यो सालका लागि बेथाानचोक गाउँपालिकाको मुख्य योजना अघि सार्नु भएको छ ? बजेटको अवस्था के छ ?
यो भन्दा अगाडिको कार्यक्रम त हामीले समयमा नै असार १० गते पेश गरेर असार ३० गतेसम्म पास गरेका हौँ । सोही अनुसार क्रमश कार्यक्रमहरू चलिरहेका थिए । तर गत असोजमा गएको बाढी पहिरोले गर्दा हाम्रा सबै कार्यक्रमहरूमा बाधा पुग्यो । बाढी पहिरोले निकै क्षति पु¥याएको थियो । हाम्रो गाउँपालिका सङ्कटग्रस्त गाउँपालिका भनेर घोषणा नै भयो । त्यो बेलासम्म हाम्रोमा ११ वटा ठेक्कामा जाने योजना गइसकेका थिए । तर ती सबै ठेक्का हामीले रद्द गर्नु प¥यो । विशेष गाउँसभाबाट निर्णय गरी त्यो रकमबाट तत्कालै गर्नुपर्ने कामहरूलाई प्राथमिकता दियौं । विशेषगरी सडक, खानेपानी जस्ता अत्यावश्यक कुराहरूलाई फोकस गरियो । क्षति पुगेका संरचनाहरूको पुननिर्माणको कामलाई निरन्तरता दिंदै आउका छौं । गाउँपालिकाको जति पनि समपूरक र विशेष योजनाहरू थिए, ती योजनाहरूको पुनः ठेक्का लगाएर द्रुत गतिमा काम भइरहेको छ । चालु आर्थिक वर्षको जम्मा बजेट ६३ करोड हो । प्रत्येक वर्ष पाँच किलोमिटर सडक पक्की बनाउने गाउँपालिकाको महत्वकाक्षी योजना थियो । त्यो कार्यक्रमलाई हामीले निरन्तरता दिएका छौँ । अहिले पनि गेलुङदेखदेखि गुवाभन्ज्याङसम्म पिच गर्ने काम भैरहेको छ । अर्को गेलुङदेखि वडा नम्बर ३ को कार्यालयसम्म कालोपत्रे गर्ने काम भइरहेको छ । प्रदेश सरकारसँगको समन्वय र सहकार्यमा यो काम अगाडि बढिरहेको छ । समपुरक र विशेष योजनाहरू जम्मा ९ वटाको लागि ठेक्कामा गएर कार्यान्वयन पनि भइरहेको छ । बाढी पहिरो जानुअघि नै एउटा ठेक्कामा गएको योजना जुन १० करोड बराबरको थियो । अहिले पनि त्यो कार्यान्वयनमा रहेको छ । यसको काम करिब ३० प्रतिशत जति सम्पन्न पनि भइसकेको छ ।
शिक्षाका लागि के के गर्नु भयो ? जस्तो आधारभूत शिक्षा, माध्यमिक शिक्षाका लागि के गर्नुभएको छ ?
अध्यक्षसँग घुम्ती शिक्षा कार्यक्रम भनेर राखेका छौँ । यो नयाँ कार्यक्रम हो । यसमा अतिरिक्त विषयहरू समावेश छन् । जस्तै नृत्य कक्षा, गायन, संगीत, योगा लगायत समावेश छन् । हाम्रोमा भएका ३० वटा विद्यालयहरूले गर्नुभएको मागअनुसार नै यस्ता विषयहरूलाई समावेश गराएका छौँ । शिक्षकहरूलाई हामीले तालिमहरू पनि प्रदान गर्छौं । गाउँपालिका आफैंले परीक्षाहरू सञ्चालन गर्छ । हामीले शैक्षिक क्यालेन्डरहरू आफै बनाउँछौं । भित्रका विद्यालयहरूमा हुने शैक्षिक क्रियाकलाप गतिविधिहरुलाई त्यसमा समावेश गरेका हुन्छौं । छुट्टै पाठ्यक्रम पनि निर्माण भइसकेको छ । निकट भविष्यमा स्थानीय पाठ्यक्रम पनि लागू गराउँदैछौँ । क्यालेण्डरलाई हामीले स्ट्रिक्टली फलोअप पनि गरिरहेका छौँ ।
आधारभुत स्वास्थसेवा आफ्नो पालिका भित्र २४ सै घन्टा प्राप्त गर्न सक्ने वातावरण निर्माण भएको छ ? एम्बुलेन्स सेवा संचालन भएको छ ।
बेथानचोकवासीले २४ घण्टा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने वातावरण तय गरेका छौँ । हाम्रोमा बर्थिङ सेन्टरहरू छ । यसैगरी एम्बुलेन्स सेवालाई पनि दिइरहेका छौँ । स्वास्थ्य चौकीबाट रिफर भएर आएका गर्भवती जसको आर्थिक अवस्था कमजोर छ, उहाँहरूलाई निःशुल्क एम्बुलेन्स सेवा दिने भनेर कार्यविधि बनाईरहेका छौँ । हामी यसको अन्तिम अन्तिम चरणमा आइसकेका छौँ । स्वास्थ्यको क्षेत्रमा हामीले सम्भव भएसम्म र बजेटले भ्याएसम्म कार्यक्रमहरू गरिरहेका छौँ । संवेदनशील विषय भएकाले पनि यसलाई हामीले विशेष केन्द्रित गरेर नै काम गरिरहेका छौँ ।
पालिकाहरूमा बेरुजुको मात्रा बचाउनको लागि प्रयास गरिएको छ कि छैन ?
बेरुजुको मात्रा अलिकति बढेको पनि छ । यसो हुनुमा गाउँपालिकाले गरेका क्रियाकलापहरुले मात्रै भन्न पनि मिल्दैन । प्रदेशबाट आएको समपूरक विशेष अनुदानका कार्यक्रमहरू हामीले समयमा नै सम्पन्न गर्न नसकेको कारणले पनि बेरुजु देखिएको हुन्छ । यसलाई हामीले कार्यपालिकामा राखेर लेखा समिति मार्फत समपरीक्षणको लागि महालेखा परीक्षणको कार्यलाई पठाइसकेका छौँ । यसलाई पनि हामी बिस्तारै कम गर्दै जानेछौँ ।
न्यायिक समितिबाट भएको मिलापत्र तथा निर्णय सम्बन्धी मिसिल संरक्षण गर्ने काम कत्तिको प्रभावकारी रुपमा संचालन भइरहेको छ ?
मेलमिलाप समितिको लागि हामीले हरेक वर्ष रिफ्रेसमेन्टको तालिमहरु दिँदै आएका छौँ । अदालती प्रक्रिया जसरी नै संक्षिप्त कार्यविधिसहित न्यायिक समितिको कामहरू हुँदै आएको छ । मेलमिलाप सहजकर्ताहरु पनि हुनुहुन्छ । न्यायिक समितिबाट भएको मिलापत्र तथा निर्णय सम्बन्धी मिसिल संरक्षण गर्ने काम प्रभावकारी रुपमा नै संचालन भइरहेको छ ।
कृषिलाई आधुनिकिकरण, यान्त्रिकिकरण, व्यावसायिकरण र बजारीकरण गर्ने कार्यक्रम ल्याउनु भएको छ ?
छ । कृषि र पशुपालनको क्षेत्रमा हामीले निकै राम्रा कामहरू गर्दै आएका छौँ । बेथानचोक गाउँपालिका कृषिको लागि राम्रो सम्भावना भएको क्षेत्र पनि हो । पशुपालनमा निःशुल्क गर्भाधारणको कार्यक्रमहरू गरिरहेका छौँ । पशु प्राविधिकहरू किसानहरूले बोलाएको ठाउँमा नै गएर यस कार्यक्रमलाई प्रभावकारी बनाउन लागिपर्नु भएको छ । हामीले प्राविधिकहरूको लागि तालिम पनि व्यवस्था गरेका छौँ । यसै हप्ता सात दिने तालिम सुरु भइसकेको पनि छ । कृषिमा आधुनिककरण, यान्त्रीकरण र व्यावसायकरण हुनेगरी हामीले विभिन्न योजनाहरू बनाउँदै आएका छौँ । यसपालि हामी च्याफ कटर अनुदानमा पनि दिँदैछौँ । दुग्ध उत्पादन गर्ने किसानहरूको लागि प्रदेश सरकारबाट २६ लाख रुपैयाँ बजेट पनि आएको छ । यसका लागि अहिले हामीले तथ्याङ्क सङ्कलनको काम गरिरहेका छौँ । कृषिलाई बजारसँग जोड्नको लागि हामीले ब्याज अनुदान सम्बन्धी कार्यक्रम लिएर आएका छौँ । ५ प्रतिशत गाउँपालिकाले र किसानले ४ प्रतिशत बेहोर्ने गरि ब्याज अनुदानको कार्यविधि ल्याएका छौँ ।
महिला, दलित, अल्पसंख्यक र पछाडि पारिएका वर्गका लागि के के कार्यक्रमहरु छन् ?
हामीले लक्षित समुदायको कार्यक्रमहरू पनि समेट्दै आएका छौँ । चालु आर्थिक वर्षमा विपदले गर्दा बेथानचोक गाउँपालिका संकटग्रस्त क्षेत्र नै घोषणा भयो । यस कारण लक्षित समुदायको केही बजेटहरू काटिएको अवस्था छ । लक्षित समुदायको मात्र होइन अरु क्षेत्रको लागि भनेर विनियोजन भएका बजेटहरु पनि कटौती गर्नुपर्ने बाध्यता रह्यो । वडास्तरीय वा गाउँपालिका स्तरीय कार्यक्रम गर्न नसकेपनि हामीले प्रदेश सरकारबाट आएको महिला, बालबालिका, अपाङ्गता भएका नागरिक, जनजातिका क्षेत्रमा कार्यक्रम गर्दै आएका छौँ । उदाहरणको लागि राम्रो प्रभाव परेको गृहिणी महिला सशक्तिकरण कार्यक्रम रहेको छ । महिला स्वरोजगारका कार्यक्रमहरू छन् । पछाडि पारिएका वर्ग क्षेत्रहरूलाई समेट्नको लागि भनेर हामीले लोकसेवा परीक्षा तयारीका कक्षाहरू चलाएका थियौं । जुन पालिका स्तरमै भएको थियो । अनलाइनमार्फत अहिले पनि यी कक्षाहरू सञ्चालन भइरहेका छन् । लक्षित समुदायका जो गर्छु भनेर दृढ अठोट लिनुभएको छ, उहाँहरूको लागि यस्ता खालका कार्यक्रम राम्रो अवसर हुन सक्छ । हामीले विभिन्न सिपमुलक तालिमहरू पनि सञ्चालन गरिरहेका हुन्छौँ । अनुदानका कार्यक्रम ल्याइरहेका हुन्छौँ । कार्यक्रमहरू सकभर गरिरहेकै छौँ ।
कार्यालयबाट सम्पादन हुने सबै कामहरुको नागरिक बडापत्र तयार गरि सबैले देख्ने ठाउँमा राखी त्यस बमोजिम अनुसरण भएका छन ? छैनन् भने कहिलेबाट गर्नुहुन्छ ?
नागरिक बडापत्र छ तर हामीले यसमा केही थप बजेट विनियोजन नै गरेर डिजिटल रुपमा नै जाने कि भनेर पनि तयारी गरिरहेका छौँ । चालु आर्थिक वर्षमा हामीले यो काम गर्न सकेनौं तर आगामी आर्थिक वर्षमो यसलाई पनि समेट्ने तयारी गरिरहेका छौँ । डिजिटल वडापत्र गाउँपालिकामा मात्र नभएर सबै वडाहरूमा नै व्यवस्था गर्ने पालिकाको तयारी छ ।
पालिकाको वेबसाईट निर्माण गरि पारदर्शी र प्रबिधि युक्त छ ? छैन भने के ले रोकेको हो ?
हामीले सूचना तथा प्रविधिको भरपुक उपयोग गरिरहेका छौँ । जस्तो योजनाहरू कार्यान्वयन गराउने बेला पनि ठेक्का लगाउने कुरामा नै होस् गाउँपालिकाले एबिडी मार्फत सूचना प्रविधिको प्रयोग गरी काम गरेको छ । गाउँपालिका भित्रका आर्थिक कारोबारका विभिन्न गतिविधि पनि सूचना प्रविधिको प्रयोगमा भइरहेको छ । सूचना प्रविधिकै प्रयोग मार्फत विभिन्न परियोजनाहरु पनि सम्पन्न गरिरहेका हुन्छौँ । समग्र राजस्व प्रणाली पनि सूचना प्रविधिमा नै आधारित छ । वेबसाइटलाई चुस्त रुपमा सञ्चालन गरिरहेका छौँ । बेथानचोक गाउँपालिकाको सम्पुर्ण गतिविधिहरु वेवसाइटमा अत्यावधिक हुने गरेको छ ।
कहिलेकाँही अनियमितताका कुरा आउँछन् भ्रष्टाचारमा शून्य सहनसिलता अपनाइएको छ ? नतिजा कस्ता आएका छन् ?
जति पनि हाम्रो कारोबारहरू छन्, त्यो सम्बन्धित पार्टीकै खातामा जान्छ । पछिल्लो समय हामीले चेक पनि प्रयोग गर्दैनौँ । इएफटी (इलेक्ट्रिक फन्ड ट्रान्सफर) मार्फत सञ्चालन गरिरहेका छौँ । चार/पाँच हजारको मात्रै कारोबार छ भने पनि हामी सम्बन्धित व्यक्तिकै खाता मार्फत गर्छौं । जति पनि राजस्वहरू सङ्कलन हुन्छ त्यो गाउँपालिकाको बैंकिङ च्यानल मार्फत हुन्छ । राजस्व सफ्टवेयर मार्फत नै अन्तरबद्ध भएर राजस्व संकलनको कामहरू हुन्छ । आज एक दिनमा उठेको राजस्व बेलुकासम्ममा कति भयो भनेर समग्र रुपमा सफ्टवेयरबाट नै हेर्न सकिन्छ । यसरी हामी सूचना प्रविधिमा आबद्ध भएर काम गरिरहेका छौँ । सार्वजनिक सुनुवाईका कुरा, विपद लगायतका परिस्थितिमा गरेका सम्पूर्ण गतिविधि बैठकहरू राखेर सूचीकृत गराउँछौँ । वडास्तरमा पनि यस्तै पारदर्शीतालाई अवलम्बन गरेका छौँ । हाम्रो प्रत्येक वडामा वडा विपत समिति छ । त्यो वडा विपद समितिले पास गरेपछि विपदसँग सम्बन्धित गतिविधिहरू हाम्रोमा आउँछ । त्यसपछि पालिकास्तरिय विपत समितिले पास गर्छ । त्यसपछि मात्र हामी भुक्तानी प्रक्रियामा जान्छौँ । हाम्रा पालिकामा हुने हरेक गतिविधिहरू हामीले यसरी नै पारदर्शी तवरले काम गर्ने गरेका छौँ ।