चालु आर्थिक वर्षको लागि भनेर बनाइएको योजनाहरु के के छन् ? बजेट कति छ ? कतिवटा कार्यक्रम सम्पन्न भयो ?
गत असोजमा गएको बाढी पहिरो पछिको अवस्थाले गर्दा हामीले चालु आर्थिक वर्षमा गर्ने भनेर बनाएको पालिकास्तरीय र वडास्तरिय योजनाहरू सम्पन्न हुन सकेन । त्यसपछिको अवस्थाले गर्दा नै विकास निर्माणका कामहरू ठप्प भए । भौतिक विकासका क्षेत्रमा नै धेरै आवश्यकता देखिएकाले हामीले त्यसमा नै बढी केन्द्रित भएर कामहरू गरिरहेका थियौँ । त्यसपछि हामीले ठूला योजनाहरू खासै सम्पन्न गर्न सकेनौँ । अहिले बल्ल पुरानो गतिमा फर्कने अवस्था देखिएकाले धेरथोर कामहरु गर्न सुरुवात गरिरहेका छौँ । गत असोजमा गएको बाढी पहिरोले भौतिक कुराहरुमा निकै क्षति पु¥याएकोले हामी त्यसलाई नै मर्मत संमारमा जुटेका छौँ । विशेषगरी सडक, बिजुलीबत्ती, खानेपानी, सिँचाई लगायतका क्षेत्रमा केन्द्रित भएर काम गरिरहेका छौँ । योसँगै शिक्षा, स्वास्थ्य, कृषि, महिला, बालबालिकाका क्षेत्रमा पनि काम गरिरहेका छौँ ।
सडक र खानेपानीको क्षेत्रमा के छ प्रगती ? योजना के–के बनाउनुभएको छ ?
पनौती खोपासी सडकलाई हामीले मुख्य प्राथमिकतामा राखेका थियौँ । यसको लागि जम्मा ४ करोड हाराहारीमा बजेट रहेको थियो । करिब ६ सय मिटरको उक्त सडकको काम सम्पन्न भइसकेको छ । यसैको लागि अर्को १० करोडको टेन्डरको काम पनि सम्पन्न हुने चरणमा छ । यो सडकको लागि गतवर्ष वैशाख १६ गते म आफैँ अनसन बसेको थिएँ । अहिले त्यो सडकको काम सम्पन्न हुने चरणमा रहेको छ । सिँचाइ र खानेपानीको अवस्था राम्रै रहेको छ । खानेपानीको लागि चाहिँ बेथानचोकको ४ नम्बर वडाको एक मुहानबाट ल्याएर परिपूर्ति गरिरहेका थियौँ । यसरी खानेपानी खपत गरेको निकै लामो समय भइसकेको थियो । तर गत असोजमा गएको बाढी पहिरोले उक्त खानेपानीको पाईपलाईन सबै तहस नहस बनायो । अहिले हामीले तत्कालीन अवस्थालाई मध्यनजर गर्दै अस्थायी रुपमा नै पानीको व्यवस्थापन गर्दै आएका छौँ । तर बर्खाको समय सुरु भयो । पाईपलाइन पूर्ण रुपमा व्यवस्थापन गर्न बाँकी रहेकाले समस्यामा पार्छ की भन्ने लागेको छ । त्यसैले यसको लागि अहिले धमाधम काम भइरहेको छ ।
चालु आर्थिक बर्षमा वडा भित्र ठुला योजना कति वटा छ ?
ठूला कार्यक्रमहरू खासै छैनन् । खानेपानी, सिंचाई, बिजुली र सडकको काम द्रुत गतिमा सञ्चालन भइरहेको छ । त्यो बाहे साना कार्यक्रमहरू जस्तैः शाखा बाटो पक्कि रुपमा निर्माण गर्न सकिएको छैन । हाम्रो आगामी लक्ष्य भनेको भित्री शाखा बाटोहरूको निर्माण कार्य अगाडि बढाउने हो । यो कामको लागि सङ्घ सरकार र प्रदेश सरकारले विनियोजन गरेको बजेट र हाम्रो आन्तरिक स्रोतबाट कति बजेट सङ्कलन हुन्छ त्यसको आधारमा योजनाहरू बन्छन् । त्यसपश्चात् नगरसभामा लगेर पास गर्नुपर्छ । चालु आर्थिक बर्षमा त बाढी पहिरोको कारण नै पनि गर्ने भनिएका योजना समेत सम्पन्न हुन सकेन । तर आगामी बर्षहरुमा हामी जतिसक्दो धेरै योजनाहरु सम्पन्न गर्ने छौँ । हाम्रो यस १० नम्बर वडामा चालु आर्थिक वर्षमा ठूला कार्यक्रमहरू सञ्चालन हुने छैनन् । धेरै विकास निर्माणका कामहरू सम्पन्न भइसकेका र बाढी पहिरोपछीको अवस्थाले गर्दा ठुला विशेष योजनाहरू चालु आर्थिक वर्षका लागि बनाएका छैनौं । हाम्रो पनौती नगरपालिकामा भएका वडाहरु मध्ये विकास निर्माणका काममा अबल वडा मध्ये हाम्रो वडा पनि रहेको छ । यी कुराहरूको मूल्याङ्कन र रेकर्डहरु नगरपालिकाको तथ्याङ्कमा हेर्न सकिन्छ । हाम्रो यस वडा भौगोलिक हिसाबले पनि राम्रो भूभाग हो । अरु वडाको तुलनामा हाम्रो वडामा बाढी पहिरोले निकै कम क्षति भएको छ । बेथानचोक गाउँपालिकासँग जोडिएको ठाउँ पार्टीखर्कमा चाहीँ क्षति भयो । त्यसपछीको अवस्थामा खोपासीको बाटोहरू क्रमश टेन्डरमा गइरहेको छन् ।अब त्यो बाटोहरू आगामी वर्षसम्म तयार हुन्छन् । अहिलेलाई वडामा स–सानो लगभग ५ देखि १० लाखसम्म पर्ने भित्री शाखाबाटोहरू निर्माण गर्ने र सिँचाइ खानेपानीका पाइपहरू किन्ने र मर्मत गर्ने बाहेक अरु ठुला समस्या हाम्रो वडामा छैन ।
लक्षित समुदायको लागि कार्यक्रमहरू पछिल्लो समय खासै भएनन् भन्ने गुनासो पनि आउँछ नि ! तपाईंको वडामा अवस्था के छ ? यस्ता गुनासोहरू आउन नदिनको लागि तपाईंहरूको तर्फबाट भइरहेको प्रयास के छ ?
हामीले लक्षित समुदायका कार्यक्रम भनेर विभिन्न शिर्षकमा कार्यक्रमहरू गर्नेगरेका छौँ । तर यी कार्यक्रमहरुमा हाम्रो वडाका नागरिकहरुको राम्रो सहभागिता हुँदैन । वडाको सबैभन्दा दुःखलाग्दो कुरा के छ भने यहाँका नागरिकहरूले यस्ता तालिमहरू र रोजगारहरूमा न्यून मात्रामा चासो र सहभागिता देखाउने गरेका छन् । हाम्रो वडामा प्रधानमन्त्री रोजगार भनेर एउटा कार्यक्रम आएको थियो । त्यस कार्यक्रममा लगभग १ सय ४३ जनाले निवेदन दिनुभएको थियो । तर तीनजना पनि मुस्किलले आउनुभयो । हामीले साधारण कामबाट नै आर्थिक लाभ होस् भनेर प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत नागरिक सहभागिता गराउन प्रयास गरेका थियौँ । यो कार्यक्रममा कुलो सरसफाई गर्ने जस्ता सामान्य कामहरु समाबेश थिए । हामीले यो कार्यक्रमको लागि प्रशस्त मात्रामा खबरहरू गरेका थियौँ । यसलाई हामीसँग कार्यक्रम थियो, कार्यक्रमको लागि बजेट पनि थियो । हाम्रो वडाका अधिकांस नागरिक आर्थिक रुपमा सक्षम नै हुनुहुन्छ । हाम्रो वडा कृषिमा निकै राम्रो सम्भावना भएको वडा हो । आलु उत्पादन, धान र तरकारी उत्पादन गरेर पनि आर्थिक लाभ लिईरहनुभएको छ । धेरै वैदेशिक रोजगारमा जानुभएको छ । तर यही बसेर केही गर्छ भन्नेहरुका लागि हामीले वडामा सिलाई बुनाई जस्ता कार्यक्रमहरू सहभागि गराएका छौँ । यस्ता कार्यक्रमहरूले महिला दिदीबहिनीहरूलाई धेरै सहयोग पनि गरेको छ । तर प्राय महिला दिदीबहिनीहरुको सहभागिता न्यून मात्रामा हुन्छ ।
कृषि विकासको लागि तपाईँहरूले के कस्तो प्रयास गरिरहनुभएको छ ? कृषिमा आधुनिककरण, यान्त्रिकरण र व्यवसायिकरणलाई कतिको जोड दिनुभएको छ ?
कृषिको लागि भनेर हामीले गत साता मात्र सिङ्गो वडाभरि नै पशु बीमा गरायौ । हाम्रो वडामा २८ वटा टोल छन् । जसमा हामीले २८ वटा टोलमा २८ वटै कृषि समूह बनाउने भनेर कार्यक्रम सञ्चालन गर्न लागेका थियौँ । उक्त समूहमा किसानहरूले नै न्यून सहभागिता र चासो देखाउनुभयो । यदि उक्त कृषि समूह सञ्चालन भएको भए हामीले किसानहरूको लागि अझैँ राम्रा अनि धेरै अनुदान र सहयोगहरुका कार्यक्रम गर्न सक्थ्यौ ।
स्वास्थ्यको लागि पनि विशेष कार्यक्रमहरू केही गरिरहनु भएको छ त ?
पनौती नगरअस्पताल हाम्रै वडाको खोपासीमा बन्न लागेका थियो । उक्त अस्पताल भारत सरकारको अनुदानमा लगभग ९ करोडको हाराहारीमा बन्न लागेको छ । उक्त नगरअस्पताल निर्माणका लागि धेरै समस्याहरू आइरहेका छन् । यस्ता समस्याहरू स्वास्थ्य मन्त्रालयले हेर्नुपर्ने हो । उक्त अस्पतालका लागि औजारहरू र डाक्टरहरूको लागि दरबन्दी व्यवस्था भएको छैन । बिल्डिङमा घाँसहरू उम्रिन थालिसकेको छ । यो समस्याका बारेमा हामीले नगर प्रमुखसँग पनि धेरैपटक भनिसक्यौँ । मैले प्रदेशको स्वास्थ्यमन्त्रीसँग गएर पनि यी कुरा राखेको थिएँ । उहाँले यस समस्यालाई हल गर्छु भन्नुभएको थियो तर अहिलेसम्म पनि यस समस्याको हल भइसकेको छैन । अबको हाम्रो प्राथमिकता भनेको यस नगर अस्पताललाई चाँडोभन्दा चाँडो सञ्चालन गर्ने हो । बाँकी नियमित सेवाहरुलाई निरन्तरता दिने काम त भईनै रहेको छ ।
तपाईको वडा बालमैत्री घोषित छ । यसको दिगोपना र निरन्तरताको लागि के कस्ता क्रियाकलाप संचालन गरिरहनुभएको छ ?
यो कामका लागि हाम्रो वडामा एउटा सहजकर्ता राखिएको छ । उहाँ मार्फत नै हामी अबको दिनमा भइरहेको कामलाई अझ सक्रियपूर्ण ढङ्गबाट अगाडि बढाउदै बालमैत्रीको कामलाई दिगो रूपमा अगाडि बढाउनेछौँ । यसमा आवश्यक परेको खण्डमा थप अरु कार्यहरू पनि गर्दै जानेछौँ ।
शैक्षिक विकासको लागि तपाईंको वडामा भइरहेका कामहरू के–के छन् ?
गत साता मात्र पनि हामीले शिक्षकहरूलाई बालबालिकाहरूको घ–घरमा पठाएर तीन वर्षदेखि १६ वर्षसम्मका विद्यालय नजाने बालबालिकाहरु खोजी गरेका थियौँ । यो क्रममा हामीले जम्मा दुईजना भेटेका छौँ । उहाँहरू दुईजनालाई पनि विद्यालय लेराउनुपर्छ भनेर हामीले प्रयास गरिरहेका छौँ । शिक्षक आन्दोलनले पनि शैक्षिक क्षेत्रमा केही असर परेको छ । सरकारसँग उहाँहरूको भएको सहमतिपछि अब पहिलेकै गतिमा फर्किन्छौं र नयाँ तवरबाट शैक्षिक गतिविधिलाई अगाडि बढाउछौँ । विद्यालयका भौतिक कुराहरूमा हामीले सकेसम्म सुधार गर्दै अगाडि बढिरहेका छौँ । समग्रमा शिक्षा क्षेत्रमा पनि हामीले सकेका कामहरु गरिरहेका छौँ ।
योजनाहरू सम्पन्न गर्नको लागि वडागत रुपमा के कस्ता समस्याहरु देखिरहेका छन् ? तिनको समस्या कसरी गरिरहनुभएको छ ?
सामान्य खालका समस्याहरू त आइरहेका हुन्छन् । विशेषगरी सडकहरू फराकिलो बनाउने क्रममा वा पक्की बनाउने क्रममा दायाँबायाँका केही जमिनहरू मासिन्छ । जसले गर्दा सानातिना किचलो पर्छ र योजना सम्पन्न हुन नै गाह्रो हुन्छ । तर हामीले वार्तामा नै ती कुराहरूलाई समाधान गरेका छौँ । अहिलेसम्म समाधान नै गर्न नसक्ने स्थिति भने आइसकेको छैन ।
योजना अनुगमनको कामले कतिको प्राथमिकता पाउने गरेको छ ?
हामी नजिकै भएको हिसाबले पनि वडाभित्र सम्पन्न हुने सबै कामहरूको रेखदेख गरिरहेका हुन्छौँ । अनुगमनको पाटोलाई अबल रुपमै अगाडि बढाइरहेका छौँ । बेलाबखतमा नगरपालिकाको टिम पनि आएर अनुगमन गरिरहेको हुन्छ । त्यसमाथि वडाका नागरिकहरू नै पनि जागरुक भएर हेरिरहनुभएको हुन्छ । हामी वडा सरकार भएको नाताले पनि अनुगमन त गरिनै रहेका हुन्छौ । यसले गर्दा पनि योजना सम्पन्न हुने क्रममा आइपर्ने विभिन्न समस्याहरुलाई समाधान गर्न वा आवश्यक परेको सल्लाह सुझाव दिईरहने हुँदा सहज भएको छ ।
वडाले गर्ने कामहरु कत्तिको पारदर्शी छन् ?
वडाले गर्ने कामहरू सबै पारदर्शी छ । सूचनाहरू हामी निकालेकै हुन्छौँ । सूचना बोर्डमै पनि राखिएको हुन्छ । आएका बजेटहरूलाई हामी मार्फत नै सम्पन्न गर्छौ । नागरिकहरूबाट नै आएका गुनासोहरूलाई सम्बोधन गर्ने हो । उहाँहरूको मागअनुसार नै कार्यक्रम भइरहेको हुन्छ । कर्मचारीहरू पनि सक्षम हुनुहुन्छ । त्यसकारणले पनि गरिएको कामहरू सबैमा पारदर्शिता नै झल्किएको पाउन सक्नुहुन्छ ।