० केमा व्यस्त हुनुहुन्छ ? चालु आर्थिक बर्षको लागि भनेर बनाइएको योजनाहरु कति सम्पन्न भए ? कति बाँकी छ ?
चालु आर्थिक बर्षको हाम्रो वडाको बजेट भनेको ४० लाख रुपैँया हो । यही बजेट मार्फत हामीले अहिले काम गरिरहेका छौँ । चालु आर्थिक बर्षको योजनाहरु बर्खरै मात्र धमाधम सुरु भइरहेको छ । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लामो समयदेखी हुनुभएन । त्यसकारण पनि हामीलाई योजनाहरु संचालन गर्न समस्या भएको थियो । फेरी गत असोजमा गएको बाढी पहिरोको कारण पनि विभिन्न खालका समस्याहरु भए । टेन्डर सम्झौता भएर कामहरु बल्ला धमाधम सुरु भएको छ । अहिले हामी वडाबाट विनियोजन भएको बजेटका आधारमा कामहरू गरिरहेका छौँ । यसैगरी नगरपालिकाबाट विनियोजन भएको बजेटको पनि काम भइरहेको छ । संघ प्रदेशबाट आएको कार्यक्रमहरू पनि कार्यान्वयनको चरणमा रहेका छन् । तिनै योजना सम्पन्न गर्न हामी लागि परेका छौँ । अहिले त हामी बाँकी योजनाहरू सम्पन्न गर्नको लागि र विनियोजित बजेटहरू मार्फत गर्ने कामहरुका लागि नै व्यस्त छौँ । शिर्षकगत रुपमा केही योजनाहरु बनाएका छौँ । अहिले ति योजना सम्पन्न गर्ने कामहरुमा संचालनमा छ ।
० वडाले कस्ता योजनाहरुलाई प्राथमिकता दिने गरेको छ ?
आवश्यकता के मा छ भन्ने कुराले पनि भर पार्छ । अहिले हाम्रोमा सडक संजाल पक्कि बनाईहाल्नुपर्ने अवस्था छ । खानेपानीको लागिपनि उत्तिकै जोड दिनुपर्ने छ । जस्तो प्रदेश सरकारसँगको साझेदारीमा “फेदि – चण्डेनि – छाप – आपघारि” सडक को दोस्रो चरणको काम भैरहेको छ । बागमती प्रदेश सरकार र मण्डनदेउपुर नगरपालिकाको समपुरक बजेटबाट पिचको काम सुरु भएको हो । यो सडकले नगरपालिकाको वडा नम्बर १० र १२ को माथिल्लो क्षेत्रका स्थानीय आवातजावात गर्ने मुख्य सडक हो । अहिले हामीले यसलाई फोकस गरेर काम गरिरहेका छौँ । करिब ८÷१० दिन भित्रमा नै यो काम सम्पन्न हुने देखिएको छ । खानेपनीको कामलाई पनि निरन्तरता दिएका छौँ । आगामी आर्थिक वर्षको लागि अहिले योजना बन्ने प्रक्रियामा रहेको छ । आउने आर्थिक बर्षमा त विकास निर्माण, आर्थिक क्षेत्र, लक्षित समुदाय लगायत सबै क्षेत्रलाई नछुटाईकन गर्ने भनेर लागेक छौँ । यो क्षेत्रलाई मात्र गर्ने भनेर त्यसरी बजेट विनियोजन हुँदैन । हामी सकेसम्म सबै क्षेत्रलाई नछुटाइकन बजेट विनियोजन गर्छौं र त्यसैको आधारमा कार्यक्रम हुनेछ ।
० बालबालिका, महिला, अपाङ्गता भएका नागरिकको क्षेत्रमा वडाले कसरी काम गरिरहेको छ ?
हामीले विशेषत आय–आर्जनसँग सम्बन्धित कार्यक्रमहरू गरिरहेका छौँ । महिलाहरूको लागि सिपमूलक तालिम दिन सकियो भने उहाँहरुलाई आयआर्जनसँग जोड्न सकिन्छ भन्ने छ । यसमा हामीले नगरपालिकाबाट आयोजना हुने कार्यक्रमलाई पनि जोडेका छौँ । जस्तै सिलाई बुनाई, व्युटिपार्लरको तालिम सम्पन्न गरेका छौँ । कुनै तालिम एड्भान्स लेभल कै रहेको छन् । उहाँहरुलाई त्यसले जीविकोपार्जनमा सहज बनाउनेमा हामी अपेक्षित छौँ । त्यसकारण हामीले मेशिनरी औजारहरु सामानहरु पनि वितरण गरेका छौँ । कृषिलाई पनि जोडेर लक्षित समुदायका कार्यक्रमहरु लिएर आएका छौँ । प्लम्बिङको तालिमहरू पनि दिइरहेका छौँ । वडा स्तरबाट लक्षित कार्यक्रमहरु खासै धेरै छैन । नगरपालिकाबाट भने कार्यक्रमहरु भइरहेको छ । महिलाहरुको लागि विभिन्न खालको तालिमहरु दिइरहेका थियाँै । लक्षित समुदायको लागि क्षमता अभिबृद्धीको काम गर्ने भनेर योजना बनेको छ । गत बर्षहरुमा पनि हामीले यस्ता कार्यक्रम गरिरहेका थियौँ । यो बर्ष पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन लागेका छौँ । नगरपालिकाबाट उपमेयरज्युको नेतृत्वमा काम भइरहेको छ । नगरपालिकामा लक्षित समुदायका कार्यक्रमहरु पनि छ । जसमा हाम्रा वडाका नागरिकहरुले पनि सेवा लिइरहुनभएको छ । नगरपालिबाट बनेका योजनाहरु कार्यान्वयनको चरणमा रहेको छ । दलित समुदाय, महिला, अपाङ्गता भएका नागरिकहरुको लागि पनि कार्यक्रम बनेको छ । अपाङ्गता भएका नागरिकहरुको लागि सीपमूलक कार्यक्रम गर्न त विभिन्न संस्थाहरुसँग नै पनि समन्वय गरेर काम गर्ने तयारी छ ।
० वडामा कृषि केन्द्रित कार्यक्रम के कस्ता छन् ?
हाम्रो वडामा चालु आर्थिक बर्षको लागि बाख्रा पकेट कार्यक्रम भनेर राखेका छौँ । यसको लागि १० लाख बजेट रहेको छ । वडाको विपन्न क्षेत्र छानेर यो कार्यक्रम गर्दैछौँ । सिंचाईको कार्यक्रम पनि रहेको छ । बजेटहरू एकदमै कम भएको कारण कृषिको लागि हामीले त्यस्ता ठूला खालका केही योजना वडागत रूपमा गर्न सकेका छैनौं । यान्त्रिकरणको कार्यक्रमको लागि हामीलाई प्रदेश सरकारले सहयोग गरिरहेको छ । कृषिमा सिँचाइको योजनाहरु चलिरहेको छ । नगरपालिकाबाट पनि कृषि औजार वितरणको कार्यक्रम भइरहेको हुन्छ । बजेटहरू एकदमै थोरै भएको कारणले हामीले कृषिमा भने जसरी काम गर्न सकेका छैनौँ । हामीले वितरण हुने औजार उपकरणका कार्यक्रममा भने हाम्रा वडाका नागरिकहरुलाई सिफारिसको आधारमा सहभागी गराइरहेका छौँ । नगरपालिकाबाट अहिले धानको बीउ, प्लास्टिक पोखरी, प्लास्टिक टनेलाका कार्यक्रमहरू भइरहेको छ । पशु चौपायातर्फ भ्याक्सिनेसनको कार्यक्रमहरू भइरहेका छन् । पशु चौपायाहरुको लागि नाम्ले जुकाको औषधिहरू पनि किसानहरूलाई दिइरहेका छौँ । हाम्रो वडाको तल्लो भेगमा कृषिको लागि निकै राम्रो सम्भावना रहेको छ । सिंचाईको सुविधा पनि राम्रो छ । उहाँहरुले कृषिमा राम्रो आम्दानी पनि गरिरहनुभएको छ । कृषिको लागि नगरपालिकाले धेरै योजना बनाएको छ । फलफुलमा लागेका रोगहरु अन्त्य गर्नको लागि कृषि शाखा लागि परेको छ । किसानहरुलाई तरकारी बाली र फलफुल खेतीको लागि आवश्यक बगैंचा व्यवस्थान, रोग किरा नियन्त्रणको तालिमहरु चलिरहेको छ । हाम्रो वडामा यो तालिम सम्पन्न भयो । पशु स्वास्थ्य सम्बन्धि तालिम पनि फेरी सुरु हुँदैछ । यान्त्रिकरणको लागि कृषि ज्ञान केन्द्र मार्फत पनि कार्यक्रम भइरहेको छ । नगरपालिकाले पनि प्राविधिक सहयोग गरिरहेको छ ।
० तपाई वडा शिक्षा समितीको संयोजक पनि हुनुहुन्छ । त्यस कारण अरु कामसँगै शिक्षाको जिम्मेवारी पनि उत्तिकै छ । शिक्षामा के छ प्रगती ?
शिक्षाको लागि हामीले केही समय अगाडि मात्रै समीक्षा बैंठक बसेका थियौँ । अहिले भर्नादर घट्दो मात्रामा रहेको छ । शैक्षिक सत्रको वार्षिक परीक्षा सम्पन्नपछि नतिजा प्रकाशन भएको थियो र प्रकाशन भइसके पछाडि हामीले नतिजाको विषयमा छलफल गरेका थियौँ । सामुदायिक विद्यालयलाई गुणस्तरमा अबल बनाउनको लागि हामीले प्रयास गरिरहेका छौँ । त्यो विषयमा पनि छलफल भएको छ । दिवा खाजाको कुरालाई अझ कसरी प्रभावकारी बनाउने भनेर पनि हामीले छलफल गरिरहेका छौँ । भर्ना अभियानको काम लगभग सक्किएको छ । अब हुने हाम्रो वडा भेलामा शिक्षाको विषयमा पनि बृहत रुपमा छलफल गर्नेछौँ । र कसरी हाम्रो शैक्षिक गुणस्तरलाई अब्बल बनाउन सकिन्छ त्यो विषयमा पनि छलफल हुनेछ ।
० स्वास्थ्यको लागि कार्यक्रम के के बनेको छ ? योजना के छ ?
स्वास्थ्यको लागि भवन बनाउँदैछौ । यसको काम अन्तिम चरणमा पुगिसकेको छ । वडाबाट हामीले सामान्य स्वास्थ्य सेवाहरू त निरन्तर रुपमा प्रवाह गरिनैरहेका छौँ । नेपाल सरकारद्वारा निःशुल्क रुपमा प्रदान हुँदै आएका सबै खालका औषधिहरू नियमित रुपमा हामीले स्वास्थ्य संस्था मार्फत प्रदान गरिरहेका छौँ । त्यो बाहेक हामीले गाउँघर क्लिनिकहरू पनि चलाइरहेका छौँ । गाउँ घर क्लिनिक सञ्चालन भइरहँदाखेरी स्वास्थ्यकर्मीहरु गाउँघरमा पुगेर सुगर, प्रेसर चेक गर्ने र आवश्यक सल्लाह दिने काम गर्नुहुन्छ । अरु सेवा दिने कुरामा त हामी अबल नै रहेका छौँ । हामीलाई महिला स्वास्थ्य स्वयंसेविकाहरुले पनि सहयोग गरिरहनुभएको छ ।
० वडामा खानेपानीकोे अवस्था के छ ?
विपद्ले गर्दा केही समस्या भएको थियो । हामीले बजेट विनियोजन गरिसकेपछी विपद्को कारण विभिन्न समस्या हुन पुग्यो । मगर गाउँ र गैराथोकको खानेपानीको पम्प हाउस र वितरण लाईनमा क्षती पुगेको थियो । धाराको मोठ बनाउने चाहीँ योजना बनाएका छौँ । खानेपानीको लागि पनि हामीले कार्यक्रमहरू गरिरहेका छौँ । गत बर्षहरुमा पनि खानेपानीको लागि केही समय मुहानका कुराहरुमा विवाद आएको थियो । यसैगरी हाम्रो अर्को खानेपानीको काम भनेको झगडेडाँडाको र भाड्पोलको पुरानो खानेपानीका पाइपलाइनहरू मर्मत गर्ने काम भइरहेको छ । एक घर एक धारा अभियानलाई सम्पन्न गर्नतर्फ पनि हामी लागिरहेका छौँ । त्यसैगरी नगरपालिकाबाट पनि केही प्राविधिक समस्याहरु देखिएको कारणले उहाँ दर्ताका विषयहरूमा केही ढिलाई भएको थियो । चालु आर्थिक वर्षमा त्यो काम सम्पन्न हुनेछ ।
० बाँकी कार्याकालमा वडालाई लिएर तपाईको योजना के छ ?
हामीले धेरै योजना बनाउने भन्दा पनि सक्नेसम्मका कति गर्न सकिन्छ त्यही अनुसार योजना बनाएर काम गरिरहेका छौँ । त्यहाँ खानेपानीको माग अलि धेरै नै आउने भएकोले राम्रै भोलुममा गरेका छौँ । सडकको कामहरुलाई पनि निरन्तरता दिँदै जानेछु । नागरिकहरूबाट आएको माग हामीले देखेका समस्याहरु लगायतका कुरालाई ध्यानमा राखेर हामीले बजेटङ गर्नेछौँ र त्यही अनुसार योजनाहरू कार्यान्वयन गर्दै जानेछु । योजना सम्पन्न गर्ने भनेर मात्र पनि हुँदैन बजेटका कुराहरु पनि हुन्छन् त्यसलाई पनि ध्यानमा राख्नेछु । यहाँको आवश्यकता के कुरामा छ भन्ने कुराले पनि भर पार्छ ।
० विपद् व्यवस्थापनको लागि वडामा पूर्व तयारी स्वरुप केही व्यवस्थापन गरिएको छ ?
विपद्को लागि नगरस्तरिय कोषहरु रहेका छन् । ती मार्फत पनि कामहरु हुन्छ । योजनाहरु रहेको छ । वडा स्तरमा वडा स्तरिय समितीहरु रहेको छ । रेडक्रसले दिएको केही सामाग्रीहरु पनि त । तिनलाई अपडेट पनि गराउँदै जाने छाँै । बार्षिक रुपमा विपद्को लागि विभिन्न कार्यक्रमहरु पनि गर्ने गरेका छौँ । समितीहरुको क्षमता विकास गराउने कामहरु पनि गरेका छाँै । विपद्को लागि वडा स्तरमा बजेट नै विनियोजन गर्ने काम त भएको छैन तर नगरपालिकाम चाहीँ छ । विपद् व्यवस्थापनको लागि हामीले वडाका सबै नागरिककलाई सचेत बनाएर राख्नुपर्छ । विपद् कतिबेला कसरी आउँछ भन्न सकियो कुरा होईन त्यसकारण हामी सचेत भएर बस्न जरुरी छ ।
० बालमैत्री वडा घोषणाको तयारी के छ ?
बालमैत्री वडा घोषणा गर्नको लागि केही समय लाग्छ । धेरै सूचकहरु पुरा गर्नुपर्छ । घोषणा गर्नकै घोषणा गर्न त मिलेन । वडाले मात्र चाहेर पनि हुँदैन । नगरपालिका नै लाग्नुपर्छ यो विषयमा । हामीले विस्तारै तयारीका साथ लाग्नुपर्ने भएको तयारी हुँदै छ । सूचकहरु पुरा गर्न नगरस्तरदेखी यो विषयमा योजनाका साथ लाग्नुपर्ने छ । वडालाई पनि बालमैत्री र अपाङ्गमैत्री बनाउनुपर्ने छ । मैत्रीपूर्ण भवन बनाउनुपर्ने छ । विद्यालयहरुलाई पनि सुधार्नुपर्ने छ । बजेटको कुरा मात्र होईन ईच्छाशक्तिको कुरा पनि हो । सानोे सानो कुराले पनि सूचकलाई प्रभाव पर्छ । यसको लागि त अझ केही समय नै लाग्छ होला । हामीले हाम्रोतर्फबाट गर्ने कामहरु त गरिरहेका हुन्छ ।