समुदायमा आधारित एक वडा एक कृषि उत्पादनलाई जोड दिएर हामीले यो वर्ष कार्यक्रमहरु गर्यौ


समुदायमा आधारित एक वडा एक कृषि उत्पादनलाई जोड दिएर हामीले यो वर्ष कार्यक्रमहरु गर्यौ

आर्थिक वर्ष २०८१÷८२ मा तपाईँको वडाभित्र सम्पन्न भएका कार्यक्रमहरू के के छन् ?
हामीले आर्थिक वर्ष २०८१÷८२ मा धेरै कामहरू गर्न सकेनौँ । यसको कारण भनेको गत असोजमा गएको बाढी पहिरो हो । वडाको सिलिङ बजेट पनि एकदमै न्यून भएकाले हामीले भने जसरी कामहरू चाहिँ गर्न सकेनौँ । स्वास्थ्य र खानेपानीको क्षेत्रमा भने राम्रै काम भएको छ । सडकको क्षेत्रमा धेरैथोर काम गर्यौ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत हामीले केही सामान्य सडक सरसफाईका कामहरू गरेका छौँ । खोरङ भन्ने ठाउँमा एउटा नयाँ सडकको ट्रयाक खोल्ने काम पनि भएको छ । नयाँ ट्रयाकहरू खोल्नेभन्दा पनि सडकहरु पक्की बनाउनुपर्छ भन्नेतर्फ हाम्रो आगामी योजनाहरू केन्द्रित हुनेछन् । कृषि र पशुपालनको क्षेत्रमा पनि हामीले यो वर्ष केही काम गरेका छौँ । समुदायमा आधारित एक वडा एक कृषि उत्पादनलाई जोड दिएर हामीले यो वर्ष कार्यक्रमहरु गर्यौ । यो कार्यक्रम गाउँपालिका र प्रदेशको साझेदारीमा सम्पन्न भएको कार्यक्रम हो । शिक्षा, स्वास्थ, खानेपानी, सडक यी नै क्षेत्रमा हो हामीले काम गर्ने । वडा अध्यक्षले आफ्नो वडा कार्यालयभित्रका नागरिकलाई जुन दिनुपर्ने सुविधा हुन्छ, हामीले सोही अनुसार सोवा दिन्छौँ । जस्तो वडा अध्यक्षले सिफारिस मात्र ३७ प्रकारको गर्नुपर्नेछ । त्यसलाई पनि हामी निरन्तरता दियौँ ।
आर्थिक वर्ष २०८२÷८३ मा कस्ता कार्यक्रमलाई केन्द्रित गरेर योजनाहरू बनाउँदै हुनुहुन्छ ?
त्यहाँबाट पनि धेरै कार्यक्रमहरूको डिटेल आउने नै छ । नागरिकहरूको माग धेरै छ । हामी त अझ नजिकको सरकार भएकाले नागरिकहरूबाट गुनासो पनि उत्तिकै मात्रामा आइरहेको हुन्छ । तर बजेटको सीमा भित्र रहेर मात्रै काम गर्न सकिने हाम्रो अर्को बाध्यता रहेको छ । त्यसकारण हामीले चाहेर पनि भने जस्ता कार्यक्रमहरु ल्याउन सकेका छैनौँ । भौगोलिक विकटताको कारण गर्नुपर्ने विकासका कार्यक्रमहरू धेरै छन् । तर धेरै गर्न नसकेर अलपत्र परेका पनि छन् । सडकहरूको लागि निकै समस्या छ । सडक केन्द्रित कार्यक्रमहरूलाई नै विशेष फोकस गर्नुपर्ने अवस्था छ । किनभने जबसम्म सडकको काम पक्की हुँदैन तबसम्म अरु योजना सम्पन्न गर्न गाह्रो पर्छ । भनेजति पर्याप्त बजेट नहुँदा हामीले कामहरू पनि धेरै गर्न सकेका छैनौँ । वडाको बजेट भनेको त एउटा शीर्षकमा एक÷डेढ लाखभन्दा माथि खर्च भएको हुँदैन । त्यसैले ठूला योजनाका लागि माथिल्लो निकायसँग नै भर पर्नुपर्ने अवस्था छ । संघ र प्रदेशसंग समन्वय गरेर जुन कुरामा जनताले समस्या भोगिरहेका छन, त्यो समस्या हटाउने हाम्रो प्रयास जारी रहेने छ । अर्को जनताले चाहेको विषयको विकास गर्ने कार्यमा मात्र अगाडि बड्ने छु भन्ने मेरो योजना छ । योजनाकै रुपमा शिक्षा, स्वास्थ, खानेपानी, सडक आदि विषयमा के कस्तो कार्यक्रम बनाएको छौँ । हाम्रो बढी जस्तो बजेट चाहिँ खानेपानी र सडकमा रहेको छ । पशुपालन, शिक्षा, स्वास्थमा पनि हाम्रा कार्यक्रमहरु रहने छन् ।
संघीय सरकार, प्रदेश सरकार वा अन्य निकायहरूसँग बजेट अथवा कार्यक्रम ल्याउन कतिको समन्वयात्मक भूमिका निर्वाह गरिराख्नु भएको छ ?
हाम्रो तर्फबाट मात्र समन्वय भएर नहुने रहेछ । माथिल्लो निकायबाट पनि पहल भयो भने सहज हुने हो । संघीय सरकार, प्रदेश सरकारबाट जति विनियोजन भएर आउँछ, त्यसकै आधारमा मात्र चलेका छौँ । अरु कहाँ जानुपर्ने हो बजेटको लागि भन्ने पनि हामीसँग आइडिया छैन । कुनै संघसंस्थाहरू आयो भने हामीले बाटो खुल्ला गरेका छौँ ।
तपाईँको वडामा कृषिमा कतिको सम्भावना छ ? कृषिमा यान्त्रीकरण, व्यावसायकरण, आधुनिकीकरणका कार्यक्रमहरू कत्तिको गरिरहनुभएको छ ?
वडामा त कृषिमा निर्भर हुनुभएको धेरैजना हुनुहुन्छ । कृषिको कार्यक्रमहरु पनि हामीले पछिल्लो समय गरिरहेका नै छौँ । पहिले चाहिँ हामीले कृषि अनुदानको कार्यक्रममा बढी फोकस गरेका थियौं तर त्यसको खासै राम्रो उपलब्धि नभएपछि अहिले अलि कमै मात्रामा गर्नुपर्छ भनेर हामी लागि परेका छौँ । गाउँपालिकाबाट अनुदानको कार्यक्रमहरू चाहिँ पर्याप्त मात्रामा भएको छ । एक दुईवटा बाख्रा, गाईभैंसी नपालेको कुनै घरहरू पनि छैन । सबैजना त्यसैमा निर्भर भएर आर्थिक उपार्जन गरिरहनु भएको छ । कृषिमा निर्भर रहेका कृषकलाई कृषि तालिम, उन्नत विउविजन एवं विरुवा, प्रविधि र व्यवसायिकताको पहुँचमा ल्याई आधुनिक, स्वच्छ र दिगो कृषिको स्थापना गर्नतर्फ हाम्रो वडा लागि परेको छ । नेपालको प्रशासनिक संरचना परिबर्तन भएसंगै तीन तहबाट कृषि सेवाहरु प्रदानहँुदै आएकोमा वडाले पनि गर्न सक्नेसम्मको काम गरिरहेको छ । सम्भाव्यता तथा भौगोलिक विषेशताका आधारमा कृषि उत्पादन, उत्पादकत्व वृद्धि गर्नुपर्छ । अर्को भनेको निर्वाहमुखी कृषि प्रणालीलाई नाफामुलक, दिगो एवं व्यवसायिक प्रणालीमा रुपान्तरण गर्न वडाले काम गर्नेछ । कृषिमा आधारित उद्योग विकास गरी रोजगारी एवं आयस्तर वृद्धि गर्ने योजना त छ, अब गर्दै जाउँ कति पूरा हुन्छ । कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने हाम्रो लक्ष छ । कृषि उपजहरुको बजार व्यवस्था एवं कृषिजन्य लघुउद्यमहरुलाई बढावा दिई गैर फार्म रोजगारी वृद्धि गर्नेगरी कार्यक्रम ल्याउनको लागि वडा लागि पर्नेछ । देश विकास गराउने हो भने कृषकहरुलाई अग्रसर गराउन आवश्यक छ ।
शैक्षिक गुणस्तर वृद्धिको लागि तपाईंको वडाले के कस्तो कार्य अगाडि बढाइरहेको छ ?
वडाको एकल पहलले सम्पूर्ण शिक्षा जगतमा प्रभाव पार्ने ठूला कामहरू गर्न सक्दैन तर यसमा नागरिक सहभागिता भयो भने पक्कै पनि हुन्छ । त्यसकारण हामीले शैक्षिक विकासको लागि विद्यालय स्तरमा विभिन्न कार्यक्रमहरु गरिरहेका छौँ । गाउँपालिकाले पनि थप कार्यक्रम शिक्षा शाखा अन्तर्गत गरिरहेको छ । शिक्षकहरू नियुक्ति प्रक्रियामा चाहिँ अलि चित्त नबुझेको हो । शिक्षक जथाभावी नियुक्त हुँदा गुणस्तरीय शिक्षामा केही प्रभाव पर्यो कि भन्ने महसुस गरेका छौँ । शिक्षा जस्तो विषयमा राजनीतिक संरक्षण हुनु हुँदैन भन्ने मेरो धारणा हो । शिक्षा एक आधारभूत मौलिक अधिकार हो । सामुदायिक प्रारम्भिक बाल शिक्षा र अभिभावक शिक्षामार्फत पिछडिएका क्षेत्रहरुमा प्रारम्भिक सिकाईको पहुँचलाई वृद्धि गर्ने हाम्रो उद्देश्य छ । नीतिगत पैरवीका कुराहरु पनि छ । शिक्षाको गुणस्तर वृद्धि गर्ने कार्यक्रमहरु ल्याउन पहल भने निरन्तर जारी छ । विद्यालयमा आधारित प्रारम्भिक बाल शिक्षालाई समान रुपमा वितरण गर्न स्थानीय सरकारलाई सघाउने र हामीले पनि काम गर्नेछौँ ।
वडामा भएको स्वास्थसंस्था बाट प्रवाश हुने सेवाहरु अझै प्रभावकारी बनाउन वडाले कस्तो भुमिका खेल्न सक्ला ?
वडामा स्वास्थ्य सस्था छ । हामीले त्यो स्वास्थ्य चौकीमा चाहिँ राम्रै सुविधाहरु दिन सकेका छौँ । सामान्य सुविधाहरूको लागि उहाँहरु बाहिर जानुपरेको अवस्था छैन । औषधि अभाव भएको भन्ने खासै छैन । ठूलो हस्पिटल नै पु¥याउनु पर्यो भनेपछि अलि समस्या हुने हो । किनभने बाटोहरू हाम्रोमा पक्की छैन । हाम्रो गाउँपालिका धेरै दुर्गम भएकाले वडाले भन्दा पनि सेवाहरु प्रभाकारी बनाउन माथिल्लो सरकारले नै धेरै हेर्नू पर्ने हुन्छ । यसमा वडा कार्यलयले हातेमालो गर्ने कुराहरु त छदैँ छ तर वडाले मात्र गर्न सक्दैँन । त्यसकारण स्वास्थ्यको कुरामा गर्न सक्नेजति वडाले गर्ने र नसक्ने जती माथिल्लो निकायबाट हुनुपर्ने जस्तो लाग्छ मलाई । हामी समन्वयको काम गर्न तयार छौँ र गछौँ पनि । स्वास्थ्यका सुविधा प्रभावकारी बनाउनको लागि पनि हाम्रो पहिलो प्राथमिकता भनेको सडक नै हुनेछ । किनकी यहाँको सडकको कारण नै बर्खायाममा अस्पतालसम्म जान नसकेको र हेलिकप्टरबाट उद्धार गर्नु परेकोहुँदा सडकलाइ हामिले प्राथमिकता दिएर काम गर्नेछौं ।
विपत् व्यवस्था व्यवस्थापन पूर्व तयारी केही छ ? छुट्टै वडाले बजेट विनियोजन नै गरेर केही काम गर्ने गरेको छ त ?
सम्पूर्ण कोषहरू विपद व्यवस्थापनको लागि गाउँपालिकाले नै व्यवस्थापन गरेको छ । केही परिहाल्यो भने हाम्रो वडामा पनि त्यही बजेट मार्फत काम हुने हो । छुट्टै वडाले बजेट चाहिँ विनियोजन गरेको छैन । सामान्य औजार उपकरणहरू पनि अहिलेको छैन ।
कार्यक्रमहरू सम्पन्न गर्ने क्रममा कस्ता खालका चुनौतीहरु आउँछन् ? तिनको समाधान वडाले कसरी गर्दै आएको छ ?
मुख्य समस्या भनेको त सडकको नै हो । सडकहरू पकि नहुँदा हामीले अरु कार्यक्रमहरू गर्दा पनि विभिन्न खालका चुनौतीहरु भोग्नु परिरहेको छ । यसमा पनि विशेष कारण भनेको त बजेट नहुनू हो । बेलाबखतमा आइरहने विभिन्न साना बाधा व्यवधान भनेको त छँदै नै छ । तिनलाई हामीले वार्तामै समाधान गर्छौ । वडामा बजेट सिलिङ जति जति आउँछ त्यहीबाट सबै काम गर्नुपर्ने हुन्छ । अहिलेको लागि मुख्य चुनौती नै कम बजेट हुनु हो ।
महिला, बालबालिका, अपाङ्गता भएका, नागरिक जेष्ठ नागरिक, दलित, जनजाति पछाडि पारिएका वर्ग लगायतलाई लक्षित गर्दै गर्नुभएको कार्यक्रमहरू के के छ ?
बजेटको सीमितताले गर्दाखेरि हामीले भनेजसरी काम चाहिँ गर्न सकेका छैनौं तर एउटा पनि काम नभएको भन्ने चाहिँ हैन । महिलाहरुलाई सिपमूलक तालिमहरु दिने, दलित जनजाति पछाडि परिएका वर्गहरूलाई आर्थिक उपार्जनमा केन्द्रित हुन पहल गर्ने कामहरू चाहिँ प्रशस्तै भएको छ । पछिल्लो समय हामीले तालिम दिने कार्यक्रमहरूलाई एकदमै कम गरेका छौँ । किनभने तालिमहरू प्राप्त गरिसके पछाडि उहाँहरुले व्यावसायिक रुपमा नगरिदिँदा तालिमको औचित्य खासै नरहेको हामी प्रष्ट भएका छौँ । पहिलाको जस्तो कोटागत रुपमा छुट्टै बजेट हुँदैन । त्यसैले उहाँहरु लक्षित छुट्टै कार्यक्रम सञ्चालन गर्न समस्या छ । पेशा र संस्कृतिसँग जोडिएर केही योजना बन्ने भएपनि विगतमा जस्तो महिला, जनजाति, दलित समुदायको क्षमता विकास सशक्तिकरणका कार्यक्रम स्थानीय तहमा कमै मात्रामा सञ्चालन हुन्छ । लक्षित समूदायको कार्यक्रम कटौती भएपछि अहिले त्यस्ता कार्यक्रमका प्रस्ताव पनि आउन छाडे भनेर धेरै गुनासो पनि आउँछ । अहिले आर्थिक विकास, कृषि, पशुपालन, सडक, खानेपानी लगायतका योजना बढी माग हुनेगर्छ । त्यसकारण पनि हामीम मागअनुसारको काम गर्न लागेकाले पनि कम भएको हुन सक्छ ।
बालमैत्री वडा बनाउने भनेर केही नीतिगत योजना वडाले बनाएको छ त ?
बनाउनुपर्ने चाहिँ हो तर हामीले खासै यसमा पनि धेरै काम गर्न सकेका छैनौँ । सबैमा शिक्षाको चेतना पुग्नुपर्छ भन्ने हाम्रो प्रयास चाहिँ जारी छ । गाउँपालिकाबाट यसको लागि सामान्य कार्यक्रमहरू गरेर सुरुवात चाहिँ भएको छ । हाम्रो वडामा पनि बिस्तारै हुन चाहिँ हुन्छ तर समय चाहिँ लाग्छ ।
तपाईँको वडामा खानेपानीको अवस्था के छ ? यसमा सुधारात्मक योजनाहरु के के बनाउनुभएको छ ?
खानेपानीको अवस्थामा चाहिँ पहिलेको भन्दा धेरै नै सुधार आएको छ। हामीले निर्वाचनपछि पनि यो क्षेत्रमा केही कामहरू गरेका छौँ । खानेपानीको क्षेत्रमा पनि हामीले बृहत योजनाहरू सञ्चालन गर्न सकेका छैनौँ । तर पहिलेको भन्दा खानेपानीको क्षेत्रमा पनि धेरै सुधार चाहिँ भएको हामीले देखेका पनि छौँ ।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस