
आर्थिक वर्ष २०८१/८२ कस्तो रह्यो ? कति प्रतिशत योजना सम्पन्न होला त ?
हाम्रो समग्र बजेट ९६ करोड थियो । गत असोजमा गएको बाढीपहिरोपछि योजना सम्झौतामा केही ढिलाई भयो । अघिल्लो वर्षको कार्ययोजना सम्पन्नको हिसाबले हेर्दा लगभग ५४ प्रतिशतले सम्पन्न भएको रहेछ । टेन्डर पनि ढिला लाग्यो । सम्झौता पनि ढिला भएको कारण कार्यक्रमहरू सम्पन्न गर्न ढिलाई भयो । अब निकै थोरै समय छ । यसमा पनि सकेसम्म धेरै कामहरू गर्ने प्रयत्न गरिरहेका छौँ । हामीले सकेसम्म धेरैवटा कामहरू गर्ने प्रयास गरिरहेका छौँ । ठूला साना योजना सबैलाई समग्रमा मिलाएर लगिरहेका छौँ ।
आर्थिक वर्ष २०८२/८३ मा चाहिँ कस्ता खालका योजनाहरूलाई प्राथमिकता दिँदै हुनुहुन्छ ?
नगरपालिकामा हामीले आर्थिक वर्ष २०८२/८३ को लागि भनेर ८२ करोड ५१ लाख ८४ हजार ८ सय २ रूपैयाँ बजेट नीति तथा कार्यक्रम पेश गरेका छौँ । अब चाहिँ हामी कृषि र शिक्षामा अलिकति केन्द्रित भएर काम गर्ने भनेर लागिरहेका छौँ । पूर्वाधारको क्षेत्रमा विगतका वर्षहरूमा धेरै काम भइसकेको छ । सडक ढलान गर्ने, पिच गर्ने कामहरू पहिले हाम्रो प्राथमिकतामा थियो । यो वर्ष चाहिँ तिनलाई मर्मत पनि गर्दै जानुपर्छ भन्ने हाम्रो योजना छ । गत असोज महिनामा गएको बाढी पहिरोले हाम्रो पाँचखाल नगरपालिकामा भौतिक क्षतिहरू बढी नै भएको छ । त्यसकारण अब चाहिँ हामी विपद व्यवस्थापनको पाटोमा पनि पूर्व तयारी स्वरूप बलियो भएर बस्नुपर्छ भनेर योजनाहरु बनाउँदै अघि बढिरहेका छौँ । सबैभन्दा धेरै चाहिँ कृषिमा नै लक्षित भएर काम गर्नेछौँ ।
स्वास्थ्यको लागि पनि विशेष कार्यक्रमहरू केही गरिरहनु भएको छ त ?
विशेषगरी विपन्न वर्गलाई स्वास्थ्यको पहुँचमा पुग्न गाह्रो छ । त्यसमा पनि अलि ठुलै रोग लाग्यो भने त धेरै नै समस्या हुन्छ । आर्थिक विपन्नताको कारण यस्तो समस्याहरू आइरहेको हुन्छ । दीर्घ रोग लागेकालाई त झन् औषधि उपचार गर्नलाई नै गाह्रो भइरहेको हुन्छ । वार्षिक ५० हजारसम्म मात्र आय हुनेहरूको लागि निःशुल्क स्वास्थ्य बीमाको अवधारणा अगाडि बढाउँदै छौँ । अरु पुराना कार्यक्रमहरू निरन्तर रुपमा चलिनै रहनेछ । नयाँ कार्यक्रमको रुपमा हामीले यसलाई अगाडि बढाउँदै छौँ । निःशुल्क स्वास्थ्य बीमाको कुराहरू हामीले पहिले पनि गर्दै आएको कार्यक्रम हो । अपाङ्गता भएका व्यक्तिहरूको लागि हामीले पहिला पनि गरेका छौँ । अहिले चाहिँ अतिविपन्न भएका परिवारको लागि हामीले यसरी यो कार्यक्रम समावेश गर्न लागेका हौँ । वडाको पनि नियमित रूपमा सञ्चालन भइरहेका स्वास्थ्यका सेवा सुविधा निरन्तर रुपमा चलिनै रहनेछ ।
शैक्षिक विकासको लागि तपाईंको वडामा भइरहेका कामहरू के–के छन् ?
शैक्षिक गुणस्तर वृद्धि गर्नको लागि इसीडी लेबलदेखिकै शिक्षकहरुलाई हामीले तालिमहरू प्रदान गर्दै आएका छौँ । विद्यालय मर्ज गर्दै दरबन्दी मिलान गरेर अगाडि बढिरहेका छौँ । विभिन्न सङ्घसंस्था मार्फत पनि शैक्षिक गतिविधिहरू सञ्चालन भइरहेको अवस्था छ । उहाँहरूलाई नीतिमा लिएर आएर बजेटहरू विनियोजन गर्दै समन्वयात्मक रूपमा काम गर्ने भन्ने पनि छ । सबैजना बालबालिका शिक्षाको पहुँचसम्म पुग्नुपर्छ भन्ने हाम्रो मुख्य उद्देश्य हो । उहाँहरूलाई विद्यालयको पहुँचसम्म पु¥याउँदै शैक्षिक गुणस्तर वृद्धि गर्दै जाने भन्ने हाम्रो योजना रहेको छ । सोहीअनुसार हामी अगाडि बढिरहेका पनि छौँ ।
निर्वाचनको समयमा के–के कार्यक्रम गर्ने भनेर तपाईँहरूको पनि लक्ष्य उद्देश्य थियो होला । जनता सामु तपाईँहरूको प्रतिबद्धता पनि थियो । अहिले ती कति पूरा भए कति बाँकी छन् ?
चुनावको बेलामा हामीले घोषणापत्र जारी गरेका थियौँ । सोहीअनुसार नै हामी त्यसलाई फलो गर्दै अगाडि बढिरहेका छौँ । पूर्वाधार निर्माणका विषयहरूमा पुल, सडक, भवन लगायतका कुराहरू अगाडि बढिरहेका छन् । हामीलाई निकै चुनौतीहरू पनि छ । नगरपालिकामा आन्तरिक आयस्रोत एकदमै न्यून छ । संघ र प्रदेशको बजेटमा मात्रै हामीले ठूला परियोजना गर्न निर्भर हुनुपर्ने भएकाले अलि समस्या छ । सुरुको बेला हामी जुन लक्ष्य उद्देश्यको साथ आएका थियौं, त्यो सबै पूरा गर्नको लागि विभिन्न कठिनाइहरू पनि छ । तथापि हामीले पाँचखालमा अरूको तुलनामा पूर्वाधार विकास निर्माणको काममा राम्रै गरेका छौँ । चुनावताका हामीले घोषणापत्रमा जनता आवास कार्यक्रम गर्ने, भूकम्प पीडितदेखि लिएर विपन्न अतिविपन्न वर्ग, घरबारविहीनलाई आवासको व्यवस्था गर्ने भनेर एउटा संस्थासँग मिलेर काम गरेका थियौँ । केही दिनअघि मात्र १५ वटा घर अति विपन्न परिवारलाई हस्तान्तरण पनि गरिसकेका छौँ । ४० वटा घर बनाएर हस्तान्तरण गर्ने हाम्रो उद्देश्य थियो । सोहीअनुरूप अहिले हामी अगाडि बढिरहेका छौँ । पाँचखाल नगरपालिकामा उत्पादन भएका कृषि बालीमा प्रयोग भएको विषादी पहिलेदेखि नै चर्चाको विषय बन्दै आएको थियो । यसलाई न्यूनीकरण गर्नको लागि पाँचखाल नगरपालिका र लव ग्रिन नेपालसँग साझेदारी गर्दै आइपीएम कृषि प्रणालीलाई अपनाउँदै आइपीएम पाठशाला सञ्चालन गर्दै आइरहेका छौँ । अहिले चाहिँ विषादीहरू एकदमै कम हुँदै गइरहेको छ भन्ने ल्याब टेस्टबाट पनि तथ्याङ्कहरु आएर पुष्टि हुँदै गइरहेको छ । हामीले हाटबजारको रूपमा केही सटरहरू पनि सञ्चालन ग¥यौँ । त्यसमा आइपीएम विधिबाट उत्पादन भएका तरकारीहरू बेच्न सुरु गरिसकेका छौँ । यसरी हेर्दा हामीले कृषिमा आधुनिककरण यान्त्रीकरण व्यवसायीकरण गर्दै किसानहरूलाई आर्थिक उपार्जनमा अब्बल बनाउने भन्ने हाम्रो लक्ष्य पूरा हुँदै गएको भन्ने हामीले देखेका छौँ । शिक्षामा पनि पहिलेको अनुपातमा धेरै सुधार भइरहेको छ । पछिल्लो समय हामीले १०÷११ वटा विद्यालय मर्च गरिसकेका छौँ । दरबन्दी मिलानको काम पनि द्रुत गतिमा अगाडि बढिरहेको छ । बृहत् सुनकोशी खानेपानीको काम पनि अहिले लगभग सम्पन्न भएर हरेक घरमा हामीले पानीसहितको धारो खसाल्न सफल भएका छौँ । यो नगरपालिका, नगर विकास कोष र एडिबीको संयुक्त लगानीमा सुरु भएको परियोजना थियो । केही दिनमा यसले पूर्णता पाउँदैछ । अहिले हामीले जनता सामु जनाएर आएको प्रतिब दु्रत यसरी नै हामीले पूरा गर्दै गइरहेका छौँ ।
“घर घरमा सिंहदरबार” यो नाराले कतिको सार्थकता पाएको छ ?
नागरिकहरूको स्थानीय तहको जिम्मेवारी, स्थानीय तहसँग उहाँले राख्नुभएको आशा अपेक्षा अनुरुप कामहरू गर्दै गइरहेको छौँ । उहाँहरुलाई अप्ठ्यारो परेको बेलामा प्रशासनिक काम या विपदको समय, सरकार अभिभावक बनेर उभिनुपर्ने ठाउँमा पाँचखाल नगरपालिका उभिएको छ । उहाँहरुले पनि यो कुराको महसुश गर्नुभएको छ भन्ने हामीलाई लाग्छ । हाम्रो तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकामा हामी पछि परेका छैनौँ । आगामी दिनमा पनि यसरी नै हामी उहाँहरूको साथमा खडा हुनेछौँ । एकैपटक त पुरा हुन गारो छ । तर विस्तारै विस्तारै हामीले यो नारालाई पुर्णता दिने गरी काम गरिरहेका छौँ । विकास निमार्णको काममा पहिलेकोभन्दा धेरै नै सुधार पनि आएको छ ।
लक्षित समुदायको लागि कार्यक्रमहरू पछिल्लो समय खासै भएनन् भन्ने गुनासो पनि आउँछ नि ! तपाईंको वडामा अवस्था के छ ? यस्ता गुनासोहरू आउन नदिनको लागि तपाईंहरूको तर्फबाट भइरहेको प्रयास के छ ?
हामी लक्षित समुदायको लागि वडाबाट पनि छुट्टै बजेटहरू विनियोजन गरेर काम गर्छौं । नगरपालिकाबाट पनि यो शीर्षकमा छुट्टै कामहरु हुने गरेको छ । युवा लक्षित, महिला लक्षित, बालबालिका लक्षित, दलित लक्षित, अपाङ्गता लक्षित लगायतका कार्यक्रमहरू भइरहेको छ । संघ र प्रदेशले पनि सशस्त्र बजेटमार्फत उहाँहरूलाई सम्बोधन गर्नेगरी कार्यक्रम गरिरहेको हुन्छ । खेतीबाली पशुपालन लगायतका शीर्षकमा पनि लक्षित वर्गलाई समेटेर कार्यक्रम भइरहेको हुन्छ । आयार्जनसँग जोडेर विभिन्न सिपमूलक तालिमहरू पनि प्रदान गरिरहेका हुन्छौँ । यसले गर्दा कार्यक्रमहरु शुन्य त छैन । तर अझै पर्याप्त रुपमा गर्नुपर्ने छ भन्ने लागिरहेको छ ।
वडाको विकासको लागि अन्य निकायहरूसँग तपाईंले कतिको समन्वय गरिरहनुभएको हुन्छ ?
संघ प्रदेशमा समन्वय गर्ने साझेदारीका कार्यक्रमहरू गर्ने काम त निरन्तर रुपमा गरिरहेका छौँ । त्यो बाहेक कतिपय दात्री निकाय विभिन्न संघसंस्थाहरूसँग पनि समन्वय गरेर काम गरिरहेका हुन्छौँ । एकद्वार नीति अन्तर्गत कुनै शिक्षा, कुनै कृषि र स्वास्थ्य क्षेत्रसँग समन्वय गरेर काम गरिरहेका छौँ । यो वर्ष पनि हामीले धेरैवटा ठाउँमा फलफुलका बिरुवाहरू, माटो सुहाउँदो बिरुवाहरू लगाउने काम निरन्तर रूपमा अगाडि बढिरहेको छ । वडाको मात्र या पालिकाको मात्र बजेटले सबै वकास निमार्णका कामा गर्न कठिनाई नै हुन्छ । त्यसकारण हामीले अरु क्षेत्रबाट पनि बजेट ल्याएर काम गरिरहेका हुन्छौँ । हाम्रो समन्वयको अहिलेसम्म पाटो बलियो नै छ ।
तपाईंको वडा कहिलेसम्ममा बालमैत्री वडा घोषणा हुन्छ ?
बागमती नगर घोषणा गर्ने हामीले तयारी गरिरहेका छौँ । हाम्रो नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत हुनुभन्दा अगाडि पनि एक चरण यो विषयमा छलफल भइसकेको छ । हरेक वडाले आफ्ना वडाभित्रका बालक्लब सञ्जालहरूलाई थोरै मात्रामा भएपनि बजेट विनियोजन गरेर अगाडि बढ्ने र नगरपालिकाबाट पनि बजेटहरु छुट्याएर संगठित रुपमा अगाडि बढ्ने भनेर छलफल भएको छ । सबै सूचकहरू पूरा गरेर हामी छिट्टै नै नगरलाई बालमैत्री नगर घोषणा गर्ने गरी अगाडि बढेका छौँ । अबको आर्थिक वर्षमा यो पूरा हुन्छ ।
योजनाहरू सम्पन्न गर्नको लागि वडागत रुपमा के कस्ता समस्याहरु देखिरहेका छन् ? तिनको समस्या कसरी गरिरहनुभएको छ ?
समस्याहरू त विभिन्न खालका भइनै रहेका हुन्छन् । नागरिकहरूको अपेक्षा धेरै हुन्छ । थोरै समयमा धेरै काम सम्पन्न भए हुन्थ्यो भन्ने उहाँहरूको पनि धारणा हुन्छ । उहाँहरूको आशा अपेक्षा पनि धेरै छ । काम गर्ने क्रममा विभिन्न खालका अरु समस्याहरु पनि आइरहेका हुन्छन् । बेलाबखतमा आइपर्ने विभिन्न प्राकृतिक घटनाहरूले पनि समस्या खडा गर्दिन्छ । काम गर्ने क्रममा कन्ट्रक्टरहरूसँग पनि विभिन्न समस्या भइरहेको हुन्छ । बजार भाउ घटबढ भइरहँदाखेरि पुरै एक आर्थिक बर्षमा एउटा योजना सम्पन्न नभैसक्दै बजेट फ्रिज हुने अवस्था पनि रहन्छन् । यसो हुँदा सुरुमा एउटा बजार मूल्य अनुसार हामी गएका हुन्छौं, पछि भुक्तानी गर्ने बेलामा खर्च बढी आएको धेरै उदाहरण पनि छ । भूगोलको कारण पनि योजनाहरू सम्पन्न गर्न समस्या भइरहेको हुन्छ । यसले गर्दा पनि सोचे अनुरुप योजनाहरू सम्पन्न हुन सकिरहेको हुँदैन ।