दाप्चालाई संस्कृति तथा पर्यटन रुपमा अब्बल बनाउन सबै क्षेत्रमा काम गरिरहेका छौं

  • काभ्रे खबर
  • / अन्तरर्वार्ता /
  • २०८२ अषाढ १, आईतबार (३ हप्ता अघि)
  • १८८ पटक पढिएको

दाप्चालाई संस्कृति तथा पर्यटन रुपमा अब्बल बनाउन सबै क्षेत्रमा काम गरिरहेका छौं

० चालु आर्थिक वर्ष २०८०÷८१ को यतिबेला हामी अन्तिमतिर छौँ । चालु आर्थिक वर्षका लागि भनेर बनाइएका योजनाहरू कति प्रतिशत सम्पन्न भए ? कति बाँकी छ ?
हाम्रो वडा संस्कृतिक र पर्यटकीय रूपमा निकै सम्भावना भएको क्षेत्र हो । हाम्रोमा धेरैवटा मठ मन्दिरहरू पनि छन् । हामीले चुनावी अभियानमा जनताको घरदैलोमा पुग्दै गर्दा हाम्रो क्षेत्रलाई संस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गर्ने भनेका थियौँ । गत बर्षको जेठ २२ गते हामीले त्यो वचनलाई पूरा गर्यौ । जेठमा यो घोषणाको एक वर्ष भएको उपलक्ष्यमा हामीले विभिन्न स्थानीय बाजा, स्थानीय जातजातिका परम्परागत नृत्य र विभिन्न निकायका व्यक्तिहरूसहित पहिलो दाप्चा सांस्कृतिक तथा पर्यटन घोषणाको पहिलो वर्ष मनायौ । बन्दीपुर क्षेत्रको डिजाइनमा नै हाम्रो ठाउँलाई पर्यटकीय स्थल बनाउने भनेर हामी लागिपरेका छौँ । यसका लागि हामी ठूला व्यवसायीहरूसँग पनि छलफलमा निकै लामो समय थियौँ । अहिले हाम्रो वडामा थ्री स्टारको होटल समेत बन्ने भएको छ । त्यो होटेल निर्माण भइसकेपछि यहाँका स्थानीय करिब ५० जनाले त्यसमा रोजगारी पनि पाउने सम्भावना पनि छ । त्यो होटेलको काम लगभग २५ प्रतिशत सम्पन्न भइसकेको छ । अरु थप केही होटलहरु पनि बन्ने क्रममा रहेको छ । अहिले हामीले सांस्कृतिक तथा पर्यटन मापदण्ड २०८२ पनि बनाइसकेका छौँ । अहिले दाप्चा क्षेत्रमा त्यो मापदण्डअनुसार नेवारी शैलीकै घरहरू बनाउनुपर्ने भनेर पनि भनेका छौँ । यसैगरी दाप्चाको इतिहास बोकेको कोटकालिका मन्दिर पनि हाम्रोमा छ । त्यो मन्दिरलाई हामीले पुरातात्तिवक डिजाइनमै बनाएर सम्पन्न गरेका छौँ । यसको लागत करिबकरिब एक करोड रुपैयाँ रहेको थियो । यो बजेट अधिकांश नागरिकहरूबाट आएको चन्दा स्वरूपको रकम थियो । वडाको तल्लो टोलमा हामीले भीमसेनको मन्दिर बनाउने भनेर चुनावको बेलामा नै भनेका थियौँ । यो वर्ष त्यसको जग हाल्ने काम भइसकेको छ । दाप्चालाई संस्कृति तथा पर्यटन रूपमा अब्बल बनाउन, स्वास्थ्य, शिक्ष, कृषि, खानेपानी सबै क्षेत्रमा काम गरिरहेका छौँ ।
० तपाईको निकायमा खानेपानीको अवस्था कस्तो छ ? सुधारका योजना कत्तिको बनेका छन् ?
वडामा पहिले खानेपानीका निकै समस्याहरू थिए । अहिले भने यसको समाधान हुने चरणमा रहेको छ । पछिल्लो समय हामी स्वस्थ खानेपानी वितरण गर्नुपर्छ भनेर लागिपरेका छौँ । अहिले एउटा बृहत खानेपानी भनेर योजना सम्पन्न गर्ने चरणमा रहेका छौँ । यसको लागत करिब ४४ करोड रुपैयाँ रहेको छ । यो आउँदो दशैंसम्ममा खानेपानीको काम सम्पन्न गर्ने हामीले लक्ष्य लिएका छौँ । यो खानेपानीको आयोजना सम्पन्न भएपछि वडा भरिका नागरिकलाई खानेपानीको अभाव हुने छैन । पहिले यहाँ खानेपानीका योजनाहरू पनि एकदमै उथलपुथल भएको अवस्था थियो । खानेपानी नभएकै कारण काकाकुल नै भएर विस्थापित हुनुपर्ने अवस्थामा पुग्न लागिसकेको थियो । अहिले १ लाख लिटरको दुईटा, ५० हजार लिटरको दुईवटा खानेपानीको आयोजना सम्पन्न गर्दै वडाका २ सय ५४ घरधुरीका नागरिकलाई खानेपानी खुवाउने काम गर्यौँ । यो वर्ष एक सय धुरीलाई थपेका छौँ । यसरी खानेपानीको क्षेत्रमा परिबर्तन ल्याईरहेका छौँ ।
० चुनाव ताका जनतालाई दिनु भएको आश्वासन के कति पुरा भए कति बाँकी छन् ?
हाम्रोमा रहेको एउटा मतदान केन्द्र थियो । त्यसलाई अहिले बुद्ध पार्कमा २८ वटा भवनसहित सार्ने काम गर्यौ । चुनाब ताका हामिले जनतासामु बोलेका यी सबै कुरा पूरा गर्दै आएका छौँ । भौतिक विकास मात्र नभएर यहाँका स्थानीयलाई प्रत्यक्ष लाभ हुनेगरि उत्पादनमुखी काम गर्नको लागि गुरु योजना बनएका छौँ । विभिन्न होटल व्यावसायालाई पनि प्रवद्र्धन गर्ने क्रम जारी छ । यसले स्थानीय रोजगारीलाई थप बढवा दिनेमा विश्वस्त छौँ । हाम्रोमा सम्पन्न हुन लागिरहेका पाँचवटा होटल निमार्ण सम्पन्न भइसकेपछि स्थानीय रोजगारी प्रवद्र्धनसँगै स्थानीय नागरिकहरूको जीवनलाई पनि थप सहज हुने हामीले अपेक्षा गरेका छौँ । कृषिमा भएका उत्पादनले पनि मूल्य पाउने हामीलाई अपेक्षा गरेका छौँ ।
० स्वास्थ्य क्षेत्रलाई अब्बल बनाउने कामहरु के के भएका छन् ? अस्पताल बनउने भन्ने योजना कहाँसम्म पुरा भयो ? आधारभुत स्वास्थसेवा आफ्नो वडाभित्र २४ सै घन्टा प्राप्त गर्न सक्ने बाताबरण निर्माण भएको छ ?
स्वास्थ्य क्षेत्रमा हाम्रा विभिन्न कदम पहलहरू निरन्तर जारी छ । हामीले चुनावी मैदानमा उत्रिरहँदा पनि दाप्चामा रहेको अस्पताललाई नगर अस्पतालको रुपमा विकास गर्ने र एम्बुलेन्स व्यवस्थापन गर्ने भनेका थियौँ । अहिले एम्बुलेन्स ल्याउने काम पनि भइसकेको छ । अहिले दाप्चा स्वास्थ्य चौकीमा एक्सरे मेसिन, टिसिजी मेसिन र भिडियो एक्सरे मेसिन खरिद गर्ने काम भइसकेको छ । प्रदेश र नगरको पहलमा हामीले यसरी काम गर्न सफल भएका छौँ । हामीले एकैपटक यो काम सम्पन्न गरेका हैनौँ । ५० लाख, २० लाख, १० लाख गरी पटकपटकको समन्वयमा बजेट ल्याएका थियौ । यसरी हामीले सम्पूर्ण सामग्री सहितको व्यवस्थापनमा अबको केही दिनमै यो स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा घोषणा गर्दैछौ । आगामी दिनमा पनि हामी बजेटले भ्याएसम्म स्वास्थ्यका क्षेत्रमा विभिन्न गतिविधिहरुलाई निरन्तर रुपमा अगाडि बढाउनेछौ ।
० सडक संजाल विस्तार तथा स्तरउन्नतीको काम कत्तिको भइरहेको छ ?
सडक निर्माण र सडक पक्की बनाउने कामहरू त हामीले गरिनै रहेका थियौ तर गत असोजमा अबिरल वर्षापछि आएको बाढी पहिरोले गर्दा सबै सडकहरू छेतविक्षेत हुन पुगे । त्यसपछि वडामा कुनै पनि बाटोघाटोहरू रहेनन् । त्यो बाटोलाई हामीले विभिन्न चन्ददाता, सहयोगी यसैगरी प्रदेश, सङ्घ, वडा, नगरपालिका सबैको पहलमा आएको बजेटबाट सर्वप्रथम त बाटोहरूलाई पहिलेकै अवस्थामा फर्काउने काम गर्यौ । यसैगरी हाम्रोमा वडा नम्बर ९ हुँदै रोशि गाउँपालिका र रोशी गाउँपालिका हुँदै हेटौंडा जाने मुख्य सडक थियो एउटा । चुनावको बेला यसलाई हामीले पिच गर्ने प्रतिबद्धता जनाएका थियौँ । अहिले यो सडक २ किलोमिटर पिच भइसकेको पनि छ । यसपालि पनि पिच हुनको लागि यो सडकको लागि साढे ६ करोडको बजेट परेको छ । अहिले यो टेन्डरको काम सम्पन्न भइसकेर सडक बन्ने क्रममा रहेको । वडाको मात्रै छुट्टै बजेटहरूबाट पूरा काम सम्पन्न गर्न अलि गारै हुन्छ । यसरी हामीले विभिन्न निकायहरूसँग समन्वय गरेर बजेट ल्याएर काम चाहिँ गरिरहेका छौँ । यसैगरी दाँप्चा हुँदै फलामेसाङु, ताराखसे हुँदै जाने सडकलाई पर्यटकीय गन्तव्य बनाउन कुनै ठाउँमा बुद्धको मूर्ति कुनै ठाउँमा अरु खालका मूर्ति बनाउँदै गएका छौँ ।
० शिक्षाका लागि के–के गर्नु भयो ?जस्तो आधारभूत शिक्षा, माध्यमिक शिक्षाका लागि के गर्नुभएको छ ?
हाम्रो वडाले शिक्षा क्षेत्रको विकासलाई प्राथमिकता दिँदै विभिन्न पहलहरू अगाडि बढाइरहेको छ । स्थानीय नागरिकहरूको मागअनुसारका शैक्षिक पद्धतिलाई पनि ध्यान दिएका छौँ । सामुदायिक विद्यालयहरूको पूर्वाधार सुधार, गुणस्तरीय शिक्षाको प्रवद्र्धन, र विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सहयोग प्रदान गर्ने कार्यहरू भइरहेका छन् । वडाले विद्यालय भवन मर्मत तथा नयाँ कोठाहरू निर्माण गर्ने, पुस्तकालय तथा विज्ञान प्रयोगशाला जस्ता स्रोतसाधन विकास गर्ने, र आवश्यकता भएका विद्यालयहरूमा शैक्षिक सामग्री (जस्तै किताब, डेस्क, कुर्सी) वितरण गर्ने कार्य गरेको छ । साथै, शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रमहरू सञ्चालन गरिएको छ । अत्यावश्यक परेमा विपन्न परिवारका विद्यार्थीहरूलाई छात्रवृत्ति तथा पोषणयुक्त खाजाको व्यवस्था गर्ने कार्य पनि वडाबाट गरिएको छ । स्थानीय समुदायको सहभागिता र विद्यालय व्यवस्थापन समितिको सहकार्यमा गुणस्तरीय शिक्षा प्रवाहमा जोड दिइएको छ । यसरी वडाले शिक्षा क्षेत्र सुधार गर्न निरन्तर प्रयास गर्दै आइरहेको छ । राज्यको नीतिअनुसार सामुदायिक विद्यालयमा पनि अङ्ग्रेजी भाषालाई प्राथमिकता दिनुपर्छ, सँगै स्थानीय भाषालाई पनि अगाडि बढाउनुपर्छ भन्ने कुरालाई विशेष ध्यान दिएका छौँ ।
० महिला, दलित, अल्पसंख्यक र पछाडि पारिएका वर्गका लागि के–के कार्यक्रमहरु छन् ?
लक्षित समुदायका विभिन्न कार्यक्रमहरू हाम्रोमा अहिले पनि चलिरहेको छ । जस्तै दलित समुदायको लागि भनेर प्रत्येक वर्ष १ लाख÷२ लाख रकम विनियोजन गरेका हुन्छौँ । महिलाहरूलाई पनि विभिन्न तालिमका कार्यक्रमहरूमा समावेश गर्दै गृहणी भूमिका मात्र नभएर व्यवसायिक तथा आर्थिक उपार्जनमा थप टेवा पुग्ने खालका कामहरु गरिरहेका छौँ । उहाँहरूलाई हरेक ठाउँमा गएर बोल्नको लागि पनि सक्षम बनाएका छौँ । उहाँहरूलाई नेतृत्व तहसम्म पु¥याउनको लागि अथवा त्यहाँ पुगिसकेपछि नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बनाएका छौँ । जनजातिको क्षेत्रमा पनि यसैगरी हामीले कामहरु गरिरहेका छौँ । स्थानीय सरकार सञ्चालन ऐनलाई टेकेर नै हामीले यस्ता गतिविधिहरु सञ्चालन गरिरहेका छौँ । बजेट बनाउँदा नै पनि हामीले यस्ता कार्यहरूलाई समेट्छौँ । महिलाहरूको लागि एउटा भवन बनाउने भन्ने योजना थियौ । यसको पनि काम सुरु हुँदैछ । प्रदेशबाट यसको लागि पनि बजेट परेको छ । यसैगरी गहते भन्ने गाउँमा तामाङ जातिको बसोबास अलि बढी छ । त्यसैले त्यहाँ एउटा बुद्धको मूर्ति स्थापना र ध्यान केन्द्र बनाएका छौँ ।
० तपाईको वडा बालमैत्री कहिलेसम्म घोषणा हुन्छ ?
बालमैत्री वडा बनाउनको लागि पनि हामीले पहल कदम चालिरहेका छौँ । दोलखाको भिमेश्वर, सुनौलीमा नगरको टिम नै गएर भ्रमण गरेको थियो । त्यहाँबाट हामीले धेरै कुराहरू सिकेका छौँ । हामीले ती कुराहरूलाई हाम्रो ठाउँमा पनि लागू गर्ने भनेर लागेका छौँ । नमोबुद्ध नगरपालिकाको तीन वटा वडा बालमैत्री घोषणा भएको छ । अब बाँकी रहेका सबै वडालाई बालमैत्री बनाउने नगरपालिकाले पनि लक्ष्य लिएको छ । अब केही समयपछि हाम्रो वडामा पनि विभिन्न सूचकहरू पूरा गर्दै हामी बालमैत्री एउटा घोषणा गर्नेछौ ।
० वडाभित्र योजनाहरू सम्पन्न गर्ने क्रममा के कस्ता समस्या आइपरेका छन् ? तिनको समाधान कसरी गर्दै अगाडि बढिरहनुभएको छ ? आगामी तयारी के छ ?
जनताहरूको आशा, अपेक्षा, आकांक्षाहरू धेरै छ । कामै नगरिकन पैसाहरू सिधिन्छ कि भन्ने पनि उहाँहरूको तर्फबाट आउँछन् । अहिले राज्यको नीतिअनुसार १५ प्रतिशत श्रमदान नै गर्नुपर्छ भन्ने पनि छ । यसको लागि अहिले हामी जनप्रतिनिधि नै लागि परेर श्रमदान हाम्रो तर्फबाट पनि हुनुपर्छ भनेर लागि परेका छौँ । कोटकालिका मन्दिर जाने सडकमा १ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । जसको लागि हामीले सामग्रीहरु त्यही बजेटबाट किन्यौं र ८ लाख बराबरको श्रमदान गर्यौ । काम गर्ने क्रममा धेरै चुनौतीहरु आउँछन् । बेलाबखतमा विभिन्न विवादहरु पनि आइरहेको हुन्छ । सामना गर्न सक्छौं र सामना गर्दै अगाडि पनि पढ्न सक्छौं भन्ने आत्मविश्वासले नै हामी जनप्रतिनिधि भएका हौँ । सोहीअनुसार गरि पनि रहेका छौँ । बजेटहरू कम हुन्छ । नागरिकहरूको अपेक्षा धेरै हुन्छ । यो सबैमा बराबरी ब्यालेन्स मिलाउन त गाह्रो नै भइहाल्छ । तर पनि सबैलाई सबै क्षेत्रलाई समेट्दै भेला गराउने, छलफल गर्ने गरेर नै कामहरु गरिरहेका छौँ ।
० सम्पन्न हुने काममा कत्तिको पारदर्शिता अपनाइएको छ ?
सबै कामहरू पारदर्शी नै छन् । वडाको मात्रै छुट्टै बजेट निकै कम छ । त्यसैले कहाँ के कति खर्च भयो भनेर हातैले हिसाब गर्न सकिन्छ । जम्मा २२÷२३ लाख बजेट हुन्छ । त्यसले शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, कृषि सबै क्षेत्रलाई समेट्नुपर्ने हुन्छ । वडाको मात्रै बजेटबाट त एउटा शीर्षकमा १ देखि २ लाख मात्रै बजेट विनियोजन भएको हुन्छ । यसमा त पारदर्शिता झल्कने नै भयो । त्यसमाथि पनि हामीले सबै कार्यक्रमहरूको सूचनाहरू प्रकाशित गर्छौं । उहाँहरुलाई हामीले विभिन्न माध्यमबाट कार्यक्रमहरूको बारेमा जानकारी गराइरहेका हुन्छौ । उहाँहरु प्रत्यक्ष संलग्न हुनुहुन्छ ।

० कृषिलाई आधुनिकिकरण, यान्त्रिकिकरण, व्यावसायिकरण र बजारीकरण गर्ने कार्यक्रम ल्याउनु भएको छ ?
कृषिमा व्यवसायकरण, यान्त्रीकरण, बजारीकरण सबै पाटोलाई समेट्दै अगाडि बढेका छौँ । कृषिमा हामीले एक घर एक टनेला, एक घर एक मौरी पालन र एक घर एक लौनो भैँसी भन्ने अभियान नै चलाएका छौँ ।
० आर्थिक बर्षको अन्तिममा मात्र काम सम्पन्न हुने, अनि सम्पन्न हुन लागिसक्दा पनि योजनाको अनुगमन कम हुने परिपाटी छ नी ?
हामीले नियमित रुपमा सबै योजनाका निरन्तर अनुगमन गरिरहेका हुन्छौँ । नगरस्तरीय छुट्टै अनुगमन हुन्छ । वडास्तरीय अनुगमन हुन्छ । यसैगरी सम्बन्धित बजेट मार्फत आएका कामहरूको सम्बन्धित क्षेत्रबाट पनि अनुगमन हुन्छ । प्रत्यक्ष नागरिकहरूले देखिरहनुभएको हुन्छ । उहाँहरूको तर्फबाट पनि अनुगमन भइरहेको हुन्छ । बाँकी हामीले दिने सल्लाह सुझाव हाम्रो तर्फबाट पनि हुन्छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस