लागि तपाईंहरूको तर्फबाट भइरहेको प्रयास के छ ?
हामीले योजनाहरू बनाउँदा चुनावको बेला तयार भएका घोषणापत्रकै आधारमा गर्ने गरेका थियौं । घोषणा गरेका कतिपय योजनाहरू त सम्पन्न पनि भइसकेको छ । विपत्तिले गर्दा चाहिँ हामीलाई अलिकति पछाडि फर्काउने अवस्था रहन गयो । यदि यस्ता विपत्तिले हामीलाई समस्यामा पर्दैन थियो भनेदेखि हामीले बोलेका शतप्रतिशत कुराहरु यतिबेला पूरा भइसक्ने थियो । सम्पन्न भइसकेका धेरै भौतिक संरचनामा पनि निकै ठूलो क्षति पुग्यो । जस्तै सडकहरु बनिसकेको अवस्थामा बाढी पहिरोले त्यसलाई भत्कायो । त्यसलाई पक्की बनाउनुपर्ने समयमा हामी फेरि पहिलेकै अवस्थामा फर्काउन पुननिर्माणतिर लाग्नुपर्यो । आगामी आर्थिक वर्षमा आउने बजेटहरू पनि सबै त्यतातिर नै लगाउनुपर्ने अवस्था देखिएको छ । विपत्ति अगाडिकै अवस्थामा सबै संरचनाहरू पु¥याउन अझै अर्को असार मसान्तसम्म कुर्नुपर्ने जस्तो देखिएको छ । अपेक्षा गरेअनुसार अब प्रदेश, संघीय सरकारबाट पनि खासै धेरै कार्यक्रमहरू आउने अवस्था छैन । तत्कालको लागि हामी वडाले जे जति भ्याउँछ त्यति कामहरू गरिरहेका छौं । सामान्य योजनालाई नै जोड दिएर भएपनि काम गरिरहेका छौं । पाँच वर्षे कार्यकालभित्र हामीले के के गर्छौं भनेका थियौं ती अधिकांश योजनाहरू त सम्पन्न गर्नेछौ । तर केही योजनाहरू चाहिँ विपत्तिकै कारणले गर्दा अधुरो रहलान् कि भन्ने लागेको छ ।

संविधानले शिक्षाका हक सुनिश्चित गरेको छ । कसैले कपी, कलम, किताब किन्न नसकेर विद्यालय गइरहनुभएको छैन भने हामी उहाँहरूलाई सहयोग गर्छौं भनेर लागिपरेका छौं ।

लक्षित समुदायका कार्यक्रमको कत्तिको निरन्तरता पाएको छ ? बजेट कटौती हुन्छ की हुँदैन ?
लक्षित समुदायको कार्यक्रमहरू पनि निरन्तर रूपमा भैरहेको छ । बालबालिका, महिला, जेष्ठ नागरिक, अपाङ्गता भएका सबै समुदायलाई समेट्ने गरेर विभिन्न खालका कार्यक्रमहरु हामीले निरन्तर रुपमा गरिरहेका छौं । जेष्ठ नागरिकहरूको लागि हामीले गर्ने भनेका कामहरु केही गर्न बाँकी छ । त्यसलाई हामी छिट्टै नै पूरा गर्नेछौं । लक्षित समुदायको अरु सीमान्तकृत, जनजातिहरूको लागि ठूला कार्यक्रम गराउन नसकेपनि साना कार्यक्रम गरेर भएपनि उहाँलाई सम्बोधन गरेका छौं । आर्थिक उपार्जनको पाटोमा बलियो हुनुपर्छ र आर्थिक रुपमा सक्षम हुनुपर्छ भनेर विभिन्न खालका तालिमहरु पनि प्रदान गरिरहेका हुन्छौं । नगरस्तरीय कार्यक्रमहरू सञ्चालन हुँदा हाम्रो वडाका नागरिकहरु पनि समावेश हुनुहुन्छ । त्यसकारण लक्षित समुदायको कार्यक्रमहरूलाई पनि हामीले समेटेका छैनौं भन्न मिल्दैन ।
कृषि विकासको लागि तपाईंहरूले के कस्तो प्रयास गरिरहनुभएको छ ? कृषिमा आधुनिककरण, यान्त्रिकरण र व्यवसायिकरणलाई कतिको जोड दिनुभएको छ ?
कृषिमा पनि हामीले सकेको कार्यक्रमहरू गरिरहेका छौं । यसलाई निरन्तरता दिँदै जानेछौं । विशेषगरी सिँचाइको क्षेत्रमा राम्रो काम भइरहेको छ । हाम्रोमा ३÷४ वटा सिँचाइ कुलोहरू थियो । जसमध्ये धेरै क्षेत्रफल ओगट्ने मल्पी लिलावती सिंचाइको १२ किलोमिटर लम्बाइमा बाढीले गर्दा सबै कुलोहरू पुरिएको थियो । कतिपय ठाउँमा भत्किएर नयाँ नै बनाउनुपर्ने अवस्था पनि थियो । हामीले किसानहरूको खेतसम्म त्यो सिंचाई कुलो पु¥याउनको लागि ३८ दिनसम्म श्रम अभियान नै चलायौं । यसमा थप केही प्रदेश सरकारको पनि बजेट थियो । पक्की बनाउने काम चाहिँ उक्त बजेटमार्फत हामीले गर्यौं । हामीले साना सिँचाइका योजनाहरू पनि सम्पन्न गर्यौं । पहिलेको अवस्थामा पनि थप सुधार गरेर हामीले सिंचाई अभाव हुन दिएनौं । यसैगरी बेला बखतमा विभिन्न अनुदानका कार्यक्रमहरू पनि सञ्चालन भइरहेको हुन्छ । कृषिमा उहाँहरुलाई कसरी अब्बल बनाउन सकिन्छ भन्ने कुरामा हामी हरबखत लागि परिरहेका छौंैं ।

स्वास्थ्यको लागि पनि विशेष कार्यक्रमहरू केही गरिरहनु भएको छ त ?
स्वास्थ्यको क्षेत्रमा पनि हामीले काम गरिरहेका नै छौं । नेपाल सरकारले तोकेका सबै कार्यक्रमहरू निरन्तर रूपमा चलिरहेका छन् । सरकारले निःशुल्क रुपमा प्रदान गर्ने भनेका औषधिहरू सबै नियमित रुपमा स्वास्थ्य संस्था मार्फत गइरहेको हुन्छ । स्वास्थ्यमा हामीले थप केही अतिरिक्त कामहरु पनि गरिरहेका छौं । वडावासीलाई सजिलो होस् भनेर अघिल्लो वर्ष तीनवटा अक्सिजन बनाउने मेसिन प्राप्त गरेका थियौं । औषधि, माक्स, पञ्जा जस्ता सामानहरू ल्याएर पनि सहज वातावरण सिर्जना गर्ने माहोल तय गरेका छौं । यी बाहेक नियमित हुने कामले निरन्तरता पाइनै रहेको छ ।
तपाईको वडा बालमैत्री घोषित छ । यसको दिगोपना र निरन्तरताको लागि के कस्ता क्रियाकलाप संचालन गरिरहनु भएको छ ?
बालमैत्री वडा बनाउन नै पहिले धेरै दुःख गरेका थियौं । त्यसकारण यसलाई यतिकै छोड्दििने भन्ने त हुँदैन । यसको दिगोपनाको लागि हामी निरन्तर रुपमा काम गरिरहेका हुन्छौं । बालमैत्रीकै क्षेत्रमा काम गर्नको लागि भनेर एकजना सहजकर्ता पनि हुनुहुन्छ हाम्रोमा । उहाँले निरन्तर बालमैत्री सम्बन्धी कामहरू गरिरहनुभएकै हुन्छ । कहिलेकाहीं बजेट कटौतीका कुराहरूले थोरै प्रभाव चाहिँ पर्छ तर हामीले यसलाई पछाडि पर्न दिएका छैनौं । बालमैत्रीको क्षेत्रमा हामीले उल्लेखनीय काम गरेका छौं ।
योजनाहरू सम्पन्न गर्नको लागि वडागत रुपमा के कस्ता समस्याहरु देखिरहेका छन् ? तिनको समस्या कसरी गरिरहनुभएको छ ?
काम गर्दै जाने क्रममा विभिन्न खालका चुनौतीहरू आइरहेका हुन्छन् । सडक निर्माण गर्दा, खानेपानीका योजनाहरू सम्पन्न गर्दा जग्गासँग जोडिएका समस्याहरू आउँछन् । कतिपय समस्याहरू विवादजन्य पनि हुन्छन् । तिनलाई हामीले वार्ता वा संवादबाट नै टुंग्याउने गरेका छौं । समस्या नै नहुने भन्ने चाहिं हुँदैन । तर यस्ता कारणहरूले नै कुनै पनि योजना पुरै अवरुद्ध भएर सम्पन्न नै नभएको भन्ने चाहिँ छैन ।
योजना अनुगमनको कामले कतिको प्राथमिकता पाउने गरेको छ ?
वडाको तर्फबाट गर्नुपर्ने अनुगमनका कामहरू नियमित रुपमा नै हुने गरेको छ । योजना सम्बन्धी कार्य सम्पन्न भइरहँदा पूर्णरूपमा उपस्थित हुन नसकिएला तर आलोपालो प्रणालीबाट पनि हामीले योजना सम्पन्न नहसन्जेलसम्म गर्नुपर्ने अनुगमनहरू गरिरहेका हुन्छौं । आम उपभोक्तालाई पनि सचेत गराएका छौं । राज्यको तर्फबाट हुने अनुगमनहरू पनि भइहाल्छ । गुणस्तरीय र समय सीमाभित्र नै सबै योजनाहरू सम्पन्न भएका हुन्छन् ।
शैक्षिक विकासको लागि तपाईंको वडामा भइरहेका कामहरू के–के छन् ? अहिले भइरहेको शिक्षक आन्दोलनले तपाईंको वडा भित्रका विद्यालयको शैक्षिक क्रियाकलापमा कत्तिको प्रभाव पारेको छ ?
हामीले शिक्षाको लागि अहिले घरदैलो अभियान नै सञ्चालन गरिरहेका छौं । सबैको घरदैलोमा पुगेर शिक्षाको महत्वको बारेमा बुझाउनुका साथसाथै भर्ना अभियानको बारेमा पनि सुसूचित गरिरहेका छौं । प्राथमिक तहको शिक्षा निःशुल्क र अनिवार्य हो भन्ने कुरा उहाँहरुलाई उपयोग गर्नको लागि प्रेरित गरिरहेका छौं । संविधानले शिक्षाका हक सुनिश्चित गरेको छ । कसैले कपी, कलम, किताब किन्न नसकेर विद्यालय गइरहनुभएको छैन भने हामी उहाँहरूलाई सहयोग गर्छौं भनेर लागिपरेका छौं । घरदैलो अभियानको कार्यक्रम अहिले चलिरहेको छ । अहिले चलिरहेको शिक्षक आन्दोलनले केही प्रभाव त परिरहेको छ । तर शिक्षक आन्दोलनकै कारण भर्ना अभियानलाई चाहिं कुनै प्रभाव पारेको छैन ।
वडाले गर्ने कामहरु कत्तिको पारदर्शी छन् ?
वडाले विशेषत नियमित गर्ने सेवा डेलिभरीका कामहरू नै हुन् । त्यसलाई हामीले एकदमै चुस्त बनाएका छौं । कसरी हुन्छ छिटो छरितो तवरमा काम गरिरहेका हुन्छौ । सेवाग्राहीहरू आएर सेवा नलिई खाली हात फर्कनुपर्ने अवस्था छैन । यो कुरामा हामी निकै सचेत छौं । योजनाहरू सम्पन्न गर्दा उपभोक्ता समिति वा ठेक्का प्रक्रियामा नै गएर गरेका हुन्छौं । कार्यालयभित्रैबाट दिने सेवामा त्यस्ता कुनै गुनासो सुन्नु परेको छैन । हामीले सेवालाई पारदर्शी ढंगबाट नै प्रदान गर्ने प्रयास गरिरहेका हुन्छौं ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस