चालु आर्थिक वर्षको लागि भनेर बनाइएको योजनाहरुको पछिल्लो अवस्था के छ ? कति योजनाहरू सम्पन्न भयो ? कति बाँकी छ ? बजेट कति छ ?
हाम्रो वडामा वडाले नै खर्च गर्ने गरी चालु आर्थिक वर्षमा जम्मा ४० लाख रुपैयाँ बजेट थियो । यसमध्ये तीनवटा सडकको काम भएको छ । जसमा एउटाको स्तरउन्नति र दुईवटाको नयाँ सडकको काम भएको छ । अर्को एउटा सामुदायिक वनसँग जोडिएर गरिने जेष्ठ नागरिक पार्क निर्माण गर्ने भन्ने योजना रहेको छ । सामुदायिक वनसँगको साझेदारीमा बनाउने काम निर्माणधीन रहेको छ । यसैगरी स्वास्थ्य चौकीको लागि जग्गा व्यवस्थापन गर्नुपर्नेभएकाले यसको लागि पनि केही बजेट रहेको छ । यसैगरी आन्तरिक स्रोतबाट दुईवटा सडकको स्तर उन्नतिको काम धमाधम भइरहेको छ । त्यो बाहेक अरु नियमित रुपमा हुने कामहरूले पनि निरन्तरता पाएको छ ।
नगरपालिका, प्रदेश र सङ्घीय सरकार अथवा अन्य संघसंस्थाहरूसँग तपाईं वडाध्यक्ष भएको नाताले कार्यक्रमहरू सम्पन्न गर्न समन्वयात्मक भूमिका कत्तिको निर्वाह गरिराख्नु भएको छ ?
संघ र प्रदेशसँग समन्वय गर्दै यदि मुलुकको विकास चाहने हो भने आधारभूत तहको ठाउँ वा कार्यान्वयनको थलो भनेको वडा नै हो । वडागत रूपमा के कस्तो समस्या छ अथवा त्यहाँको माग के हो र आवश्यकता के हो भन्ने कुरा संघ र प्रदेशका माननीय ज्यूहरूले बुझ्नुपर्छ । बजेट निर्माण गर्नुभन्दा अगाडि त्यहाँका जनप्रतिनिधिसँग बसेर एक चरणको छलफल गरियो भने धेरै राम्रो हुन्छ । आम नागरिकलाई यही बसेर काम गर्न सक्ने वातावरण कसरी बनाउने, आयआर्जनमा उहाँहरूलाई कसरी जोड्न सकिन्छ, भौतिक पूर्वाधार बाहेक पहिलो प्राथमिकता के हो ? भन्ने विषयमा छलफल हुन जरुरी छ । त्यो कतैबाट भएको पाइएको छैन । संघ र प्रदेशबाट हामीसँग योजनाहरूको लिस्ट माग्नुहुन्छ तर उहाँहरु आफैले मनन गरेर योजनाहरु राख्नुहुन्छ । हामीले भनेका योजना खासै आउँदैन । हामी पनि हाम्रो कार्यकालको अन्तिम चरणमा आएका छौँ । यो बीचमा संघ र प्रदेशको तीनवटा योजनाहरू सञ्चालन भइरहेको अवस्था छ । हामीसँग उहाँहरुले लबिङ गरेको भएपनि हामीले बनाएर पठाएको योजनाहरु छनोटमा पर्दैनन् । हामीले मात्र समन्वय गरेर पनि नहुने रहेछ । तर पनि हाम्रो तर्फबट गर्ने कामहरु त भईनै रहेको छ । विभिन्न संघ संस्थासंगको हाम्रो सहकार्य पनि जारी नै छ ।
कृषिको लागि तपाईँको वडामा चालु आर्थिक वर्षभित्र के कस्तो कार्यक्रम गर्दै हुनुहुन्छ ?
हाम्रो वडामा कृषि र पर्यटनको निकै राम्रो सम्भावना रहेको छ । कृषिको लागि सुरुको वर्षदेखि नै किसान र स्थानीय तहको लागत साझेदारीमा टनेल निर्माण गर्ने काम गरिएको थियो । अहिले हामीले त्यसलाई निरन्तरता पनि दिएका छौँ । सुरुवातीदेखि नै कम्तीमा एउटा घरमा एउटा टनेला हुनैपर्छ भन्ने हिसाबले काम गरेका थियौँ । यसलाई उत्पादनमा आधारित कार्यक्रम बनाउनुपर्छ भन्ने पनि मेरो जोड थियो । यसको लागि यहाँ आउने हरेक संघसंस्थाहरूसँग पनि समन्वय गरिरहेको छु । नगरपालिकाको स्रोतलाई पनि यसमा लगानी गर्ने र किसानहरूले पनि केही आफ्नो लगानी गर्ने गरी यो क्रम अहिले जारी रहेको छ । हाम्रो निर्वाचनपछि श्रम तथा रोजगार मन्त्रालयमार्फत प्रधानमन्त्री स्वरोजगार कार्यक्रम भन्ने एउटा कार्यक्रम जारी छ । यो कार्यक्रमलाई पहिले नाली सफा गर्ने, बाटो सफा गर्ने जस्ता सामान्य कामहरूमा मात्रै खर्चिएको थियो । अहिले चाहिँ हामीले यसलाइउ नयाँपन दिनको लागि पुराना हाम्रा सडकहरुमा सिडीहरू बनाउने जस्ता कामहरु गरिरहेका छौँ । यसले केही काम देखियो भन्ने हामीलाई लागेको छ ।
स्वास्थ्यको क्षेत्रमा चाहिँ के के कार्यक्रम गर्दै हुनुहुन्छ ?
स्वास्थ्यको क्षेत्रमा हामीसँग विशेषगरी तीन खालका कार्यक्रम रहेका छन् । जसमा एउटा मुख्यमन्त्रीसँग स्वास्थ्य कार्यक्रम छ । जुन कार्यक्रम अन्तर्गत हामी गएर नागरिकहरूको सुगर, प्रेसर जस्ता रोगहरूको परीक्षण गराउँछौ । यसको लागि स्वास्थ्यको टोली नै समुदायमा पुग्छ । अर्को मेयरसँग जेष्ठ नागरिक स्वास्थ कार्यक्रम रहेको छ । यसमा पनि नागरिकहरूको स्वास्थ्य जाँचकै कार्यक्रम हुन्छ । त्यो बाहेक अन्य विभिन्न खालका शिविरका कार्यक्रमहरू पनि सञ्चालन भइरहेको हुन्छ । जस्तै दन्त शिविर, आँखा शिविरको कार्यक्रम रहेको छ । यसैगरी हाम्रोमा सुत्केरी भेटघाट कार्यक्रम पनि छ । स्वास्थ्यको अवस्था थप सुधार गर्नको लागि हामीले हाम्रो तर्फबाट विभिन्न पहलहरु पनि गरिरहेकै छौँ ।
शैक्षिक विकासकोे लागि वडागत पहलहरु के कस्तो छ ?
यो मध्ये दुईवटा आधारभूत र एउटा माध्यमिक तहको विद्यालय रहेको छ । विद्यालयहरूसँग वडाले शैक्षिक सामग्री निर्माण कार्यशाला भनेर शैक्षिक सत्रको सुरुमा सञ्चालन गर्ने गरेको छ । उहाँहरूद्वारा निर्मिती सामग्रीलाई कक्षा कोठामा प्रयोग पनि गर्छौं । विगत वर्षहरूमा हाम्रो यो प्रयास थियो भने यो वर्ष चाहिँ शिक्षकहरूको आन्दोलनले गर्दा कक्षाहरू ढिला नै सञ्चालन भए । त्यसकारण बर्खे विदाको समयमा यो क्रियाकलापलाई सञ्चालन गर्ने भन्ने हाम्रो कुरा छ । यसैगरी अहिले भर्खरै विद्यालय सञ्चालन भइसकेपछि पनि विरोधका वर्षहरूमा सिकाई उपलब्धि कस्तो रह्यो र आगामी शैक्षिक नतिजा कस्तो बनाउने भनेर विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, वडाका जनप्रतिनिधि र अभिभावकसहित बसेर नतिजा विश्लेषण गर्ने र नतिजा वृद्धि गर्नको लागि स्थानीय सरकारको भूमिका कस्तो रह्यो विशेषगरी वडाको भूमिका कस्तो रह्यो भनेर छलफल गर्छौं । शिक्षकहरू र विद्यालय व्यवस्थापन समितिको पनि भूमिका कस्तो रह्यो भनेर छलफल गर्छौं । के कुराले गर्दा चाहिँ हामीले भनेजस्तो नतिजा ल्याउन सकेनौं भन्ने विषयमा बृहत छलफल हुन्छ । यसरी राम्रो नतिजाको लागि आगामी कार्य योजनाहरूमा हामी छलफल गर्ने गर्छौं । अहिले पनि हामी त्यही चरणमा छौँ ।
वडामा खानेपानीको अवस्था कस्तो छ ?
बागमती प्रदेश राम्रो नगरपालिकाको पनि नीति भनेको एक घर एक धारा हो । यो नाराको रुपमै हामीले अगाडि बढाएका छौँ । खानेपानीका स्रोतहरूद्वारा प्रत्येक नागरिकको घरमा पानी सहितको धारा सञ्चालन गर्नको लागि हामीले पनि पहल गरिरहेका छौँ । भौतिक पूर्वाधारहरूलाई दिगोपना दिन अझै पनि बाँकी छ । सबै घरघरमा खानेपानी पु¥याउनको लागि हाम्रो स्रोत पनि कम नै छ । केही नयाँ योजनाहरू पनि समावेश गर्नुपर्ने देखिएको छ । तथ्याङ्क हेर्दा हाम्रो वडामा ७० प्रतिशतको घरमा एक घर एक धारा पुगिसकेको देखिएको छ । तर यसमा अझै धेरै थप काम गर्नुपर्ने हामीले देखेका छौँ । आगामी बर्षहरुमा पनि हामी थप नयाँ काम गर्ने नै छौँ ।
योजनाहरूमा लक्षित समुदायको कार्यक्रमहरू पछिल्लो समय संम्बोधन भएको छैन भन्ने गुनासो पनि आउँछ नि ?
सामाजिक रूपमा विभेदमा पारिएको वा सीमान्तकृत, दलित जनजातिको कार्यक्रम भनेर चाहिँ जोडिएको छैन । तर साझेदारीको रुपमा कार्यक्रमहरू थुप्रै अगाडि बढाएका छौँ । यसमा दलित समुदाय पनि हुनुहुन्छ । एकल महिलाका कार्यक्रमहरू पनि छन् । उहाँहरुलाई नै पहिलो प्राथमिकतामा राखेका छौँ । हाम्रोमा पाँचवटा विषयगत समिति रहेको छ । प्रत्येक बजेट हामीले विशेष समेटेर नै हालेका छौँ । व्यक्तिगत रूपमा नै पाउनुपर्यो भन्ने खालका धेरै गुनासोहरु आउँछन् तर हामीले सामयिक रुपमा दिनुपर्ने सेवा सुविधा चाहिँ दिइरहेका छौँ । हामीले बनाएको कार्यक्रमहरू बाहेस छैन । हामीले सकेसम्म सबै समुदायलाई समेट्ने प्रयास गरेका छौँ । लक्षित समुदायको कार्यक्रमहरू पनि नियमित रुपमा भइरहेको छ ।
बालमैत्री वडाको लागि के कस्ता कार्यक्रम अघि सारिएको छ ?
बालमैत्री बनाउनको लागि ५१ वटा सूचकहरू पूरा गर्नुपर्ने बाध्यकारी अवस्था छ । खोपको सुनिश्चितता, विद्यालयसम्म बालबालिकाको पहुँच, पूर्वाधार लगायतका कुराहरू यसमा समेट्नुपर्ने हुन्छ । संरचनाहरू बालमैत्री छन् कि छैनन् भन्ने कुरा पनि भयो । हाम्रो धेरैवटा सूचक पनि पूरा भइसकेको अवस्था छ । पालिका र वडाले पूरा गर्नुपर्ने केही कुराहरू छन् । २०८३ साल भित्रमा सिङ्गो नगरपालिका नै बालमैत्री घोषणा गर्ने भन्ने हाम्रो लक्ष्य रहेको छ । सोहीअनुसार हामीले काम गरिरहेका छौँ । नगरसभाबाट सबैभन्दा पहिले बालमैत्री घोषणा गर्ने वडाले ५ लाख रुपैयाँ प्राप्त गर्ने भन्ने नीति पनि बनाएको छ । बालमैत्री वडा घोषणा गर्ने हामी चरणमा छौँ । बालमैत्री बनाउनेभन्दा पनि त्यसलाई दिगोपना दिन अलि गाह्रो हुन्छ । त्यसकारणले दिगो रुपमा नै कामहरु गर्नुपर्ने हुन्छ । यसको लागि हामी निरन्तर रुपमा लागिरहेका पनि छौँ ।
आगामी आर्थिक वर्षको लागि तयारी के छ ?
आगामी आर्थिक वर्षको लागि बस्ती स्तरीय योजना छनोट प्रक्रिया गर्नको लागि जनप्रतिनिधिहरू प्रत्येक बस्तीमा जाने काम भइरहेको छ । बस्तीहरूमा भेला गराएर त्यहाँका नागरिकहरूको माग के छ र आवश्यकता के छ भन्ने बारेमा बुझ्ने काम भइरहेको छ । नागरिकहरूबाट आएको मागअनुसार नै हामीले कार्यक्रमहरु बनाउनुपर्छ भनेर हामी लागि परेका छौँ । आर्थिक वर्ष २०८२÷८३ को बजेट विनियोजनको सन्दर्भमा हाम्रो वडा समितिको निर्णय के छ भने, जतिसक्दो धेरै आयआर्जनसँग जोडिने कार्यलाई प्राथमिकता दिने भन्ने रहेको छ । भौतिक पूर्वाधारका कुराभन्दा पनि आर्थिक रुपमा नागरिकलाई सशक्त बनाउनुपर्छ भन्ने हाम्रो धारणा हो । आयवृद्धि हुने खालका कार्यक्रमहरू कसरी सञ्चालन गर्न सकिन्छ र यसलाई दिगो बनाउन के गर्न सकिन्छ भन्नेतर्फ हामी लागेका छौँ । यो बर्ष पुरा गर्न बाँकी रहेका योजनाहरु पनि पुरा गर्नको लागि हामी योजनाका साथ लागि पर्नेछौँ । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृषिलगायतका कार्यक्रमहरु नै संचालन हुनेछ । आवश्यकताको आधारमा हामी कामहरुलाई बर्गिकण गरेर अगाड्री बढ्नेछौँ ।