चालु आर्थिक बर्ष २०८१÷८२ लागि शाखागत रुपमा के –के योजनाहरु बनाउनुभएको छ ?
चालु आर्थिक वर्षको लागी हामीले विभिन्न शीर्षकमा कार्यक्रमहरु बनाएका थियौँ । केही कार्यक्रम गत वर्ष भएका कार्यक्रमहरूले नै निरन्तरता पाएका थिए भने केही नयाँ कार्यक्रमहरू पनि थिए । तर गत असोजमा गएको बाढी पहिरोका कारण हामी सबै काम गर्न सक्ने अवस्थामा भएनौँ । त्यो स्थितिपछि गाउँसभाले बजेट संशोधन गरेर अत्यावश्यक क्षेत्रमा खर्च गर्नुपर्ने भयो । बाढी पहिरो जानुभन्दा अगाडि नै हामीले केही कार्यक्रम भने सम्पन्न गरिसकेका थियौ । तीज विशेष कार्यक्रम भइसकेको थियो । हामीले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका कार्यक्रम पनि गर्यौ । प्रदेशसँग साझेदारीका कार्यक्रमहरू पनि चलिरहेका छन् । अपाङ्गता भएका व्यक्तिहरूको लागि सिविआर कार्यक्रम चलिरहेको छ । गृहिणी महिला कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । वडास्तरिय बालक्लब सञ्जालहरू गठन गर्ने काम भयो । अरु पनि केही कामहरू अहिले पनि निरन्तर रुपमा चलिरहेको छ । नियमित हुने कामहरू त भइ नै हाले । अव आगामी आर्थिक वर्षको लागि यो वर्ष समेट्न नसकेका कार्यक्रमहरू समेत समेटेर कार्यक्रम सञ्चालन गर्ने योजना बनाइरहेका छौ ।
बेथानचोकमा महिला तथा बालबालिकाको मुख्य समस्याहरु के के छन् ? तिनलाई निराकरण गर्नको लागि गाउँपालिका स्तरमा भएका प्रयासहरु के कस्ता छन् ?
पछिल्लो समय केहि मात्रामा बालविवाह, घरेलु हिंसा, आत्महत्या जस्ता समस्याहरु भएको देखिन्छ । यस्ता समस्याहरु न्युनिकरणका लागि हामीले विभिन्न जनचेतनामूलक कार्यक्रमहरू समुदाय,वडा र पालिकास्तरमा गरिरहेका छौँ । बालक्लब सञ्जालहरुमा पनि यस विषयमा छलफल गरिरहेका हुन्छाँै । महिलाहरू आर्थिक रूपमा परनिर्भर हुनेहुँदा विभिन्न खालका हिंसात्मक घटनाहरू पनि भएको हो कि भन्ने कुराहरु आइरहँदा हामीले विभिन्न सिपमूलक तालिमहरु चलाएर उहाँहरुलाई आर्थिक रुपमा सशक्त बनाउन पनि पहल गरिरहेका छौँ ।
जेष्ठ नागरिकको लागि विषेश कार्यक्रम केही छन् ?
चालु आर्थिक वर्षमा चाहिँ जेष्ठ नागरिक मिलन केन्द्र खोल्ने भन्ने हाम्रो योजना थियो । बाढिका कारण बजेट संशोधन भएपछि यो कार्यक्रम हुन सकेन । गत वर्षहरुमा हामीले वडामा नै गएर ज्येष्ठ नागरिक सम्मान कार्यक्रम पनि सञ्चालन गरेका थियौँ । जेष्ठ नागरिक कार्ड शीघ्र रुपमा उहाँहरुलाई उपलब्ध गराउने गरेका छौँ ।
अपाङ्गता भएका तथा महिलाहरुको लागि आर्थिक उपार्जन हुने कार्यक्रमहरु के–के छन् ?
यस्ता कार्यक्रमहरू पनि गरेका छौँ । गत बर्षहरुमा विभिन्न सीपमूलक तालिमहरू उहाँहरूलाई दिइरहेका थियौँ । चालु आर्थिक बर्षमा पनि विभिन्न सीपमूलक तालिमहरू उहाँहरूलाई दिइरहेका छौँ । हाम्रो गाउँपालिका अन्तरगत ६ वटा महिला सहकारी संस्थाहरु छन् सो सहकारी मार्फत महिला दिदिबहिनिहरुलाइ जिविकोपार्जनमा थप सहयोग पुगेको छ । ती महिला सहकारीहरुलाइ गाउँपालिकाले भौक्तिक निर्माण देखि विभिन्न तालिमहरु प्रदान गर्ने गरेको छ ।
बनाएको योजना लागू गर्न समस्याहरु आएका छन् की छैनन् ?
समस्याहरू त भइ नै हाल्छ । बिशेष गरी समन्वय धेरै गर्नु पर्ने, प्राकृतिक विपती, कानुन नहुुदा समस्या छन् ।
तालिमका कार्यक्रम मात्र भयो या दिगो रुपमा चल्ने कार्यक्रम भएनन् भनेर पनि गुनासो आउछन् नी ? तिनलाई कसरी समाधान गर्न सकिएला ?
सामाजिक क्षेत्रका तालिम त्यस्तै नै हुन्छन् मापन गर्न नि गाह्रो छ । हामीले भने छ वटा वडामा महिला सहकारी छन् । गृहिणी महिला समूहहरू पनि गठन गर्दैछौँ । यी सबै क्षेत्रका महिलालाई सीप विकासका कार्यक्रममा बढी फोकस गरेर लैजाने भन्ने हाम्रो योजना हो । उहाँहरुले पनि यो विषयमा कतिको चासो दिएर सहभागिता जनाउनुहुन्छ भन्ने हो । हामीले हाम्रो तर्फबाट सकेसम्मका पहलहरू चाहिँ गरिरहेका हुन्छौँ ।
बालमैत्री बेथानचोक बनाउनको लागि कसरी काम गरिरहनुभएको छ ?
बालक्लब तथा सञ्जालहरू गठन गरेका छौँ । विद्यालयका शिक्षक र सरोकारवालाहरूलाई राखेर हामीले एक चरणको अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिसकेका छौँ। विशेषगरी बालक्लब तथा सञ्जालहरूलाई सक्रिय बनाएर लैजाने हाम्रो पहिलो प्रयास हो । उनीहरूलाई पनि अभिमुखीकरण कार्यक्रममा सहभागी गराउने र स्थानीय बालअधिकार समितिहरू गठन गर्ने, वडा स्तरीय बालअधिकार समितिहरू गठन गरि उहाँहरूलाई पनि अभिमुखीकरण गर्ने भन्ने कार्यक्रमहरू छ । बजेट बनाउँदा यो क्षेत्रलाई पनि विशेष रुपमा हेरेर समेट्नुपर्छ भन्ने हाम्रो कुरा हो ।
हिंसात्मक घटनाहरुको अन्त्य गर्न पालिकाले चालेको पहलहरु के कस्ता छन् ?
यो क्षेत्रमा पनि हामीले कार्यक्रमहरू गरिरहेका छौँ । समुदाय, वडा र पालिकास्तरमा कार्यक्रमहरु गरिरहेका छौँ । लैंगिक हिंसा निवारण कोष रहेको छ ।
प्रदेश र संघ सरकारबाट महिला तथा बालबालिकाको लागि कस्तो कुराहरुमा पहल भयो भने राम्रो होला ?
जिल्लागत रूपमा यो विषयमा हेर्ने संयन्त्र छुट्टै भइदिएको भए हामीलाई यो विषयमा थप सहज हुन्थ्यो । थप सशर्त बजेटहरू आियो भने बाध्य रूपमा पनि त्यो कार्यक्रम सञ्चालन हुन्छ । स्थानीय तहले त हेर्ने क्षेत्रहरू धेरै छ ।
आवश्यकताहरू पनि सोहिअनुसार नै छ र नागरिकहरूको माग पनि सोहिअनुसारको हुन्छ । सामाजिक क्षेत्रका कामहरू नभएपनि केही फरक पर्दैन भन्ने जस्तो जनमानसमा बसेको हुन्छ । बाढी पहिरो जस्ता विपत्तिहरू आयो भने बजेट संशोधन भइहाल्छ । जसको प्रत्यक्ष असर चाहिँ सामाजिक क्षेत्रमा नै पर्छ । अरु थप संयन्त्रहरू पनि बनाइदिए हुन्थ्यो भन्ने चाहिँ छ । कार्यविधिहरू पनि बनाएर नमुनाको रूपमा आयो भने सजिलो होला ।
महिला तथा बालबालिकाका लागि पालिकाले छुट्टै ऐन कानून बनाएको छ ?
छुट्टै कानुनहरु पनि बनेको छ । जस्तै लैङ्गिक हिसा निवारण कोष सञ्चालन कार्यबिधी, बालअधिकार संरक्षण तथा सम्बद्र्धन कार्यबिधी, बाल कल्याण कोष स्थापना तथा संचालन कार्यबिधी, लैङ्गकि समानत तथा समावेशीकरण रणनीति पनि बनेको छ ।