चालु आर्थिक बर्षमा स्वास्थ्य शाखाले गर्ने गतिविधि के–के छन् ?
संघीय सरकार र प्रदेश सरकारबाट आएको बजेट मार्फत हुने कामहरू नियमित रुपमा चलिरहेको छ । गत असोजमा गएको बाढी पहिरोले निम्त्याएको विपत्तिको कारण पालिकाले शाखागत रूपमा गर्ने योजना अन्तर्गतका केही बजेटहरू कटौती भएको छ । पछिल्ला दिनहरूमा खासै ठूला नयाँ कामहरू गर्न सकिएको अवस्था छैन । नियमित रूपमा पालिकागत रुपमा गर्ने कामहरू गरिरहेका छौँ । स्वास्थ्य शाखाले आमा सुरक्षा कार्यक्रम, जेष्ठ नागरिक कार्यक्रम लगायत कार्यक्रमहरूलाई नियमितता दिएको छ । आमामी बर्षमा चाहीँ हामी स्वास्थ्यमा नयाँ गतिबिधिहरु पनि संचालन गर्नेछौँ ।
गाउँपालिकाले यस आर्थिक बर्षका लागि स्वास्थ्यमा कति बजेट छुट्याएको छ ?
चालु आर्थिक वर्षको लागि शाखागत रूपमा गरिने कामका लागि जम्मा ८० लाख रुपैयाँ बजेट प्राप्त भएको छ । कर्मचारीहरूको तलब भत्ता यही रकमबाट व्यवस्थापन गर्नुपर्नेछ । बाँकी बजेटबाट महिला लक्षित कार्यक्रम, शिविरहरू सञ्चालन गर्ने, जेष्ठ नागरिक लक्षित कार्यक्रम लगायत समेटिनेछन् । कर्मचारीको तलब भत्ता बाहेक करिब ४० लाख जति बजेट रहेको थियो । विपत्तिले गर्दा त्यो बजेटमा पनि १५ लाख जति कटौती गर्नुपर्ने भयो । जसले गर्दा नयाँ कार्यक्रमहरू गर्न हामीले सकेका छैनौँ । गत वर्षहरूमा नियमित रूपमा गरिरहेको कार्यक्रमहरू यो वर्ष पनि निरन्तरता दिएका छौँ । मोतियाबिन्दु भएकाहरूलाई लक्षित गर्दै कार्यक्रम ल्याएका थियौँ । महिला र बालबालिका लक्षित कार्यक्रम गर्यौ । टिभी रोगसम्बन्धी परीक्षण पनि ग¥यौँ । महिलाहरूको आङ खस्ने समस्या र पाठेघर सम्बन्धी क्याम्पहरू सञ्चालन भएको थियो । जेष्ठ नागरिकहरूको हरेक चार महिनाको अन्तरालमा नसर्ने रोग सम्बन्धी परीक्षण गर्दै आएका छौँ । त्यो बाहेक अरु थप नयाँ कार्यक्रमहरू चाहिँ बजेट अभावकै कारण गर्न सकेका छैनौं । संघीय सरकार र प्रदेश सरकारबाट पछिल्लो समय थप कार्यक्रमहरू चाहिँ आएको छैन । तर यो आर्थिक वर्षको लागि भनेर पहिले नै विनियोजन भएर आएका र नियमित रुपमा गर्दै आइरहेका कार्यक्रमहरुले चाहिँ नियमितता पाएको छ । हामीले पनि तोकिएको समायाविधिमा ती कार्यक्रमहरू सम्पन्न गर्दै गइरहेका छौँ ।
अभियानको रुपमा के के कार्य गर्दै हुनुहुन्छ ?
ठुला अभियान कै कार्यक्रम भनेर चाहिँ राखेका छैनौ तर शिविर कार्यक्रमहरू हामी सञ्चालन गरिरहेका हुन्छौँ । जस्तै मोतियाबिन्दु भएकाहरूको स्किनिङको काम गर्यौ । टिबिको पनि स्क्यानिङ गर्ने कामहरू गरिरहेका छौँ । एउटा सक्यो अब बाँकी दुईवटा पनि छिटै सम्पन्न गर्नेछौं । हरेक तीन चार महिनाको फरकमा बस्तीबस्तीमा गएर नसर्ने रोगको परीक्षण गर्दै आएका छौँ । कुनै ठुलो विपत्तिहरू आइपर्दाखेरी हामीले त्यो विपत्तिलाई समाधान गर्न बेलाबखतमा नारा सहितका कार्यक्रमहरू गरिरहेका हुन्छौँ ।
कुनै महामारी वा विपत् आइ लाग्यो भने परिचालनको लागि कुनै पूर्व तयारी छ ?
हामीले सबै स्वास्थ्य संस्थाहरूमा औषधिहरू अगाडि नै लगेर आवश्यकताको आधारमा ठाउँ अनुसार राख्ने गरेका छौँ । जसले गर्दा विपद परेको बेलामा सहयोग गर्छ । हामीसँग विपद् कोषमा पनि केही रकम रहेको छ । कुनै महामारी वा विपत आइलाग्यो भने पनि त्यो विपत कोषबाट हामीले खर्च गर्न सक्छौँ । जनचेतनाका सामान्य कार्यक्रमहरू पनि नियमित रुपमा गर्दै आएका छौँ । ठूला कार्यक्रम पहिले नै गरेर राख्ने भन्दा पनि के–के हुन सक्छ अनुमानका आधारमा नै हामीले कार्यक्रम गर्ने हो । समस्याको आँकलन गरेर सामान्य खालका पूर्व तयारी चाहीँ गरिरहेका छौँ ।
महिला तथा गर्भवती स्वास्थ्यका लागि कुनै विशेष कार्यक्रमहरु छन् ?
पालिकाभित्र जम्मा तीनवटा बर्थिङ सेन्टर रहेको छ । जसबाट हामीले नियमित सेवा प्रदान गर्दै आइरहेका छौँ । बाढी पहिरोका कारण धेरै स्थानमा क्षती पुग्मा पनि बर्थिङ सेन्टर भएका क्षेत्रमा त्यति ठूलो असर परेकोे थिएन । त्यसले हामीले दिनुपर्ने नियमित सेवाहरू दिन पाया््ँै । बेथानचोक गाउँपालिका भित्र आठ वटा स्वास्थ्य संस्था रहेका छन् । जसमध्ये सातवटा स्वास्थ्य संस्था मार्फत नियमित सेवा दिन पायौँ । एउटा स्वास्थ्य संस्थामा चाहिँ भित्र नै भेलबाढी छिरेकाले केही समस्या भएको थियो । त्यो पनि ४÷५ दिनभित्र वडा कार्यालयसँग समन्वय गरेर जुन रुपमा व्यवस्थापन गर्न सक्यों त्यही ढंगबाट सेवा प्रवाह गर्दै आयौं । महिला तथा गर्भवती स्वास्थ्यका लागि गत बर्षहरुमा पनि स्वास्थ्यका विभिन्न कार्यक्रम गरेका थियौँ । ती कार्यक्रमलाई यो बर्ष पनि निरन्तरता दिईरहेका छौँ ।
दरवन्दीको अवस्था के छ ?
स्थायी दरबन्दीहरू रिक्त भएको ठाउँमा करारबाट पनि पदपूर्ति गरेका छौँ । पछिल्लो समय दरबन्दीकै समस्या छैन । हाम्रोमा कर्मचारी अभावकै कारण अहिले कामहरू अवरुद्ध भएको भन्ने अवस्था पनि छैन । हामी आवश्यकता परेको ठाउँमा स्थायी दरबन्दी नभए पनि करारबाट भएपनि पदपूर्ति गरी निरन्तर सेवा प्रवाह गरिरहेका छौं । आगामी दिनमा पनि हामी यसमा कमी हुँन दिने छैनौं ।
स्वास्थ्य कार्यालयसँगको समन्वय र कार्यक्रमको अवस्था के छ ?
स्वास्थ्य कार्यालयसँग हाम्रो समन्वय र सहकार्य निकै राम्रो रहेको छ । हामीलाई अप्ठ्यारो परेको समयमा पनि उहाँहरूको तर्फबाट सहयोग हुँदै आएको छ । उहाँहरुको तर्फबाट माथिल्लो तहमा पु¥याउने कामको लागि पनि सकारात्मक भूमिका निर्वाह गर्दै आउनुभएको छ । अहिले हाम्रो उहाँहरूसँगको सम्बन्ध निकै राम्रो रहेको छ । जुन आगामी दिनमा पनि जारी नै रहनेछ ।
पालिकाभित्रका स्वास्थ्यालयमा श्रोत साधनको अवस्था के छ ?
सानातिना कमी कमजोरीहरू त छँदै नै छ । स्वास्थ्यलयभित्र स्रोतसाधनको कुरामा काम नै अवरुद्ध हुने गरेर सामग्रीहरू नभएको भन्ने चाहिँ छैन । यद्यपि भनेजस्तो सबै कुराहरूमा भरिपूर्ण भएको छैन कि भन्ने चाहिँ हामीले पनि महसुस गरेका छौँ । बजेटहरू अभावका कारण पनि भौतिक कुराहरू पूर्णरूपमा परिपक्क र भरिपूर्ण बनाउन चाहँदा चाहँदै पनि नहुने रहेछ । सेवा सुविधा नै अवरुद्ध हुने गरेर सामानहरू नभएको अथवा स्रोत साधन अपुग भएको भन्ने चाहिँ छैन । तर पनि भनेजस्तो सबै कुराहरू पु¥याउन चाहिँ सकिरहेका छैनौँ । बजेटहरू हुँदा पनि कतिपय अवस्थामा चाहिँ कुन कुरालाई प्राथमिकता दिने भन्ने हुँदोरहेछ । जस्तो विपदको समयमा हामीले स्वास्थ्यकै क्षेत्रमा मात्र काम गर्छौ भन्नेभन्दा पनि आवश्यकता केमा छ भन्ने कुरा हो । विपतको समयमा हामीले आउन जानको लागि सडकको समस्या भएको कारण त्यतैतिर बढी केन्द्रित भएर कामहरु गर्नुपर्यो । तर अति आवश्यक कुराहरूमा त स्वास्थ्यको क्षेत्रमा पनि हामीले छोडेका छैनौँ । हामीले आवश्यकताको आधारमै वर्गीकरण गरेर कामहरू गरिरहेका छौँ । नियमित कामहरू त भइ नै रह्यो तर नयाँ ठूला कार्यक्रम चाहिँ गर्न सकिएन भन्ने मात्र हो । श्रोत साधनको कमीको कारण नै कामहरु ठप्प भएको चाहीँ छैन ।
पालिकाको एम्बुलेन्स कति छन ? अवस्था के छ ?
पालिकाबाट एउटा एम्बुलेन्स सञ्चालनमा छ । दुईवटा अरु संघसंस्थाद्वारा सञ्चालित छन् । यी तीन वटा एम्बुलेन्सहरू अहिले नियमित सञ्चालनमा रहेका छन् । अहिलेसम्मको लागि एम्बुलेन्स सेवा खासै खराब छैन । यसमा थप गर्नुपर्ने अवस्थामा हामी हेरफेर गर्छौं । सबै एम्बुलेन्सको अवस्था राम्रो नै छ ।
आपतकालिन स्वास्थ्य सेवाका लागि तयारी अवस्था के छ ?
मौसमअनुसारका विभिन्न समस्याहरू आईरहेका हुन्छन् । जसले नागरिकहरूलाई निकै अप्ठ्यारो स्थितिमा समेत पारेको हुन्छ । पूर्व तयारी स्वरूप हामीले यो समयमा यस्तो खालको समस्या आउन सक्छ है भनेर अनुमान गरेर औषधि, उपकरणहरू व्यवस्थापन गरिरहेका हुन्छौँ । ठुलै महामारी नै आयो भने चाहिँ अझै ठूलो समस्या निम्तिन सक्छ । त्यसकारण हामीले त्यसको पूर्व तयारी स्वरूप बिपद व्यवस्थापन कोषको व्यवस्था गरेका छौँ । निकै अप्ठ्यारो परेको समयमा ती कोषहरूबाट पनि हामीले रकमहरू व्यवस्थापन गरेर निराकरणका कामहरू गर्न सक्छौँ ।
सरकारको स्वास्थ्य बीमाको कार्यक्रमको अवस्था के छ ?
स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी कार्यक्रम नै हो । हाम्रोमा त्यति धेरै मात्रामा हुन चाहिँ सकेको छैन । तर जम्मा जनसङ्ख्याको ३० प्रतिशतले चाहिँ स्वास्थ्य बीमा कार्यक्रममा सहभागिता जनाइसक्नुभएको छ । पालिकाले पुरै निःशुल्क रूपमा स्वास्थ्य बीमा कार्यक्रम लागू गराउन चाहिँ सकिरहेको अवस्था छैन । यसलाई थप प्रभावकारी बनाउन के–के गर्न सकिन्छ भनेर चाहिँ हामीले विचार गरिरहेका छौँ । यसमा थप गृहकार्य गरेर काम गर्नुपर्नेछ । आगामी वर्षहरूमा हामी स्वास्थ्य बीमा कार्यक्रमलाई थप नयाँ रणनीति नै बनाएर कामहरू गर्ने तयारी गरिरहेका छौँ ।
आगामी कार्ययोजना के–के बनाउनु भएको छ ?
नयाँ आर्थिक वर्षको लागि अब बजेटीङको काम गर्नुपर्नेछ । यसको लागि केही तयारीहरु पनि गरिरहेका छौँ । महिलासँग सम्बन्धित समस्या, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, कुपोषण, नसर्ने रोगहरूका सम्बन्धमा कार्यक्रमहरू गर्ने तयारी गरिरहेका छौँ । हामीले गरिरहेको कार्यक्रमहरूलाई अझ थप प्रभावकारी रूपमा सञ्चालन गर्ने गरी तयारी गर्नेछौँ । चालु आर्थिक बर्षमा हामीले धेरै कामहरु गर्न सकेनौं । नयाँ योजनाहरु पनि सम्पन्न गर्न सकिएन । त्यसकारण आगामी आर्थिक बर्षमा यो बर्ष गर्ने भनिएका कामहरुलाई निरन्तरता दिने हाम्रो योजना रहेको छ ।