हाल नगरपालिकामा विपद् व्यवस्थापनका लागि विशेष कोष स्थापना गरिएको छ

हरेक योजनाहरू जनताको निगरानीमै सम्पन्न भएको हुन्छ
  • काभ्रे खबर
  • / अन्तरर्वार्ता /
  • २०८२ अषाढ ९, सोमबार (२ हप्ता अघि)
  • ५४० पटक पढिएको

हाल नगरपालिकामा विपद् व्यवस्थापनका लागि विशेष कोष स्थापना गरिएको छ

चालु आर्थिक वर्षको लागि भनेर बनाइएको योजनाहरु के के छन् ? बजेट कति छ ? कतिवटा कार्यक्रम सम्पन्न भयो ?
चालु आर्थिक वर्षकै लागि भनेर विनियोजन गरिएको बजेट मार्फत गरिने कामहरू लगभग लगभग अन्तिम चरणमा पुगिसकेको छ । खानेपानी, सडक लगायतका क्षेत्रमा केही ठूला योजनाहरू पनि थिए । ती पनि सम्पन्न हुने चरणमा छ । क्षणिक समयको लागि देखिने कार्यक्रमभन्दा पनि दिगोपना दिन सकिने कार्यक्रमहरूमा विशेष जोड दिएका छौँ । पछिल्लो समय हामीले तालिम दिने कार्यक्रमहरूलाई अलि कमै मात्रामा गरिरहेका छौँ । गत असोजमा गएको बाढी पहिरोले केही क्षति पु¥याएका ठाउँहरूलाई पहिलेकै अवस्थामा पु¥याउनुपर्ने थियो । त्यसमा पनि हामीले काम गरिसकेका छौँ । पछिल्लो समय सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा विशेष केन्द्रित भएर काम गरिरहेका छौँ । सडकको लागि यो वर्ष पनि संघीय सरकारबाट ३ करोड बजेट प्राप्त भएको थियो । चालु आर्थिक वर्षमा वडा सिलिङ बजेट भनेको ४० लाख रुपैयाँ थियो । नगरपालिकाबाट पनि थप ४० लाख बजेट परेको थियो । सिलिङ बाहेकका बजेटहरूबाट पनि वडामा विभिन्न कार्यक्रमहरु सञ्चालन भएको छ । ३ करोडभन्दा बढीको कार्यक्रम चालु आर्थिक वर्षमा सम्पन्न भयो । त्यो बाहेक खानेपानीको लागि भनेर हामी हाम्रोमा बृहत खानेपानी आयोजना सम्पन्न हुने चरणमा रहेको छ ।
विपत् व्यवस्थापनको लागि पूर्व तयारी के छ ?
विपद् कहिले, कहाँ र कति मात्रामा आउने हो भन्ने कुरा पूर्वानुमान गर्न नसकिने भएकाले त्यसको पूर्वतयारी सधैं अपडेट र सुधार हुँदै जानुपर्ने हुन्छ । हाल नगरपालिकामा विपद् व्यवस्थापनका लागि विशेष कोष स्थापना गरिएको छ, जसबाट आवश्यक स्रोत र सामग्री व्यवस्थापन गरिँदै आएको छ । त्यसका अतिरिक्त, वडा तहमा पनि केही आवश्यक सामग्रीहरू उपलब्ध गराइएको छ, यद्यपि ती सबै वडाहरूको लागि पर्याप्त नभएको महसुस भएको छ । त्यसैले थप सामग्री खरिदका लागि नगरपालिका समक्ष प्रस्ताव प्रस्तुत गरिएको छ । हाम्रो योजना नगरपालिकासँग मात्र सीमित नरही अन्य सरोकारवाला निकायहरूसँग समेत समन्वय गर्दै विपद् व्यवस्थापनको पूर्वतयारी सुदृढ गर्ने हो । यस अन्तर्गत जनशक्ति तालिम, स्रोतसाधनको अभिवृद्धि, सूचनाको आदानप्रदान तथा समन्वय प्रणालीलाई अझ व्यवस्थित बनाउने उद्देश्य राखिएको छ ।
कृषि विकासको लागि तपाईँहरूले के कस्तो प्रयास गरिरहनुभएको छ ? कृषिमा आधुनिककरण, यान्त्रिकरण र व्यवसायिकरणलाई कतिको जोड दिनुभएको छ ?
किसानहरूलाई आवश्यक पर्ने सामग्रीहरू वितरण हामीले निरन्तर रुपमा गरिरहेका छौँ । यो काम हाम्रो नगरपालिकाबाट पनि भइरहेको छ । जसमा हाम्रो वडाको नागरिकहरू पनि समावेश हुनुभएको छ । कृषि औजार उपकरणहरूमा विशेष जोडिएका छौँ । यसैगरी वीउबिजन वितरणको काम पनि गरिरहेका छौँ । दूध उत्पादनमा जोड दिनुपर्छ भनेर पनि हामी लागिपरेका छौँ । खेतीपातीको लागि सिंचाइको व्यवस्थापनको काम पनि गरेका छौँ । बजारीकरणमा सहजीकरण गर्नुपर्छ भन्ने पनि हाम्रो योजना छ ।
शैक्षिक विकासको लागि तपाईंको वडामा भइरहेका कामहरू के–के छन् ?
हाम्रो वडामा जम्मा तीनवटा विद्यालय रहेको छ । विद्यालयमा हामीले शिक्षक दरबन्दी पर्याप्त मात्रामा पु¥याउन सकौँ भन्ने प्रयास गरिरहेका छौँ । हाम्रोमा रहेको श्रीराम माध्यमिक विद्यालय काभ्रेको दोस्रो सबैभन्दा पुरानो विद्यालय पनि हो । सबै विद्यालयमा शिक्षक दरबन्दी पर्याप्त पु¥याउनलाई हामीले पनि प्रयास गरिरहेका हुन्छौँ । एसइइमा पनि गतवर्ष राम्रै नतिजा आएको थियो । यो वर्ष पनि राम्रो गर्नुपर्छ भनेर हामीले प्रयास गरिरहेका छौँ । पछिल्लो केही वर्ष हामीले विद्यालयको भौतिक सुधारमा पनि फोकस भएर काम गरेका थियौँ । अहिले भौतिक अवस्था सबैमा राम्रो नै छ ।
वडाको विकासको लागि अन्य निकायहरूसँग तपाईंले कतिको समन्वय गरिरहनुभएको हुन्छ ?
विपद् व्यवस्थापन लगायत विभिन्न सामाजिक तथा विकास कार्यक्रमहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नका लागि हामीले नियमित रूपमा बहुपक्षीय समन्वय गर्दै आएका छौँ । नगरपालिकाको नेतृत्वमा अन्य वडाका वडाध्यक्षहरू, छिमेकी पालिकाहरू, प्रदेश सरकार, संघीय सरकारका सम्बन्धित मन्त्रालय तथा निकायहरू, साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग निरन्तर संवाद र समन्वय कायम गरिएको छ । यस समन्वयका माध्यमबाट हामीले विभिन्न कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्दै आएका छौँ । कुनै संघसंस्था –ल्न्इरक्ष्ल्न्इ) हाम्रो क्षेत्रमा आएर काम गर्न चाहन्छ भने हामीले कहिल्यै रोकटोक गरेका छैनौँ । बरु, उनीहरूको योजनालाई स्थानीय आवश्यकतासँग मिलाएर कार्यान्वयन गर्न सहज वातावरण सिर्जना गरिदिने काम गरिरहेका छौँ । नगरको तर्फबाट आवश्यक सहजीकरण, जानकारी आदानप्रदान, अनुगमन तथा सहयोगका सबै पक्षमा हामीले सक्रिय भूमिका निर्वाह गरिरहेका छौँ । हामी समन्वयलाई विकास र प्रभावकारी कार्यान्वयनको मूल आधार मानेर हिँडिरहेका छौँ । त्यसैले, आगामी दिनहरूमा पनि यस्ता सहकार्यलाई अझ सुदृढ बनाउँदै, सहभागिता मूलक विकास प्रक्रियालाई थप गतिशील बनाउने हाम्रो उद्देश्य रहेको छ ।
स्वास्थ्यको लागि पनि विशेष कार्यक्रमहरू केही गरिरहनु भएको छ त ?
स्वास्थ्यको लागि पनि हामीले काम गरिनै रहेका छौँ । विशेष गरी कर्मचारी दरबन्दीका कुराहरू छन् । अहिले दुईजना कम छन्, जम्मा चारजना मात्र कर्मचारी छन् । औषधि उपचार गर्ने कुराहरू त नियमित रुपमा भइनै रहेको छ । औषधिहरूको अभाव हुन नदिनको लागि पनि हामीले कोसिस गरिरहेका छौँ । हाम्रोमा स्वास्थ्य संस्थाहरू अहिले नियमित रुपमा नै चलिरहेको छ । बेलाबेलामा हामीले दन्त शिविर, आँखा शिविर जस्ता शिविरहरू पनि सञ्चालन गरिरहेका हुन्छौँ । यसले नागरिकहरुलाई स्वास्थ्यमा पहुँच सहज पु¥याएको छ ।
तपाईँको वडामा खानेपानीको अवस्था कस्तो छ ?
‘एक घर, एक धारा’ भन्ने उद्देश्यका साथ हामी विगत लामो समयदेखि निरन्तर रूपमा खानेपानी पहुँच विस्तारको अभियानमा समर्पित भएर लागिरहेका छौँ । यो अभियान स्थानीय नागरिकहरूको आधारभूत अधिकारको सुनिश्चितता तथा जीवनस्तरमा सुधार ल्याउने दिशामा महत्वपूर्ण पाइला भएको छ । वर्तमान अवस्थामा, सोही अभियानको परिणामस्वरूप करिब ५ सय घरधुरीमा खानेपानीको धारा जडान भइसकेको छ । यो उपलब्धि सुनकोशी लिफ्टिङ खानेपानी योजना अन्तर्गत हासिल गरिएको हो, जसले गाउँघरमा पानी ल्याउने हाम्रो दीर्घकालीन प्रयासलाई मूर्तरूप दिएको छ । खानेपानी सेवाको उपयोगलाई अझ सुलभ बनाउने उद्देश्यले न्यूनतम ५ युनिट बराबरको पानीका लागि हामीले प्रतीघरधुरी मात्र रु. २ सय ५० शुल्क लिने व्यवस्था गरेका छौँ । यसले गर्दा नागरिकहरूलाई आर्थिक भार नपर्ने गरी पर्याप्त मात्रामा स्वच्छ खानेपानी प्रयोग गर्न सहज भएको छ । पानी भण्डारणका लागि निर्माण गरिएको ट्याङ्कीमा दैनिक ८,००० देखि ९,००० लिटर पानी संकलन हुने गर्दछ, जुन हालको आवश्यकता अनुरूप पर्याप्त रहेको छ । यसले पानीको आपूर्तिमा विश्वसनीयता र नियमितता कायम गर्न ठूलो मद्दत पु¥याएको छ । हालसम्मको अवस्थाअनुसार अधिकांश घरधुरीमा खानेपानीको धारा जडान भए तापनि, विभिन्न कारणहरूले गर्दा केही घरहरू बन्द अवस्थामा छन्, जहाँ ताल्चा लागेको पाइन्छ । त्यसको मुख्य कारण हालसालै बढ्दो बसाइँसराइ हो, जसका कारण केही घरधुरी अस्थायी रूपमा खाली छन् । समग्रमा हेर्दा, यो अभियानले खानेपानी पहुँचमा उल्लेखनीय सुधार ल्याएको छ, र हामी आगामी दिनहरूमा बाँकी रहेका घरधुरीहरूमा पनि धारा जडान गर्ने कार्यलाई निरन्तरता दिनेछौँ । यस अभियानलाई थप प्रभावकारी बनाउन स्थानीय समुदायको सहकार्य, दिगो व्यवस्थापन र स्रोतहरूको न्यायपूर्ण वितरणमा विशेष ध्यान दिइनेछ ।

लक्षित समुदायको लागि कार्यक्रमहरू पछिल्लो समय खासै भएनन् भन्ने गुनासो पनि आउँछ नि ! तपाईंको वडामा अवस्था के छ ? यस्ता गुनासोहरू आउन नदिनको लागि तपाईंहरूको तर्फबाट भइरहेको प्रयास के छ ?
लक्ष्मी समुदायको लागि हामीले केही समय अगाडिसम्म तालिमका कार्यक्रमहरूमा विशेष जोड दिएका थियौं । यसै गरेर भ्रमणको कार्यक्रमहरू पनि गर्यौं । यो वर्ष चाहिँ खासै त्यस्तो धेरै तालिमका कार्यक्रमहरू चाहिँ छैन । आगामी आर्थिक वर्षबाट हामी निरन्तर रुपमा जाने भन्ने योजना चाहिँ छ । महिला, बालबालिका, जनजाति, अपाङ्गता भएका नागरिक र जेष्ठ नागरिकहरूको लागि पनि हामीले कार्यक्रम चाहिँ थोरै मात्र रकम राखेर भएपनि गरेका छौँ ।
तपाईंको वडा कहिलेसम्ममा बालमैत्री वडा घोषणा हुन्छ ?
विद्यालयदेखि नै बालमैत्रीका कुराहरुलाई कार्यान्वयन गराउँदै अगाडि बढ्ने भन्ने हाम्रो तयारी छ । बालमैत्री बनाउन पनि सहज पनि छैन । विभिन्न सूचकहरू पूरा गर्ने परिहाल्यो । मापदण्डमा हामी बस्नै पर्यो । त्यसकारणले केही समय चाहिँ लाग्छ तर बालमैत्री वडा हामी जसरी पनि घोषणा गर्छौ ।
योजनाहरू सम्पन्न गर्नको लागि वडागत रुपमा के कस्ता समस्याहरु देखिरहेका छन् ? तिनको समस्या कसरी गरिरहनुभएको छ ?
हाम्रो तर्फबाट त्यस्ता ठूला समस्याहरू चाहिँ छैनन् तर ग्रामीण भेगमा मानिसहरूको संख्या नै न्यून हुँदै गइरहेका छन् । विशेषगरी वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दो मात्रामा छ । यसले गर्दा योजनाहरु सम्पन्न गर्ने क्रममा केही समस्या चाहिँ हुन्छ । कहिलेकाहीँ विवादका कुराहरु आउँछन् । साँधसिमानाका कुरालाई लिएर कहिलेकाहीँ विवादहरू आइरहेको हुन्छ तर पनि हामीले समाधान गर्दै अगाडि बढिरहेका छौँ ।
योजना अनुगमनका कामले कत्तिको निरन्तरता पाएको छ ?
अनुगमनको लागि नगरपालिकाको टिम नै आउने गरेको छ । त्यसैगरी हामीले पनि प्रत्यक्ष रुपमा थोरै थोरै समयको अन्तरालमा गएर योजना अनुगमन गरिरहेका हुन्छौ । चाहिँ म आफै गएर पनि योजनाहरूको अनुगमन नियमित रुपमा गरिरहेको हुन्छ हरेक योजना ।
वडाले गर्ने कामहरु कत्तिको पारदर्शी छन् ?
सबै कामहरू पारदर्शी नै छन् । हामीले नागरिकहरुलाई हरेक कामको सूचना दिइरहेका हुन्छौँ । हरेक योजनाहरू जनताको निगरानीमै सम्पन्न भएको हुन्छ । हामीले बोलेका कुराहरू पनि हामीले बिस्तारै सबै कुरा गर्दै गइरहेका छौँ । झन अहिले त प्रविधिको समय भएकाले हामीले केही ढाकछोप गर्ने भन्ने नै हुँदैन सबै प्रत्यक्ष रुपमा जनताले नै हेरिरहनुभएको हुन्छ । त्यसकारण सबै कामहरु पारदर्शी नै छानबिनमा भन्ने लाग्छ ।
आगामी आर्थिक बर्षको लागि के छ तयारी ?
सडक सञ्जालहरू अझै विस्तार गर्दै पक्की बनाउनुपर्नेछ । खानेपानी, शिक्षा, स्वास्थ्यका विषयहरूलाई पनिसँगै अगाडि बढाउनुपर्नेछ । शैक्षिक गुणस्तरलाई वृद्धि गर्नुपर्ने हाम्रो अर्को जिम्मेवारी छ । यसलाई पनि हामीले नियन्त्रण रुपमा पूरा गर्दै गइरहेका छौँ । शिक्षक दरबन्दी कमी हुन दिने छैनौँ । अहिले हामीले असोजमा गएको बाढी पहिरोले बताएका बाटोहरू पहिलेकै अवस्थामा फर्काउँदै छौँ । केही कामहरु पूरा पनि भइसक्यो बाँकीलाई निरन्तरता दिनेछौं । अहिले भइरहेका सकारात्मक कुराहरूलाई निरन्तरता दिँदै आगामी दिनमा नयाँ योजनाहरूलाई पनि कार्यान्वयनमा लैजाने गरी काम गर्नेछौँ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस