बालमैत्री वडा घोषणा गर्नको लागि सूचकहरु पुरा हुनुपर्छ, वडाले मात्र चाहेर वा घोषणा गर्नकै लागि घोषणा गर्न मिल्दैन


बालमैत्री वडा घोषणा गर्नको लागि सूचकहरु पुरा हुनुपर्छ, वडाले मात्र चाहेर वा घोषणा गर्नकै लागि घोषणा गर्न मिल्दैन

० केमा व्यस्त हुनुहुन्छ ? चालु आर्थिक बर्षको लागि भनेर बनाइएको योजनाहरु कति सम्पन्न भए ? कति बाँकी छ ?
चालु आर्थिक बर्षको हाम्रो वडाको बजेट भनेको ४० लाख रुपैँया हो । यही बजेट मार्फत हामीले अहिले काम गरिरहेका छौँ । चालु आर्थिक बर्षको योजनाहरु बर्खरै मात्र धमाधम सुरु भइरहेको छ । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लामो समयदेखी हुनुभएन । त्यसकारण पनि हामीलाई योजनाहरु संचालन गर्न समस्या भएको थियो । फेरी गत असोजमा गएको बाढी पहिरोको कारण पनि विभिन्न खालका समस्याहरु भए । टेन्डर सम्झौता भएर कामहरु बल्ला धमाधम सुरु भएको छ । अहिले हामी वडाबाट विनियोजन भएको बजेटका आधारमा कामहरू गरिरहेका छौँ । यसैगरी नगरपालिकाबाट विनियोजन भएको बजेटको पनि काम भइरहेको छ । संघ प्रदेशबाट आएको कार्यक्रमहरू पनि कार्यान्वयनको चरणमा रहेका छन् । तिनै योजना सम्पन्न गर्न हामी लागि परेका छौँ । अहिले त हामी बाँकी योजनाहरू सम्पन्न गर्नको लागि र विनियोजित बजेटहरू मार्फत गर्ने कामहरुका लागि नै व्यस्त छौँ । शिर्षकगत रुपमा केही योजनाहरु बनाएका छौँ । अहिले ति योजना सम्पन्न गर्ने कामहरुमा संचालनमा छ ।
० वडाले कस्ता योजनाहरुलाई प्राथमिकता दिने गरेको छ ?
आवश्यकता के मा छ भन्ने कुराले पनि भर पार्छ । अहिले हाम्रोमा सडक संजाल पक्कि बनाईहाल्नुपर्ने अवस्था छ । खानेपानीको लागिपनि उत्तिकै जोड दिनुपर्ने छ । जस्तो प्रदेश सरकारसँगको साझेदारीमा “फेदि – चण्डेनि – छाप – आपघारि” सडक को दोस्रो चरणको काम भैरहेको छ । बागमती प्रदेश सरकार र मण्डनदेउपुर नगरपालिकाको समपुरक बजेटबाट पिचको काम सुरु भएको हो । यो सडकले नगरपालिकाको वडा नम्बर १० र १२ को माथिल्लो क्षेत्रका स्थानीय आवातजावात गर्ने मुख्य सडक हो । अहिले हामीले यसलाई फोकस गरेर काम गरिरहेका छौँ । करिब ८÷१० दिन भित्रमा नै यो काम सम्पन्न हुने देखिएको छ । खानेपनीको कामलाई पनि निरन्तरता दिएका छौँ । आगामी आर्थिक वर्षको लागि अहिले योजना बन्ने प्रक्रियामा रहेको छ । आउने आर्थिक बर्षमा त विकास निर्माण, आर्थिक क्षेत्र, लक्षित समुदाय लगायत सबै क्षेत्रलाई नछुटाईकन गर्ने भनेर लागेक छौँ । यो क्षेत्रलाई मात्र गर्ने भनेर त्यसरी बजेट विनियोजन हुँदैन । हामी सकेसम्म सबै क्षेत्रलाई नछुटाइकन बजेट विनियोजन गर्छौं र त्यसैको आधारमा कार्यक्रम हुनेछ ।
० बालबालिका, महिला, अपाङ्गता भएका नागरिकको क्षेत्रमा वडाले कसरी काम गरिरहेको छ ?
हामीले विशेषत आय–आर्जनसँग सम्बन्धित कार्यक्रमहरू गरिरहेका छौँ । महिलाहरूको लागि सिपमूलक तालिम दिन सकियो भने उहाँहरुलाई आयआर्जनसँग जोड्न सकिन्छ भन्ने छ । यसमा हामीले नगरपालिकाबाट आयोजना हुने कार्यक्रमलाई पनि जोडेका छौँ । जस्तै सिलाई बुनाई, व्युटिपार्लरको तालिम सम्पन्न गरेका छौँ । कुनै तालिम एड्भान्स लेभल कै रहेको छन् । उहाँहरुलाई त्यसले जीविकोपार्जनमा सहज बनाउनेमा हामी अपेक्षित छौँ । त्यसकारण हामीले मेशिनरी औजारहरु सामानहरु पनि वितरण गरेका छौँ । कृषिलाई पनि जोडेर लक्षित समुदायका कार्यक्रमहरु लिएर आएका छौँ । प्लम्बिङको तालिमहरू पनि दिइरहेका छौँ । वडा स्तरबाट लक्षित कार्यक्रमहरु खासै धेरै छैन । नगरपालिकाबाट भने कार्यक्रमहरु भइरहेको छ । महिलाहरुको लागि विभिन्न खालको तालिमहरु दिइरहेका थियाँै । लक्षित समुदायको लागि क्षमता अभिबृद्धीको काम गर्ने भनेर योजना बनेको छ । गत बर्षहरुमा पनि हामीले यस्ता कार्यक्रम गरिरहेका थियौँ । यो बर्ष पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन लागेका छौँ । नगरपालिकाबाट उपमेयरज्युको नेतृत्वमा काम भइरहेको छ । नगरपालिकामा लक्षित समुदायका कार्यक्रमहरु पनि छ । जसमा हाम्रा वडाका नागरिकहरुले पनि सेवा लिइरहुनभएको छ । नगरपालिबाट बनेका योजनाहरु कार्यान्वयनको चरणमा रहेको छ । दलित समुदाय, महिला, अपाङ्गता भएका नागरिकहरुको लागि पनि कार्यक्रम बनेको छ । अपाङ्गता भएका नागरिकहरुको लागि सीपमूलक कार्यक्रम गर्न त विभिन्न संस्थाहरुसँग नै पनि समन्वय गरेर काम गर्ने तयारी छ ।
० वडामा कृषि केन्द्रित कार्यक्रम के कस्ता छन् ?
हाम्रो वडामा चालु आर्थिक बर्षको लागि बाख्रा पकेट कार्यक्रम भनेर राखेका छौँ । यसको लागि १० लाख बजेट रहेको छ । वडाको विपन्न क्षेत्र छानेर यो कार्यक्रम गर्दैछौँ । सिंचाईको कार्यक्रम पनि रहेको छ । बजेटहरू एकदमै कम भएको कारण कृषिको लागि हामीले त्यस्ता ठूला खालका केही योजना वडागत रूपमा गर्न सकेका छैनौं । यान्त्रिकरणको कार्यक्रमको लागि हामीलाई प्रदेश सरकारले सहयोग गरिरहेको छ । कृषिमा सिँचाइको योजनाहरु चलिरहेको छ । नगरपालिकाबाट पनि कृषि औजार वितरणको कार्यक्रम भइरहेको हुन्छ । बजेटहरू एकदमै थोरै भएको कारणले हामीले कृषिमा भने जसरी काम गर्न सकेका छैनौँ । हामीले वितरण हुने औजार उपकरणका कार्यक्रममा भने हाम्रा वडाका नागरिकहरुलाई सिफारिसको आधारमा सहभागी गराइरहेका छौँ । नगरपालिकाबाट अहिले धानको बीउ, प्लास्टिक पोखरी, प्लास्टिक टनेलाका कार्यक्रमहरू भइरहेको छ । पशु चौपायातर्फ भ्याक्सिनेसनको कार्यक्रमहरू भइरहेका छन् । पशु चौपायाहरुको लागि नाम्ले जुकाको औषधिहरू पनि किसानहरूलाई दिइरहेका छौँ । हाम्रो वडाको तल्लो भेगमा कृषिको लागि निकै राम्रो सम्भावना रहेको छ । सिंचाईको सुविधा पनि राम्रो छ । उहाँहरुले कृषिमा राम्रो आम्दानी पनि गरिरहनुभएको छ । कृषिको लागि नगरपालिकाले धेरै योजना बनाएको छ । फलफुलमा लागेका रोगहरु अन्त्य गर्नको लागि कृषि शाखा लागि परेको छ । किसानहरुलाई तरकारी बाली र फलफुल खेतीको लागि आवश्यक बगैंचा व्यवस्थान, रोग किरा नियन्त्रणको तालिमहरु चलिरहेको छ । हाम्रो वडामा यो तालिम सम्पन्न भयो । पशु स्वास्थ्य सम्बन्धि तालिम पनि फेरी सुरु हुँदैछ । यान्त्रिकरणको लागि कृषि ज्ञान केन्द्र मार्फत पनि कार्यक्रम भइरहेको छ । नगरपालिकाले पनि प्राविधिक सहयोग गरिरहेको छ ।
० तपाई वडा शिक्षा समितीको संयोजक पनि हुनुहुन्छ । त्यस कारण अरु कामसँगै शिक्षाको जिम्मेवारी पनि उत्तिकै छ । शिक्षामा के छ प्रगती ?
शिक्षाको लागि हामीले केही समय अगाडि मात्रै समीक्षा बैंठक बसेका थियौँ । अहिले भर्नादर घट्दो मात्रामा रहेको छ । शैक्षिक सत्रको वार्षिक परीक्षा सम्पन्नपछि नतिजा प्रकाशन भएको थियो र प्रकाशन भइसके पछाडि हामीले नतिजाको विषयमा छलफल गरेका थियौँ । सामुदायिक विद्यालयलाई गुणस्तरमा अबल बनाउनको लागि हामीले प्रयास गरिरहेका छौँ । त्यो विषयमा पनि छलफल भएको छ । दिवा खाजाको कुरालाई अझ कसरी प्रभावकारी बनाउने भनेर पनि हामीले छलफल गरिरहेका छौँ । भर्ना अभियानको काम लगभग सक्किएको छ । अब हुने हाम्रो वडा भेलामा शिक्षाको विषयमा पनि बृहत रुपमा छलफल गर्नेछौँ । र कसरी हाम्रो शैक्षिक गुणस्तरलाई अब्बल बनाउन सकिन्छ त्यो विषयमा पनि छलफल हुनेछ ।
० स्वास्थ्यको लागि कार्यक्रम के के बनेको छ ? योजना के छ ?
स्वास्थ्यको लागि भवन बनाउँदैछौ । यसको काम अन्तिम चरणमा पुगिसकेको छ । वडाबाट हामीले सामान्य स्वास्थ्य सेवाहरू त निरन्तर रुपमा प्रवाह गरिनैरहेका छौँ । नेपाल सरकारद्वारा निःशुल्क रुपमा प्रदान हुँदै आएका सबै खालका औषधिहरू नियमित रुपमा हामीले स्वास्थ्य संस्था मार्फत प्रदान गरिरहेका छौँ । त्यो बाहेक हामीले गाउँघर क्लिनिकहरू पनि चलाइरहेका छौँ । गाउँ घर क्लिनिक सञ्चालन भइरहँदाखेरी स्वास्थ्यकर्मीहरु गाउँघरमा पुगेर सुगर, प्रेसर चेक गर्ने र आवश्यक सल्लाह दिने काम गर्नुहुन्छ । अरु सेवा दिने कुरामा त हामी अबल नै रहेका छौँ । हामीलाई महिला स्वास्थ्य स्वयंसेविकाहरुले पनि सहयोग गरिरहनुभएको छ ।
० वडामा खानेपानीकोे अवस्था के छ ?
विपद्ले गर्दा केही समस्या भएको थियो । हामीले बजेट विनियोजन गरिसकेपछी विपद्को कारण विभिन्न समस्या हुन पुग्यो । मगर गाउँ र गैराथोकको खानेपानीको पम्प हाउस र वितरण लाईनमा क्षती पुगेको थियो । धाराको मोठ बनाउने चाहीँ योजना बनाएका छौँ । खानेपानीको लागि पनि हामीले कार्यक्रमहरू गरिरहेका छौँ । गत बर्षहरुमा पनि खानेपानीको लागि केही समय मुहानका कुराहरुमा विवाद आएको थियो । यसैगरी हाम्रो अर्को खानेपानीको काम भनेको झगडेडाँडाको र भाड्पोलको पुरानो खानेपानीका पाइपलाइनहरू मर्मत गर्ने काम भइरहेको छ । एक घर एक धारा अभियानलाई सम्पन्न गर्नतर्फ पनि हामी लागिरहेका छौँ । त्यसैगरी नगरपालिकाबाट पनि केही प्राविधिक समस्याहरु देखिएको कारणले उहाँ दर्ताका विषयहरूमा केही ढिलाई भएको थियो । चालु आर्थिक वर्षमा त्यो काम सम्पन्न हुनेछ ।
० बाँकी कार्याकालमा वडालाई लिएर तपाईको योजना के छ ?
हामीले धेरै योजना बनाउने भन्दा पनि सक्नेसम्मका कति गर्न सकिन्छ त्यही अनुसार योजना बनाएर काम गरिरहेका छौँ । त्यहाँ खानेपानीको माग अलि धेरै नै आउने भएकोले राम्रै भोलुममा गरेका छौँ । सडकको कामहरुलाई पनि निरन्तरता दिँदै जानेछु । नागरिकहरूबाट आएको माग हामीले देखेका समस्याहरु लगायतका कुरालाई ध्यानमा राखेर हामीले बजेटङ गर्नेछौँ र त्यही अनुसार योजनाहरू कार्यान्वयन गर्दै जानेछु । योजना सम्पन्न गर्ने भनेर मात्र पनि हुँदैन बजेटका कुराहरु पनि हुन्छन् त्यसलाई पनि ध्यानमा राख्नेछु । यहाँको आवश्यकता के कुरामा छ भन्ने कुराले पनि भर पार्छ ।
० विपद् व्यवस्थापनको लागि वडामा पूर्व तयारी स्वरुप केही व्यवस्थापन गरिएको छ ?
विपद्को लागि नगरस्तरिय कोषहरु रहेका छन् । ती मार्फत पनि कामहरु हुन्छ । योजनाहरु रहेको छ । वडा स्तरमा वडा स्तरिय समितीहरु रहेको छ । रेडक्रसले दिएको केही सामाग्रीहरु पनि त । तिनलाई अपडेट पनि गराउँदै जाने छाँै । बार्षिक रुपमा विपद्को लागि विभिन्न कार्यक्रमहरु पनि गर्ने गरेका छौँ । समितीहरुको क्षमता विकास गराउने कामहरु पनि गरेका छाँै । विपद्को लागि वडा स्तरमा बजेट नै विनियोजन गर्ने काम त भएको छैन तर नगरपालिकाम चाहीँ छ । विपद् व्यवस्थापनको लागि हामीले वडाका सबै नागरिककलाई सचेत बनाएर राख्नुपर्छ । विपद् कतिबेला कसरी आउँछ भन्न सकियो कुरा होईन त्यसकारण हामी सचेत भएर बस्न जरुरी छ ।
० बालमैत्री वडा घोषणाको तयारी के छ ?
बालमैत्री वडा घोषणा गर्नको लागि केही समय लाग्छ । धेरै सूचकहरु पुरा गर्नुपर्छ । घोषणा गर्नकै घोषणा गर्न त मिलेन । वडाले मात्र चाहेर पनि हुँदैन । नगरपालिका नै लाग्नुपर्छ यो विषयमा । हामीले विस्तारै तयारीका साथ लाग्नुपर्ने भएको तयारी हुँदै छ । सूचकहरु पुरा गर्न नगरस्तरदेखी यो विषयमा योजनाका साथ लाग्नुपर्ने छ । वडालाई पनि बालमैत्री र अपाङ्गमैत्री बनाउनुपर्ने छ । मैत्रीपूर्ण भवन बनाउनुपर्ने छ । विद्यालयहरुलाई पनि सुधार्नुपर्ने छ । बजेटको कुरा मात्र होईन ईच्छाशक्तिको कुरा पनि हो । सानोे सानो कुराले पनि सूचकलाई प्रभाव पर्छ । यसको लागि त अझ केही समय नै लाग्छ होला । हामीले हाम्रोतर्फबाट गर्ने कामहरु त गरिरहेका हुन्छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस