सबै वर्गलाई समेटेर काम गरिरहेका छौं

  • काभ्रे खबर
  • / अन्तरर्वार्ता /
  • २०८२ जेष्ठ २०, मंगलबार (१ महिना अघि)
  • १२७ पटक पढिएको

सबै वर्गलाई समेटेर काम गरिरहेका छौं

चालु आर्थिक वर्षको लागि भनेर बनाइएको योजनाहरुको पछिल्लो अवस्था के छ ? कति योजनाहरू सम्पन्न भयो ? कति बाँकी छ ? बजेट कति छ ?
वडाको लागि जम्मा ३० लाख रुपंैया बजेट आएको थियो । सोही बजेट मार्फत हामीले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायतका क्षेत्रमा खर्च ग¥यौं । बीचमा हामीले गर्ने योजनाहरूमा केही परिवर्तन गर्नुपर्यो । किनभने गत असोजसम्ममा हामीले के–के कार्यक्रम गर्ने भनेर निर्णय भइसकेको थियो तर गत असोजमा गएको बाढी पहिरोले गर्दा धेरै कामहरुमा असर पुग्यो । सडकका सम्पन्न भइसकेका कामहरू फेरि सुरुदेखि नै गर्नुपर्ने अवस्था बनाइदियो । खानेपानीका मुहानहरू पनि तहसनहस भए । हामीले धेरै वटा सम्पन्न भइसकेका कार्यक्रमहरू पुनः सुरुदेखि गर्नुपर्ने भयो । त्यसैले केही योजना सञ्चालन गर्ने भन्दा भन्दै थाती नै रहन गए । प्रदेश र संघको संयुक्त २ करोड लगानीमा सडकको काम भइरहेको छ । यसैगरी ८३ लाख बजेटमा कोट तेमालको पछाडि अर्को सडकको काम भइरहेको छ । अर्को रत्नकाली मन्दिरको घेराबारको कार्यक्रम थियो । त्यो पनि सम्पन्न हुन लागिसकेको छ । विद्यालय हाता वरिपरि बार लगाउने कामहरू थियो । त्यो पनि सम्पन्न भइसकेको छ । यसैगरी साविक ४ नम्बर वडाका केही ठाउँमा ह्यूमपाइप राख्ने, जाली राख्ने काम भइरहेको छ । बाँकी रहेका साविकका सबै वडाहरूमा पनि यसरी नै पाइप राख्ने र जाली राख्ने कामहरू गर्नेछौं । चालु आर्थिक वर्षका कामहरू धमाधम भइरहेको छ । वर्षाको समय भएको हुँदा हामीले यो कामलाई जति सक्दो छिटो सकाउने प्रयास गरिरहेका छौं ।
नगरपालिका, प्रदेश र संघीय सरकार अथवा अन्य संघसंस्थाहरूसँग तपाईं वडाध्यक्ष भएको नाताले कार्यक्रमहरू सम्पन्न गर्न समन्वयात्मक भूमिका कत्तिको निर्वाह गरिराख्नु भएको छ ?
आवश्यक परेको ठाउँमा त समन्वय गर्नु परिहाल्यो । हामीले विशेषगरी समन्वय गरिरहने भनेको नगरपालिकासँग हो । त्यसपछि हामीले प्रदेश सरकार र संघीय सरकारसँग पनि हाम्रो कुराहरु राखिरहेका हुन्छौं । बजेटहरुको लागि माग गरिरहेका हुन्छौं । योजनाहरु छनोट गरेर पनि पठाउँछौ तर उताबाट बजेट तथा कार्यक्रम खासै पर्दैन । कतिपय कार्यालयमा त म स्वयम् धाएको हुन्छु । त्यो बाहेक विभिन्न संघसंस्थाहरूसँग पनि हामीले कार्यक्रमहरू ल्याउनको लागि पहल गरिरहेका हुन्छौं । उहाँहरूसँग हामीले समन्वय गर्न प्रयास गरिरहेका हुन्छौं । जसको प्रतिफल पनि राम्रो छ ।
कृषिको लागि तपाईंको वडामा चालु आर्थिक वर्षभित्र के कस्तो कार्यक्रम गर्दै हुनुहुन्छ ?
कृषिको क्षेत्रमा हामीले पछिल्लो समय बीउ बिजन र अनुदानका कार्यक्रमहरूलाई प्राथमिकतामा राखेका छौं । कृषिका औजार उपकरण वितरणको लागि भनेर नगरपालिकाबाट पनि बजेट रहेको छ । किसानहरूलाई आवश्यक पर्ने प्राविधिक तालिमहरू पनि बेलाबखतमा सञ्चालन गरिरहेका हुन्छौं । कृषिमा हाम्रो वडा राम्रो सम्भावना बोकेको क्षेत्र छ । सिंचाइको क्षेत्रमा पनि काम गरिरहेका छौं । गत असोजमा गएको बाढी पहिरोले हाम्रो वडाभित्रका थुप्रै किसानहरु मारमा पर्नुभएको थियो । उहाँहरुलाई पहिलेकै अवस्थामा फर्काउन भए पनि प्रेरणादायी कार्यक्रमहरु केन्द्रित गरेर काम गरिरहेका छौं ।
स्वास्थ्यको क्षेत्रमा चाहिं के–के कार्यक्रम गर्दै हुनुहुन्छ ?
वडाभित्रका नागरिकहरूको स्वास्थ्यमा पहुँच पु¥याउन र सुनिश्चितता कायम गर्नको लागि हाम्रो तर्फबाट पहल भइरहेको छ । हामीले स्वयंसेविकाहरुलाई आवश्यक परेको ठाउँमा सहयोग गर्ने कुरालाई निरन्तरता दिएका छौं । उहाँहरू पनि नियमित टोल बस्तीमा गएर आफ्नो जिम्मेवारी निभाउनुपर्ने ठाउँमा पुगिरहनुभएको हुन्छ । नागरिकहरूको स्वास्थ्यको विषयलाई लिएर कुनै गुनासो नआओस् भन्ने हिसाबले मैले आफैंले पनि व्यक्तिगत पहल जे जस्तो गर्न सक्छु गरिरहेको हुन्छु । विशेषगरी स्वयंसेविकाहरूलाई आवश्यक परेको सहयोग गरिरहेका हुन्छौं । वडाभित्रको स्वास्थ्य संस्थामा हामीले औषधि अभाव हुन नदिनको लागि पहल गरिरहेका हुन्छौं । बेलाबेलामा आँखा शिविर, दन्त शिविर जस्ता शिविरहरू पनि सञ्चालन गर्छौं ।
शैक्षिक विकासकोे लागि वडागत पहलहरु के कस्तो छ ?
शिक्षामा विशेषगरी पछिल्लो समयमा हामी शैक्षिक गुणस्तर वृद्धि गर्ने दिशामा काम गरिरहेका छौं । साथै, आवश्यक भौतिक सुधारहरू गर्ने कार्य पनि भइरहेको छ । यो वर्ष हामीले विद्यालयमा घेराबार लगाउने कामहरू सम्पन्न गरेका छौं । हामीलाई पछिल्लो समय शिक्षाको क्षेत्रमा काम गर्न केही समस्या भइरहेको छ । पछिल्लो समय बसाईसराइको दर बढ्दो मात्रामा छ । जन्मदर पनि कमहुँदै गइरहेको अवस्था छ । पहिले ६÷७ सय विद्यार्थी एउटै विद्यालयमा हुन्थे । अहिले २÷३ सय पु¥याउन पनि गाह्रो छ । पहिले हामीले भौतिक सुधारलाई बढी लक्षित गरेर काम गरिरहेका थियौं । सरकारी विद्यालयहरूको भौतिक संरचना पहिले निकै नाजुक अवस्थामा थियो । यद्यपि पछिल्लो समयमा केही भौतिक सुधारहरू भएका छन्, ती विद्यालयहरूमा अध्ययन गर्ने विद्यार्थीहरूको संख्या भने कम नै छ । त्यसैले अहिले हामी गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्छ भन्ने लक्ष्यमा केन्द्रित भएका छौं । विद्यालयसम्म पहुँच नपुगेकाहरूको लागि हामीले घरमा नै गएर उहाँहरुलाई निशुल्क शिक्षाबारे जानकारी गराउँदै विद्यालयसम्म उहाँहरुलाई पु¥याउने काम गरेका छौं । चालु आर्थिक वर्षमा तारजाली लगाउने काम गरेका थियौं, अहिले लगभग सम्पन्न हुने चरणमा पुगिसकेको छ । कक्षा १२ पढसकेपछि त अझ गाउँमा बस्ने विद्यार्थी नै हुँदैनन् ।
वडामा खानेपानीको अवस्था कस्तो छ ? “एक घर, एक धारा” अभियान कहाँ पुग्यो ?
खानेपानीको अवस्था अलि नाजुक नै छ । विशेषगरी गत असोजमा गएको बाढी पहिरोले खानेपानीका मुहान, ठाउँठाउँमा बिच्छ्याइएका पाइपहरूमा असर गरेको थियो । ईनार भएका ठाउँहरूमा पनि निकै असर ग¥यो । अहिलेसम्म हामीले इनार बनाउने काम चाहिं सम्पन्न गरिसक्यौं । यो महिनामा हामीले खानेपानीको सबै कामहरू सकाउँछौं भन्ने योजना थियो । फेरि वर्षाले गर्दा हामीलाई काम गर्न समस्या भइरहेको छ । आगामी असार महिनाको पहिलो हप्ताभित्र हामीले खानेपानीको पहुँच सबै नागरिकसम्म पु¥याउने लक्ष्य राखेका छौं । यसका लागि वडा कार्यालयले विशेष पहल गर्दै काम अघि बढाइरहेको छ । राज्यको “एक घर, एक धारा” अभियानलाई सफल बनाउन हामी दृढ प्रतिवद्ध छौं । यद्यपि, बाढी र पहिरोका कारण उत्पन्न चुनौतीहरूले हाम्रो कार्यमा केही ढिलाइ आएको छ । ती विपदको प्रभाव नपरेको भए, धेरै काम समयमै सम्पन्न गर्न सक्थ्यौं ।
योजनाहरूमा लक्षित समुदायको कार्यक्रमहरू पछिल्लो समय संवोधन भएको छैन भन्ने गुनासो पनि आउँछ नि ?
वडामा बजेटको सिमितता भएकाले लक्षित समुदायका कार्यक्रमहरू हामीले चाहेजस्तो रूपमा सञ्चालन गर्न सकिरहेका छैनौं । यद्यपि, नगरपालिकाले पनि यस क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । अपाङ्गता भएका नागरिकहरूलाई सेवा प्राप्तिमा कठिनाइ भएमा हामी स्वयं घरमै पुगेर सेवा प्रदान गर्दैछौं । महिलाहरूको लागि आयआर्जनसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गरेका छौं, जस्तै सिलाई–बुनाई र ब्युटी पार्लर तालिमहरू । यदि उहाँहरूबाट यस्ता प्रकारका थप कार्यक्रमहरूको माग आउँछ भने, बजेटको दायरा भित्र रहेसम्म हामी ती मागहरूको संवोधन गर्ने प्रयास गर्नेछौं । अपाङ्गता भएका व्यक्तिहरूको परिचयपत्र वितरणमा पनि हामीले सहजिकरण गरेका छौं र जेष्ठ नागरिक परिचयपत्रको प्रक्रिया पनि सहज बनाउन प्रयासरत छौं । यसरी, लक्षित समुदायका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
बालमैत्री वडाको लागि के कस्ता कार्यक्रम अघि सारिएको छ ?
नगरपालिकाले बालमैत्री वडा निर्माणका लागि सक्रियता देखाउँदै आएको छ, र हाम्रो वडा पनि यस अभियानमा सकेको काम गर्दै आईरहेको छ । वडा नं. १ बाट क्रमशः प्राथमिकताका साथ काम गर्ने योजना बनाइएको थियो । बालमैत्री वडा निर्माणका लागि आवश्यक पर्ने सूचकहरू पूरा गर्न हामी तयार छौं । गाउँमा बालबालिकाको संख्या कम रहेको छ, र अधिकांश त परिवार सहित काठमाण्डौतिर बसाइ सरेका छन् । यस कारणले गर्दा अझै केही समय लाग्न सक्छ । बालमैत्री वडा निर्माणका लागि स्थानीय तहमा ५१ वटा सूचकहरू तय गरिएको छ । जसमा बालबालिकाको क्षेत्रमा बजेट विनियोजन, शतप्रतिशत विद्यालय भर्ना, बालबालिकाका लागि सुरक्षित र मैत्रीपूर्ण शौचालयको व्यवस्था, सबै बालबालिकालाई पूर्ण खोप, सबै घरमा शौचालयको उपलब्धता र जन्मदर्ता जस्ता न्यूनतम मापदण्डहरू समावेश छन् । यसका साथै, बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गर्ने प्रावधान पनि रहेको छ । हाम्रो वडा पनि यी सूचकहरू पूरा गर्नका लागि परेक छ । बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागि हामीले विभिन्न कार्यक्रम र योजनाहरू सञ्चालन गर्दै आएका छौं । यद्यपि, गाउँमा बालबालिकाको संख्या कम रहेको र अधिकांश काठमाण्डौतिर बसाइ सरेका कारणले गर्दा बालमैत्री वडा निर्माणमा केही समय लाग्न सक्छ । तथापि, हामी यस कार्यमा प्रतिवद्ध छौं र आगामी दिनहरूमा यस अभियानलाई सफल बनाउनका लागि निरन्तर प्रयासरत रहने छौं ।
आगामी आर्थिक वर्षको लागि के छ तयारी ? कस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै हुनुहुन्छ ?
आगामी आर्थिक वर्षको लागि हामीले वडामा भएका समस्याहरूलाई हेरेर वडा भेला गराएर आवश्यक कामहरू गर्नको लागि योजना छनोट गरी सम्बन्धित निकायमा पठाउने काम भइसकेको छ । हामीले यहाँबाट त पठायौं अब माथिल्लो निकायबाट के कति कार्यक्रम आउँछ भन्ने हो । शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, विपद, सडक, बालबालिका, महिला सबै क्षेत्रलाई समेट्ने गरी काम गर्ने भन्ने हाम्रो लक्ष्य हो ।
योजना अनुगमन निरन्तर रुपमा चलिरहेका छन् ?
वडाभित्र सञ्चालन हुने योजनाहरूको प्रगतिका बारेमा हामी प्रत्येक चरणमा जानकारी लिइरहेका हुन्छौं । हाम्रो वडाको टोली पनि नियमित रूपमा अनुगमनका लागि जान्छ । म स्वयंले पनि प्रत्यक्ष रूपमा योजनाहरूको निरीक्षण गर्दै आवश्यक सुधारका लागि सल्लाह र सुझाव प्रदान गर्ने गर्दछु । अनुगमनको कामले नियमितता पाएको छ ।
योजनाहरू सम्पन्न गर्ने क्रममा के कस्तो समस्याहरू आइरहेको छ ? तिनको समाधान कसरी गरिरहनु भएको छ ?
अहिलेसम्म त्यस्ता ठूला समस्याहरू आएका छैनन् । सामान्य वादविवाद भइरहेको हुन्छ । यसलाई हामीले छलफलबाट नै टुंग्याउने गरेका छौं । गत असोजमा गएको बाढी पहिरो जस्ता विपत्तिले चाहिं कहिलेकाहीं दुःख दिन्छ । तर हामी पूर्व तयारी स्वरूप तयार भएर चाहिं बस्छौं । विपदले ठूलै रूप लियो भने हामीले पनि तत्कालको लागि केही गर्न सक्दैनौं । तर अवस्था हेरेर हामी समाधानको पाटोतिर जान्छौं नै ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस