आर्थिक वर्ष २०८२/८३ भित्र वडालाई बालमैत्री घोषणा गर्नेछौं

  • काभ्रे खबर
  • / अन्तरर्वार्ता /
  • २०८२ अषाढ १२, बिहिबार (४ महिना अघि)
  • २९० पटक पढिएको

आर्थिक वर्ष २०८२/८३ भित्र वडालाई बालमैत्री घोषणा गर्नेछौं

चालु आर्थिक वर्षको लागि भनेर बनाइएको योजनाहरू सबै सम्पन्न भए ? कि बाँकी छ ?
चालु आर्थिक वर्षमा बजेट एकदमै न्यून थियो । गत असोजमा गएको बाढी पहिरोले त झन् सम्पन्न भएका योजनाहरू पनि सखापै पारिदियो । हाम्रोमा भौतिक क्षति निकै भयो तर मानवीय क्षति चाहिँ भएको छैन । यसमा हामी खुसी पनि छौँ । जमिन भत्किने, पुरिने हुँदाखेरि खेतीयोग्य जमिनहरू पनि धेरै सखाप भए । तत्कालीन अवस्थादेखि नै हामीले अत्यावश्यक कुराहरूलाई केन्द्रित गरेर काम गर्दै आएका थियौ । हामीले विशेषगरी बाटोहरू चाहिँ खुल्ला हुनुपर्छ र त्यहाँ आवतजावत गर्न सहज हुनुपर्छ भन्ने किसिमले कामहरु गर्दै आएका थियौ । सोही किसिमले अहिले बाटोहरु सफा गर्ने र खुलाउने प्रयास जारी थियो । अहिलेसम्म त्यो काम सबै सम्पन्न भइसकेको छ । खानेपानीको क्षेत्रमा पनि निकै क्षति पुगेको थियो । अहिले सबै नागरिकको घरमा स्वच्छ पानी खान सक्ने वातावरण तयार गरिसकेका छौँ । तत्कालीन अवस्थामा त निकै धेरै समस्या थियो । हामीले बिस्तारै बिस्तारै प्रदेश, संघ, पालिका, वडाको बजेटले कामहरू गर्दै गर्दै आयौं । यसमा हामीलाई विभिन्न संघसंस्थाहरूले पनि धेरै सहयोग गरेको छ । नक्कले डाँडा र वडा कार्यालयसम्म एक संस्थाको सहयोगमा बाटो सफा भयो । नारायणटारमा चाहिँ हाम्रै वडाको बजेटले काम गरेका थियौँ । यसैगरी चालु आर्थिक वर्षमा हामीले वडा कार्यालय नजिकै एउटा प्रतिक्षालय बनाउने भन्ने योजना थियो । त्यो सम्पन्न भयो । चालु आर्थिक वर्षको लागि भनेर बनाइएका योजनाहरू गत असोजको बाढी पहिरोले सबै त सम्पन्न गर्न सकेनौं तर त्यसपछि यो–यो गर्ने भनेर जुन जुन क्षेत्रमा हामी लागि परेका थियौ, ती अहिलेसम्म लगभग सम्पन्न भइसकेको अवस्था छ । खानेपानी, सडक, कृषि लगायतका विषयमा कामहरू सम्पन्न भएको छ । हामीले तत्काल विपद पर्ने बित्तिकै विभिन्न संघसंस्थासँग पनि सहयोग मागेका थियौँ । जसकारण उहाँहरूको पनि सहयोग सहयोग गर्नुभयो । जस्तै उहाँहरूबाट दुईवटा जाली आएको थियो र पालिकाबाट ३० वटा । हामीले अहिले ३२ वटै जालीहरू भर्ने काम सम्पन्न गरिसकेका छौँ । चण्डी–थापागाउँ– ठुलो गाउँ–गुम्बा गाउँको लागि भनेर बृहत खानेपानी सञ्चालन भइरहेको छ । त्यो पनि सम्पन्न हुने चरणमा नै रहेको छ । अहिले चाहिँ हामी आगामी आर्थिक वर्षको लागि भनेर योजना बनाउने तरखरमा छौँ । यसको लागि हामीले नागरिकहरूको पनि कुरा समेट्ने तरखरमा लागि परिसकेका छौँ । गत असोजमा गएको बाढी पहिरोले हाम्रोमा ३७ वटा घरहरू नै विस्थापित हुनुपर्ने अवस्था थियो । हाम्रोमा अहिले टहराहरू निर्माण भएर उहाँहरु बस्नको लागि योग्य भइसकेको छ ।
आगामी आर्थिक वर्षमा कस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै हुनुहुन्छ ? के–के तयारी गरिसक्नुभयो ?
कृषि, शिक्षा, स्वास्थ र पुर्वाधारको क्षेत्रमा नै बढी कार्यक्रमहरु हुनेछन् । अहिले चाहिँ हामी कृषिलाई नै जोड दिएर काम गरिरहेका छौँ । यो बर्ष पनि हामीले फलफूलका बिरुवाहरुको कार्यक्रम राखेका थियौँ । आफ्नो रोजाईका कम्तिमा पनि एक सय वटा बिरुवा रोप्नुपर्ने भन्ने योजका साथ हामी काम गरिरहेका छौँ । कृषिको लागि हाम्रो क्षेत्र निकै उर्वर भुमि राहेको छ । कृषि र पशुपालन अहिले हाम्रो पहिलो प्राथमिकता रहेको छ । आगामी बर्ष पनि हामो विशेष पहिलो प्राथमिकता यही क्षेत्रमा रहेको छ । त्यो बाहेक थप केही आवश्यकता परिहालेमा हामी गर्नेछौ ।
विपद ब्यबस्थापन पूर्व तयारी के छ ?
विपद ब्यबस्थापनको लागि भनेर पनि हामिले आवश्यकता पर्न सक्ने सामान्य सामानहरू चाहिँ तयारी स्वरूप राखिरहेका छौँ तर त्यो पर्याप्त छैन । हामीसँग अहिले पाल, केही थान कपडा र सामान्य औजार उपकरणका सामानहरू छन् । नीति तथा कार्यक्रममा नै समेटिने गरी विपदको लागि केही रकमहरू छुट्याउने भन्ने छ । गतमा असोजमा गएको बाढी पहिरोले हामीलाई धेरै कुरा सिकाएको पनि छ । त्यसकारण हामी केही न केही रुपमा पहिलेभन्दा अहिले तयार अवस्थामा छौँ । विपद भन्ने कुरा कतिबेलामा कत्रो आकारमा आउँछ भन्न सकिने कुरा पनि भएन । त्यसकारणले यति नै तयारी पूर्ण छ भन्न चाहिँ सकिँदैन तर पनि हाम्रो तर्फबाट सकेको गरेका छौँ ।
स्वास्थ्यको क्षेत्रमा चाहिँ तपाईँको वडामा के छ प्रगति ? आगामी योजना के छन् ?
स्वास्थ्य निकै संवेदनशील विषय भएकोले पनि यसमा काम नगर्ने भन्ने त हुँदैन । हाम्रोमा भएका स्वास्थ्य संस्थाहरूमा औषधि अभावहरू हुन दिएका छैनौँ । नियमित उपचारलाई निरन्तरता दिँदै आएका छौँ । हामीसँग सीमित बजेट हुँदाहुँदै पनि हामीले यस क्षेत्रलाई निकै महत्वका साथ हेरेका छौँ । फलामेसाङ्गुमा एउटा अस्पताल थियो । सबै बनेका संरचनाहरू पनि गत असोजको बाढी पहिरोले बगायो । पाल टाँगेर भएपनि हामीले सेवा चाहीँ दियौँ । अहिले डब्लुएचओबाट आएको सहयोगले ४५ लाख बराबरको एउटा भवन बनाएर सबै सेवाहरू अहिले उक्त भवनबाटै प्रदान गरिरहेका छौँ । अरु कामहरू त निरन्तर रुपमा चलिरहेको नै छ । बर्थिङ सेन्टरबाट पनि नियमित सेवाहरू प्रदान हुँदै आएको छ ।
शिक्षाको क्षेत्रमा चाहिँ के छ तपाईंको वडाभित्र भएका कामहरू ? शैक्षिक गुणस्तर वृद्धिको लागि के कस्तो कामहरू गरिरहनु भएको छ ?
शैक्षिक गुणस्तर वृद्धि गर्दै नतिजा राम्रो बनाउनको लागि हामीले सकभर पहलकदम सकेका गरिरहेको नै छौँ । विशेषगरी एसइइ दिने बालबालिकाहरूलाई आवासको समेत व्यवस्थापन गर्दै आएका छौँ । विभिन्न खालका अतिरिक्त क्रियाकलापहरू सञ्चालन नियमित रूपमा भइरहेको छ । भइरहेको कामहरूलाई पनि निरन्तरता दिनेछौँ । हामीलाई पालिकाको शिक्षा शाखा अन्तर्गत पनि विभिन्न कार्यक्रमहरू आइरहेको हुन्छ । यसैगरी हामीले बालबालिकालाई विद्यालयको पहुँचमा पुर्याउनको लागि विद्यालय खोल्ने बेलामा नै भर्ना अभियानदेखि नै विभिन्न खालका कार्यक्रम गर्दै आएका हुन्छौ ।
महिला, बालबालिका, जेष्ठ नागरिक, दलित समुदाय आदीको माग पनि नीति तथा कार्यक्रममा समेटिने गरिएको छ ? बजेट कति विनियोजन हुन्छ यी क्षेत्रमा ?
हामीले लक्षित समुदायलाई आयआर्जनमा केन्द्रित हुने गरेर कामहरू गरिरहेका छौँ । जस्तै उहाँलाई विभिन्न अनुदानहरूमा बढी लक्षित गर्ने गरेका छौँ । चालु आर्थिक वर्षमा पनि लगभग साढे तीन लाख रुपैयाँ बजेट थियो । त्यो बजेटबाट हामीले ३७ जना दलित समुदायका गर्न चाहने व्यक्तिहरुलाई उन्नत जातको बाख्रा दियौ । न्यानो कपडा वितरणको कार्यक्रमहरू पनि गरिरहेका हुन्छौँ । दलित समुदायलाई नै भनेर हामीले कपडा सिलाउने मेसिनहरु पनि उहाँहरुलाई प्रदान गरेका थियौ । विभिन्न संघसंस्थाहरूको सहयोगमा पनि हामीले यस्ता किसिमका कार्यक्रम गर्दै आएका छौँ । यसैगरी महिलाहरूको लागि भनेर हामीले सिलाई बुनाई, ब्युटिसियनको तालिमहरू पनि प्रदान गर्दै आएका छौँ । जेष्ठ नागरिक लक्षित कार्यक्रमहरू पनि छन् । यसैगरी अपाङ्गता भएका नागरिकहरूको लागि पनि विशेष कार्यक्रमहरू गर्दै आएका छौँ । मनोविज्ञान सम्बन्धी विभिन्न कार्यक्रमहरु पनि गर्दै आएका छौँ । अहिले पनि महिलाहरूको लागि सिलाई बुनाई तालिम सञ्चालनमा नै रहेको छ । जुन १ सय ९० घण्टाको घण्टा अवधिको रहेको छ । जहाँ २० जना महिलाहरू सहभागी हुनुहुन्छ । यी कार्यले आगामी दिनमा पनि निरन्तता पाउनेछ ।
तपाईँको वडा बालमैत्री कहिले घोषणा हुन्छ ?
बालमैत्रीको लागि पनि हामीले विभिन्न पहलकदम चालिसकेका छौँ । हाम्रो तर्फबाट गर्नुपर्ने धेरै कामहरु भइसकेको छ र धेरै तयारीहरु बाँकी पनि छ । सकेसम्म हामी आर्थिक वर्ष २०८२÷८३ भित्र नै गर्ने भन्नेमा छौँ । हामीले बालमैत्री वडाका लागि अहिलेसम्म थुप्रै विभिन्न पहलहरू आरम्भ गरिसकेका छौँ । स्वास्थ्य, शिक्षा, सुरक्षाका क्षेत्रमा गरिएको कामले धेरै रोजगार, सहज पहुँच र सुविधा उपलब्ध गराएको छ । अहिले हामी निम्नलिखित कुराहरू सम्पन्न गरिसकेका छौँ । जन्मदर्ता, खोप, विद्यालय भर्ना, बालस्वास्थ्य मापन, बालश्रमरहित पहल, बालविनोद र बालअधिकार सम्बन्धी कार्यक्रमहरू नियमित सञ्चालनमा छ । अभिभावक, शिक्षक, सामाजिक अभियन्ता र स्वास्थ्यकर्मीहरूसँग मिलेर बालमैत्री वातावरण निर्माणका लागि कुटनीतिक भेटघाटहरू, मनोपरामर्श र कार्यशालाहरू सञ्चालनमा छ । यो सबै तयारी र कार्यान्वयन विराट सही दिशातर्फ अगाडि बढिरहेको संकेत हो । यदि बाँकी सूचकहरूमा समयमै प्रगति रिपोर्ट गरियो भने, आर्थिक वर्ष २०८२÷८३ भित्र वडालाई बालमैत्री घोषणा गरिनु पूर्णतः समुचित हुनेछ ।
निर्वाचनको समयमा के–के कार्यक्रम गर्ने भनेर तपाईँहरूको पनि लक्ष्य उद्देश्य थियो होला । जनता सामु तपाईँहरूको प्रतिबद्धता पनि थियो । अहिले ती कति पूरा भए कति बाँकी छन् ?
चुनावको बेला हामीले बोलेका अथवा गर्छु भनेका कामहरू हामीले बिस्तारै पूरा गर्दै आइरहेका छौँ । बेलाबखतमा प्रकृतिक विपदले दुःख दिन्छ नत्र भने सकेसम्म काम भएको छ । ठाउँठाउँमा मन्दिरहरू निर्माण भएको छ । चण्डीचौर भन्ने ठाउँमा त्रिमूर्ति बनेर सम्पन्न हुँदैछ । तीनधारे झरना जाने बाटो सहज बनाउन पनि हामीले विभिन्न त्यहाँ पूर्वाधारका कामहरु गरेका छौँ । बालबालिकाको क्षेत्रमा पनि एसओएसबाट विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ । पूर्वाधारको क्षेत्रमा पनि हामीले धेरै कामहरू गरिसकेका छौँ । शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका विषयहरु हामीले चुनावको बेलामा समेटेका थियौ । त्यो अहिले पूरा हुने चरणमा रहेको छ ।
“घर घरमा सिंहदरबार” यो नाराले कतिको सार्थकता पाएको छ ?
घर घरमा सिंहदरबार भन्ने त एउटा नामाकरण जस्तो मात्र भएको छ । वडा सबैभन्दा नजिकको सरकार भएकाले सम्पूर्ण दोषहरू हामीले लिनुपर्छ । धेरै बोझ वडाले नै खेप्नुपर्ने हुन्छ । घर घरमा सिंहदरबार भन्नलाई जति सजिलो छ, त्यसलाई पूरा गर्न उति नै गाह्रो छ । हाम्रो वडाको बजेट भनेको जम्मा २० लाख÷३० लाख हुन्छ । वडाको मात्र पहलले त कसरी सिंहदरबार बनाउन सकिएला र यति बजेटमा ! तत्कालीन अवस्थालाई हेर्ने हो भने चाहिँ नागरिकहरूलाई सामान्य कामको लागि टाढा जानु पर्दैन । नजिकैको वडामा आएपनि समस्याको समाधान हुन्छ । यसैगरी सडक विस्तार गर्ने कुरालाई पहिलादेखि नै प्राथमिकतामा राखेकाले यसले पनि केही सहज भएको छ । उहाँहरूबाट कुनै माग आएन भने पनि हामी टोलटोलमा गएर निरीक्षण गर्छौं र आवश्यकताको आधारमा पनि हामीले बजेटहरुमा गरेर काम गरेका छौँ । हाम्रोमा विभेद छैन । नागरिकहरूबाट पनि राम्रै प्रतिक्रियाहरू आइरहेको छ । हामीले हाम्रो तर्फबाट निर्वाह गर्नुपर्ने भूमिका, निभाउनुपर्ने जिम्मेवारी र कर्तव्य पूरा गरिरहेका नै छौँ । आगामी दिनमा पनि हामी यसलाई निरन्तरता दिँदै जानेछौँ ।

ताजा अपडेट

२०८२ कार्तिक २८, शुक्रबार

कृषिका विविध कार्यक्रम गरिरहेका छौं

२०८२ कार्तिक २२, शनिबार

विदेश छाडेर पाखाबारी सजाउँदै कुँवर

२०८२ कार्तिक १७, सोमबार

पशुपालनमा रुपेशको लोभ लाग्दो छलाङ

खोजी गर्नुहोस