चालु आर्थिक वर्षको लागि भनेर बनाइएको योजनाहरुको पछिल्लो अवस्था के छ ? कति योजनाहरू सम्पन्न भयो ? कति बाँकी छ ? बजेट कति छ ?
चालु वर्षको लागि वडाकै बजेट जम्मा ३० लाख रुपैयाँ मात्रै थियो । यो बजेटबाट हामीले खानेपानी र सामान्य सडक ग्राभलको कामहरू गर्यौ । गत असोजमा गएको विपतिले गर्दा हामीले भनेजसो कामहरु खासै गर्न सकेनौँ । लगभग ३०÷३५ लाख बराबरकै रकम त हामीलाई बाटो सफा गर्नमा नै लाग्यो । यसमा वडाको जम्मा १० लाख रुपैयाँ खर्च भएको छ भने बाँकी नगरले सहयोग गर्यो । वडाकै मात्र बजेटको भर पर्ने हो भने त बजेट एकदमै न्यून रहेको अवस्था छ । तर हामीलाई माथिल्लो निकायबाट परेका कार्यक्रमहरुले निकै सहयोग गरेको छ । यसले गर्दा हामीले पूर्वाधारका क्षेत्रमा मात्र नभएर अरु सामाजिक क्षेत्रमा पनि काम गर्न थप टेवा पुगेको छ । शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, विपद लगायतका कार्यमा हामीले काम गरिरहेका छौँ । थप दुईवटा मन्दिरको लागि प्रदेश सरकारबाट केही रकम परेको छ । अरु त हामीले नियमित गरिरहेका कामहरु नै हुन् ।
वडमा सम्पन्न हुने वा भइरहेका ठुला योजना के–के छन् ? कतिवटा छन् ?
प्रदेश सरकारबाट हामीलाई बीपी राजमार्ग–चरुवा–भेडाबारी जाने बाटोको लागि ४ करोड ३१ लाखको विनियोजित बजेटबाट कालोपत्रेको काम भइरहेको छ । त्यसमा थप ६ करोड रुपैयाँ बजेट भौतिक तथा पूर्वाधार कार्यालयबाट आएको छ । यसको टेन्डर खुलिसकेको छ । यसैगरी सडक विभागको एक करोड रुपैयाँको ओझागाउँ बस्तीमा जाने सडकको ढलानको काम भइरहेको छ । संघ र प्रदेशकै बजेटबाट यि कार्यक्रमहरू सम्पन्न हुनेछ । यति ठूला कार्यक्रम गर्न हामीले माथिल्लो निकायहरुसँग नै सहयोग लिनुपर्ने हुन्छ । यसैगरी संघको यातायात मन्त्रालयबाट पनि एक करोड रुपैयाँ बजेट प्राप्त भएको छ । प्रदेश सहरी विकास केन्द्रबाट रिठ्ठेमा एउटा पार्कको लागि आएको ५० लाख बजेटबाट काम भइरहेको अवस्था छ । नमोबुद्ध नगरपालिका वडा नं ३ को दाहालचौरमा बिउभिजन भण्डारण केन्द्र स्थापनाको लागि ३ करोडको काम सम्पन्न भइसकेको छ । अब फेरि ७ करोडको ठेक्का लागेको छ । फोहोर रिसाइकलिङको लागि भनेर २१ करोडको टेन्डर लागिरहेको छ ।
गत असोजमा गएको बाढी पहिरोपछीको संरचनाहरु पूनःनिर्माणको कामले निरन्तरता पाएको छ ?
गत असोजमा गएको बाढी पहिरोले सडकलाई निकै क्षेतविक्षत नै बनाएको थियो । तत्कालको लागि हामीले सडक, बत्ती, खानेपानी, इन्टरनेट सञ्चालनको लागि भनेर अहोरात्र खटिएर काम गरेका थियौँ । जुन मेहनतले गर्दा केही दिन समस्या भयो तर त्यसपछिका दिनमा हामीलाई सहज पनि भयो । खानेपानीको लागि पनि अहिले ७०÷७५ लाखका योजनाहरू छन् । मैले मेरो व्यक्तिगत नेतृत्वमा र खर्चमा करिब ६ हजार जनालाई खाना, बस्न, यातायात र औषधि उपचारको कामहरू पनि गरे । अब फेरि बर्खा आउँदैछ । पहिलेको स्थितिमा भर्खरै सुधार हुँदै थियो । फेरि अवस्था पहिलेकै जस्तो हुँदैन भन्न सकिँदैन । त्यसकारण केही पर्यो भने नमोबुद्ध नगरपालिका वडा नम्बर ३ सधैँ हाजिर छ ।
नगरपालिका, प्रदेश र संघीय सरकार अथवा अन्य संघसंस्थाहरूसँग तपाईं वडाध्यक्ष भएको नाताले कार्यक्रमहरू सम्पन्न गर्न समन्वयात्मक भूमिका कत्तिको निर्वाह गरिराख्नु भएको छ ?
हामीले वडाकै बजेटको मात्र भरपर्ने भन्ने त हुँदैन । हामीले अरु निकायबाटै लिएर आउने हो कार्यक्रम र बजेटहरु । हामीलाई कार्यक्रमहरू आइरहेको पनि छ । नगरबाट त आफ्नै क्षेत्र भएको कारण कामहरु भइनै हाल्छ । त्यो बाहेक संघ र प्रदेश सरकारबाट पनि ठूला योजना सम्पन्न गर्नको लागि थप सहयोग मिलिरहेको छ । त्यसैगरी विभिन्न सङ्घसंस्थाले पनि सहयोग गरिरहेको हुन्छ । विशेषगरी विपदको समयमा हामीलाई बाहिर निस्किनको लागि तत्कालको घडीमा विभिन्न संस्थाहरुले निकै ठूलो सहयोग पुर्याएको छ । तत्कालीन अवस्थामा आवश्यक पर्ने विभिन्न खाद्यान्न लगायतका कुरामा सहयोग आइरहेको थियो । हालै मात्र पनि ५६ जनालाई समेट्ने गरी साबुन, बाल्टी, ब्याग, ब्ल्याङ्केट लगायतको सामान वितरण गरेका थियौँ । यसरी आउने तत्कालीन राहतका सामग्रीहरूले पनि विपदमा परेकाहरूलाई निकै ठूलो सहयोग हुने गर्दछ । यसलाई हामीले निरन्तरता दिनेछौं । विपतको बेलामा होस् चाहे अरु विकास निर्माणका काम गर्ने बेलामा हामीले अरु निकायहरुसँग राम्रो समन्वय र सहकार्य गरिरहेका छौँ । वडामा बजेट चाहिँ निकै न्यून हुने भएकाले सबै नागरिकहरूलाई हामीले सोचेजति प्रतिफल दिन सकेनौँ भन्ने चाहिँ लागिरहेको छ । बजेटकै कारण चाहेर पनि गर्न नसकिने रहेछ । पछिल्लो समय हामीले पुराना चौताराहरूलाई स्तरोन्नति गर्ने, सिडी हालेर भएपनि गोरेटो बाटोहरूको स्तर उन्नति गर्ने, पुराना हाम्रा पोखरीहरूलाई पहिलेकै अवस्थामा फर्काउने, पुराना काठका पुलहरू हटाएर नयाँ पुलहरू राखी तारहरू व्यवस्थित बनाउने र व्यवस्थित ढल हाल्ने लगायतका योजनाहरू छन् ।
कृषिको लागि तपाईँको वडामा चालु आर्थिक वर्षभित्र के कस्तो कार्यक्रम गर्दै हुनुहुन्छ ?
कृषिमा पनि हामीले विभिन्न औजार उपकरणहरू किसानहरूलाई अनुदानको रुपमा सहयोग गर्दै आएका छौँ । अनुदानमा हामीले आधा रकममै हामीले बेहोर्ने गरी काम गरिरहेका छौँ । किसानहरूलाई आवश्यक पर्ने प्राविधिक तालिमहरू पनि बेलाबखतमा सञ्चालन गरिरहेका हुन्छौँ । बीउविजन वितरणका कामहरू पनि गरिरहेका हुन्छौँ । यसैको लागि अहिले बिउभिजन भण्डारण केन्द्र पनि बन्न लागेको छ । यसले किसानहरूलाई ठूलो राहत दिनेछ भन्नेमा हामी विश्वस्त छौँ । कृषिमा हाम्रो वडा राम्रो सम्भावना बोकेको क्षेत्र छ । त्यसकारण कृषिलाई पछाडि पार्ने भन्ने त कुरा हुँदैन । कृषि क्षेत्रमा पनि गरिरहेकै छौँ । अहिले आलु पकेट क्षेत्रको कार्यक्रमहरू पनि चलिरहेको छ ।
बालमैत्री वडाको लागि के कस्ता कार्यक्रम अघि सारिएको छ ?
बालमैत्री वडा घोषणा गर्ने हामी चरणमा छौँ । बालमैत्री बनाउनेभन्दा पनि त्यसलाई दिगोपना दिन अलि गाह्रो हुन्छ । त्यसकारणले दिगो रुपमा नै कामहरु गर्नुपर्ने हुन्छ । यसको लागि हामी निरन्तर रुपमा लागिरहेका पनि छौँ । आगामी दुई वर्षभित्रमा नगरपालिकाभित्रका सबै वडाहरू बालमैत्री घोषणा हुने सम्भावना छ । त्यसकारण हामीले पनि हाम्रो वडामा सोही अनुसार नै काम गरिरहेका छौँ ।
योजनाहरूमा लक्षित समुदायको कार्यक्रमहरू पछिल्लो समय संम्बोधन भएको छैन भन्ने गुनासो पनि आउँछ नि ?
लक्षित समुदायको लागि हाम्रोमा राम्रै कामहरू भइरहेको छ । विभिन्न जातजाति, समुदायअनुसार नै हामीले कार्यक्रमहरु गरिरहेका छौँ । विशेषगरी उहाँहरूको माग र आवश्यकतालाई ध्यानमा राख्दै हाम्रा कार्यक्रमहरू अगाडि बढेका छन् । विशेषगरी हामीले उहाँहरुलाई आर्थिक उपार्जनका कार्यमा अबल बनाउनुपर्छ भनेर आयआर्जनसँग जोडिने कार्यक्रमहरुलाई केन्द्रित गरेका छौँ । जस्तै सिपमूलक तालिमहरु प्रदान गर्ने गरेको छौँ । यसमा सिलाई बुनाई, पार्लर, अचार बनाउने, साबुन बनाउने लगायतका तालिमहरु गरेका छौँ । यसैगरी बाजा बजाउने समुदायको लागि हामीले बाजाहरु पनि किनेर दिएका छौँ । विद्यालयसम्म पहुँच नपुगेकाहरूको लागि हामीले घरमा नै गएर उहाँहरुलाई निशुल्क शिक्षाबारे जानकारी गराउँदै विद्यालयसम्म उहाँहरुलाई पु¥याउने काम गरेका छौँ । जनचेतनामूलक कार्यक्रमहरू पनि गरिरहेका हुन्छौँ । त्यस्ता गुनासोहरु हाम्रोमा खासै छैनन् । कुनै गुनासो आयो भने पनि आवश्यकतालाई हेरेर हामी कार्यक्रमहरू तुरुन्तै अगाडि बढाउनेछौँ ।
स्वास्थ्यको क्षेत्रमा चाहिँ के के कार्यक्रम गर्दै हुनुहुन्छ ?
स्वास्थ्य शिविरहरू बेलाबखतमा हामीले सञ्चालन गरिरहेका हुन्छौँ । हरेक टोलटोलमा नै गएर स्वास्थ्य शिविरहरु सञ्चालन गर्छौ । स्वास्थ्यको क्षेत्र संबेदनशिल भएकाले सोहीअनुसार नै हामीले काम गरिरहेका छौँ । औषधी अभाव हुन दिएका छैनौं । स्वास्थ्यमा समस्या आउँदा समयमा नै उपचार पाउने व्यवस्था गरेका छौँ । पहिलेको तुलनामा सुधार पनि भएको छ । आगमी दिनमा पनि हामी यसलाई निरन्तरता दिने छौँ ।
शैक्षिक विकासकोे लागि वडागत पहलहरु के कस्तो छ ?
पछिल्लो समय हामीले गुणस्तरीय शिक्षालाई कसरी बढावा दिन सक्छौं भन्ने कुरामा अगाडि बढेका छौँ । हामीले शिक्षाको लागि वडास्तरबाट गर्न सक्ने पहल गरिरहेका छौँ भने नगरपालिकाको शिक्षा शाखाबाट पनि विभिन्न कार्यक्रमहरु भइरहेका छन् । विद्यालयको भवनहरू पनि नयाँ बनिसके । विभिन्न समयमा हुने शैक्षिक गतिविधि शिक्षाको गुणस्तर बढाउन थप सहयोग गर्नेमा हामी अपेक्षित छौँ । त्यसकारण बेलाबखतमा हामीले अतिरिक्त क्रियाकलापहरूलाई पनि केन्द्रित गरेर काम गरिरहेका छौँ ।
योजना अनुगमन निरन्तर रुपमा चलिरहेका छन् ?
छ । योजना अनुगमनको कामहरू त नियमित रुपमा भैरहन्छ । वडामा भित्र सम्पन्न हुने कार्यक्रमहरूको रेखदेख गर्ने हाम्रो जिम्मेवारी पनि हो । त्यसकारण नगरपालिकाबाटै सम्पन्न हुन लागेका प्रदेश र संघ सरकारबाट सम्पन्न हुन लागेका कार्यक्रमहरूको पनि हामीले नियमित अनुगमन गरिरहेका छौँ । नगरपालिकाको छुट्टै टोली आएर पनि अनुगमन गर्नुहुन्छ ।
योजनाहरू सम्पन्न गर्ने क्रममा के कस्तो समस्याहरू आइरहेको छ ? समाधान कसरी गरिरहनु भएको छ ?
खासै त्यस्ता ठूला कुनै समस्या छैनन् । सडक बढाउलाई केही समस्या छ । सडक दायाँबायाँमा केही घरहरु बनिसकेले अलि समस्या आइलाग्छ । पछिल्लो समय त्यो बाहेक अरु कुनै ठूलो समस्या छैन । भएपनि हामीले आपसी समझदारीमा सबैजनालाई भेला गराएर समस्याको समाधान गरेरै मात्र कार्यक्रमलाई अगाडि बढाएका छौँ ।