चालु आर्थिक वर्षमा बाँकी रहेका अधुरा कार्यक्रम आगामी आर्थिक वर्षमा निरन्तरता दिन्छौं

  • काभ्रे खबर
  • / अन्तरर्वार्ता /
  • २०८२ जेष्ठ ९, शुक्रबार (१ महिना अघि)
  • १४२ पटक पढिएको

चालु आर्थिक वर्षमा बाँकी रहेका अधुरा कार्यक्रम आगामी आर्थिक वर्षमा निरन्तरता दिन्छौं

चालु आर्थिक वर्षमा कृषिको लागि भनेर के–के कार्यक्रमहरू गर्नुभयो ? के–के कार्यक्रम बाँकी छ ? बजेट कति छ ?
वर्षको लागि शाखागत बजेट भनेर सुरुमा हामीसँग ५० लाख रुपैयाँ थियो । त्यही बजेटमार्फत हामी कार्यक्रमहरू गर्ने भनेर तयारीका साथ लागिरहेका थियौँ । गत असोजमा बाढी पहिरो आयो । त्यसपछि तत्कालीन अवस्था निकै नाजुक थियो र बजेटहरू कटौती भयो । त्यसपछि हामीसँग जम्मा बजेट २३ लाखको हाराहारीमा थियो । अहिले हामी त्यही बजेटमार्फत कार्यक्रमहरू गरिरहेका छौँ । हामीले यही बजेट मार्फत केही विषादी खरिदको कार्यक्रम गर्यौ । यसैगरी बाली संरक्षणको कार्यक्रमहरू पनि ग¥यौँ । किसानहरूलाई बालीको लागि चाहिने नियमित विषादीहरू अहिले पनि हामीले वितरण गरिरहेका छौँ । कृषिमा विविधिकरण तथा व्यवसायीकरणका लागि प्रयोगशालादेखि खेतसम्म ज्ञानको हस्तान्तरण कार्यक्रमअन्तर्गत कृषि औजारलाई सार्वजनिक नीजि साझेदारी मार्फत कृषकको खलोमा पुरÞ्याइने कार्यक्रम छ । माटोमा उर्वरशीलता मार्फत उत्पादन तथा उत्पादकत्व बढाउन माटोको स्वास्थ्य परीक्षण मार्फत माटोको अम्लीयपन, खनिज पदार्थको अवस्थाको आधारमा कृषि प्राविधिकबाट रासायनिक मल, कृषि चुनको समानुपातिक प्रयोग गर्न सिकाईने कार्यक्रम छ । बजेट कटौती भइकन पनि हामीले यस्ता विभिन्न कार्यक्रमहरू गरिरहेका छौँ । चालु आर्थिक वर्षको हामी लगभग अन्तिममा पनि छौँ । अब हामी नयाँ आर्थिक वर्षमा के–के कार्यक्रम गर्ने भन्ने जस्ता तयारीहरुमा पनि लागिरहेका छौँ । चालु आर्थिक वर्षमा गर्ने भनिएको तर विविध कारणले अधुरा रहेका कार्यक्रमलाई हामी आगामी आर्थिक वर्षमा निरन्तरता दिँदै जानेछौँ ।
कृषि अनुदानको कार्यक्रम पनि छन् ?
संघीय सरकारबाट पनि केही कार्यक्रमहरू आएका छन् । पछिल्लो समय हामीले किसान सूचीकरणको कामलाई निरन्तरता दिएका छौँ । नयाँ सुन्तला पकेट विकास कार्यक्रम भनेर १२ लाख रुपैयाँको कार्यक्रम थियो । गाउँपालिकाको वडा नम्बर ४ मा यो कार्यक्रममा हामीले सञ्चालन गरिरहेका छौँ । बिरुवा वितरणको काम चाहिँ बाँकी रहेको छ । यो जेठको अन्तिमसम्ममा हामी यो कार्यक्रमलाई टुङ्ग्याउने छौँ । औजार सामग्रीहरू वितरण गर्ने काम पनि हामी यो जेठ महिनाको अन्तिम समयमा सक्काउनेछौँ । यसैगरी अर्को एउटा तरकारी खेती सम्बन्धी काम भइरहेको छ । जुन कृषि विकास कार्यालयसँगको समन्वयमा भइरहेको छ । प्रदेशको लागत साझेदारीमा पालिका, किसान र कृषि विकास कार्यालयको संयुक्त लगानी रहनेछ । जसमा कृषि विकास कार्यालयले ६० प्रतिशत बेहोर्नेछ । २० प्रतिशत गाउँपालिकाले अनुदान दिनेछ र २० प्रतिशत किसानले बेहोर्ने गरी यो कार्यक्रम सञ्चालन भइरहेको छ । यसको बजेट करिब ६७ लाख रुपैयाँ रहेको छ ।
बालि वीमाको कार्यक्रम गरिरहनु भएको छ ?
बालि वीमाको कार्यक्रमहरू पनि हामीले सञ्चालन गर्न लागिरहेका छौँ । हामीले एक वडा एक उत्पादन कार्यक्रमलाई अगाडि बढाउँदैछौँ । एक सय वटा हाराहारी टनेलाहरू बनाउने भनेर लागिपरेका छौँ । यति काम सकेपछि हामी बाली बीमाको कार्यक्रमलाई अगाडि बढाउने भनेर तयारीका साथ जुटेका छौँ । चालु आर्थिक वर्षमा चाहिँ यसको कामहरू सुरु भइसकेको छैन । आगामी आर्थिक वर्षदेखि हामी यसलाई निरन्तरता दिनेछौँ ।
कृषि शाखा मार्फत हुने कार्यक्रममा अरु निकायहरूसँगको समन्वय र सहकार्य कतिको अब्बल छ ?
संघीय सरकार र प्रदेश सरकारसँग हामीले प्रत्यक्ष सहकार्य खासै गरेका हुँदैनौँ । हाम्रो सहकार्य र समन्वय भनेको विशेषगरी कृषि विकास कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, बागवानी विकास केन्द्र पाँचखालसँग विशेष हुन्छ । हामीले सबैभन्दा धेरै कार्यक्रमहरू पनि त्यहीँबाट प्राप्त गर्छौं र अहिले हाम्रो समन्वय पनि राम्रो छ । फलफुल विकास केन्द्रसँग पनि हामीले कोर्डिनेसन गरिरहेका छौँ । आवश्यकताको आधारमा समन्वय हुन्छ । माथिबाट केही कार्यक्रम आउने भयो भने पनि हामी सहकार्यको लागि उन्मूख हुन्छौँ ।
वडा पकेट क्षेत्र कार्यक्रमले कत्तिको प्राथमिकता पाएको छ ?
एकवटा एक उत्पादन कार्यक्रम हामीले यसैको लागि पनि अघि बढाएका हौँ । अहिले पकेट क्षेत्रको कार्यक्रमहरू सञ्चालन भइरहेको पनि छ । जस्तै बेथानचोक गाउँपालिकाको वडा नम्बर ४ लाई हामीले सुन्तला पकेट क्षेत्र बनाउने भनेर लागिपरेका छौँ । यसैगरी वडा नम्बर ६ लाई कागती पकेट क्षेत्र बनाउने भनेर तयारी गरिरहेका छौँ । यसरी नै सम्भावनाको आधारमा हामीले पकेट क्षेत्र घोषणा गरेर कार्यक्रमहरु अगाडी बढाउने तयारीमा लागि परेका छौँ । यो बर्ष पनि करिब २ हजार बोट जति बिरुवाहरू वितरण गर्ने तयारीमा छौँ । यसरी पकेट क्षेत्रको कार्यक्रमलाई बढावा दिन सक्यो भने उत्पादनलाई पनि वृद्धि गर्न सकिन्छ भन्ने हाम्रो पनि उद्देश्य हो । सोहीअनुसार हामीले कार्यक्रम गरिरहेका छौँ ।
कार्यक्रम सञ्चालन गरिरहँदा कस्ता खालका समस्याहरु देखापरेका छन् ? तिनको समाधान कसरी गरिरहनुभएको छ ?
खासै त्यस्ता धेरै ठूला खालका समस्या आइपरेका छैनन् । कहिलेकाहीँ प्राविधिक समस्याहरू आउँछन् । यसोहुँदा हामीले कृषि विकास कार्यालय लगायतका निकायसँग समन्वय गर्ने गरेका छौँ । यसले गर्दा समस्या छिटो र छरितो तवरले समाधान भइरहेको छ । केही ठूलै समस्या आइपर्यो भने त हाम्रो गाउँपालिकाको प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतज्यूहरूले पनि हेर्नुहुन्छ । गत असोजमा गएको बाढी पहिरो जस्ता प्राकृतिक विपदहरूले पनि कहिलेकाहीँ सताउँछ । समय र परिस्थितिअनुसार नै हामीले अपर्झट आइपरेका समस्याहरूलाई समाधान गर्छौं भने प्राविधिक समस्याहरू पनि हामीले अरु निकायहरूको समन्वयमा नै गर्ने गरेका छौँ ।
किसानहरूलाई प्राविधिक तालिम कतिको दिइरहनुभएको हुन्छ ?
पालिका स्तरबाट यस्ता खालका तालिमहरू पनि सञ्चालन भइरहेका हुन्छन् । हामीले कृषि र पशुपंक्षी सम्बन्धी नै विभिन्न खालका तालिमहरू किसानहरूलाई बोलाएर दिइरहेका हुन्छौँ । यसले गर्दा उहाँहरुमा प्राविधिक ज्ञानको विकास भइरहेको हुन्छ । कृषिमा देखिने स–साना समस्या समाधानको लागि कृषि प्राविधिककोमा धाईरहनुर्दैन । यसले किसानलाई सहज बनाएको छ भन्ने हामीलाई महशुस भएको छ । रोगकिरा नियन्त्रण, दूध उत्पादन लगायतका शीर्षकमा छ हामीले पालिकाका ६ वटै वडामा दुई दिनको तालिम दिएका थियौँ । आगामी बर्षमा पनि यस्ता तालिमका कार्यक्रमहरु संचालन हुनेछ ।
आगामी आर्थिक वर्षको लागि तपाईँहरूको तयारी के छ ?
व्यवसायिक खेतीमा किसानहरूलाई कसरी जोड्न सकिन्छ भन्ने कुरामा नै हामी केन्द्रित भएर काम गर्नेछौ । पकेट क्षेत्रका कार्यक्रमहरुलाई पनि फोकस गर्नेछौँ । सामूहिक खेती लगायतका कार्यक्रमहरूलाई पनि विशेष जोड दिने हाम्रो तयारी छ । विभिन्न औजार उपकरणहरू हामीले विगतका वर्षदेखि नै अनुदानमा दिँदै आएका छौँ । यो वर्ष पनि ती कार्यक्रमले निरन्तरता पाए र आगामी वर्षमा पनि हामीलाई हामी यसलाई निरन्तरता दिनेछौ । जस्तै ट्रयाक्टर, स्प्रे पम्प, टनेल अनुदानमा दिइरहेका छौँ । बेथानचोकको सम्भावनाको रुपमा रहेको कृषि क्षेत्रको विकासकालागि प्रदेश सरकारसँग सहकार्यमा उत्पादनमा आधारित दुधमा प्रोत्साहन अनुदान कार्यक्रम, मौरापालन प्रवद्र्धन, वाख्रा प्रवद्र्धन कार्यक्रम, पशुपालन प्रवद्र्धन (गाईभैंसी) कार्यक्रम सञ्चालन गर्ने तयारीमा हामी लागि परेका छौँ ।
युवालाई कृषिमा नै प्रेरित गर्ने खालका कुनै योजना बनेको छ ?
विदेशमा सीप सिकेका, स्वदेशमा केही गर्छु भनेर लागेका युवाहरुलाई ब्याज अनुदानमा ऋण प्रवाह गर्ने व्यवस्था गर्नको लागि पनि हामी कार्यक्रम बनाएका छौँ । बेथानचोभित्र रहेको बाँझो जमीनको उपयोगको लागि भूमि बैंकको अवधारणा कार्यान्वयनमा लैजाने योजनाहरु पनि छ ।युवाहरूलाई कृषिमै प्रेरित गराउनुपर्छ र यही आत्मनिर्भर हुने वातावरण मिलाउनुपर्छ भन्ने हामी सबैको पहल हो । कृषिको लागि सहुलियत ऋण अनुदान उपलब्ध गराउने भन्ने खालका योजनाहरू छन् । यसले गर्दा कृषिमा केही गर्छु भन्ने युवाहरुलाई थप सहज हुने हामीले अपेक्षा लिएका छौँ ।

उत्पादनमा प्रोत्साहन दिँदै उक्त उत्पादनलाई स्थानीय बजारमा खपत गर्न निजी क्षेत्रसँग समन्वय र सहकार्य गरियो भने किसानहरुलाई पनि राहत पुग्नेमा हामी विश्वस्त छौं ।

अर्गानिक उत्पादनमा प्रोत्साहन र समग्रम कृषिै उत्पादनमा नै किसानलाई प्रेरित गराउने खालको कार्यक्रम छ की छैन ?
अर्गानिक उत्पादनमा प्रोत्साहन गर्ने भनेर हामी लागेका छौँ । यसरी उत्पादनमा प्रोत्साहन दिँदै उक्त उत्पादनलाई स्थानीय बजारमा खपत गर्न निजी क्षेत्रसँग समन्वय र सहकार्य गरियो भने किसानहरुलाई पनि राहत पुग्नेमा हामी विश्वस्त छौं । अर्गानिक तरकारी खेतीको कार्यक्रमहरू हामीले विगतका वर्षदेखि नै गर्दै आएका हौँ । अर्गानिक नै भनेर प्रमाणित नै भइसकेको चाहिँ होइन तर हामीले सुरुवात चाहिँ गरेका छौँ । प्राङ्कारिक तरकारी भनेर हामीले विगतका वर्षहरूदेखि नै सुरुवात गरिसकेका चाहिँ छौँ । विषादीको कम प्रयोग र झोल मलहरूको बारेमा हामीले बेलाबखतमा तालिम पनि दिँदै आएका छौँ । चालु आर्थिक वर्षमा पनि हामीले गर्ने भनेर तयारी चाहिँ गरिरहेका छौँ । अर्गानिक तरकारी खेती सम्बन्धी तालिम सम्भवत यो वर्षमा पनि हामी गर्छौ ।
कृषक परिचयपत्र वितरण गर्ने कार्यक्रम पनि थियो नी ?
किसान परिचयपत्रको लागि किसान सूचीकरणको कामहरू अहिले भइरहेको छ । एउटा वडाको चाहिँ हामीले कम्प्लिटली डाटाहरु संकलन गर्ने काम सक्यौँ । वडा नम्बर ३ र ६ का करिब करिब आधादेखि किसानको सूचीकरणको काम भइसकेको छ । बाँकी रहेकाहरूको पनि सूचीकरण गर्दै अरु वडातर्फ लाग्नेछौं र हामी भेरिफाई गरिसके पछाडि कृषक परिचयपत्रको थप काम अगाडि बढाउनेछौँ । किसानको तथ्याङ्क सङ्कलन गरी कृषक परिचयपत्र वितरण गर्ने कार्यक्रम रहेको नै छ । अव सबै वडाको प्रोफइल तयार भएपछी यो काम पनि हुन्छ । वास्तविक किसानहरुलाई किसान कार्ड अर्थात परिचय पत्र बाड्ने भनेर योजना बनाएका थियौँ । सोहीअुनसार सूचिकरणको काम भइरहेको रहेको छ । कृषि कर्म नै गरेर परिवार पाल्ने बास्तविक किसान पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले किसानको तथ्याकं संकलन गरी कृषक परिचयपत्र वितरण गर्ने छौँ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस