आर्थिक वर्ष २०८१÷८२ मा तपाईँको वडाभित्र सम्पन्न भएका कार्यक्रमहरू के के छन् ?
हामीले आर्थिक वर्ष २०८१÷८२ मा धेरै कामहरू गर्न सकेनौँ । यसको कारण भनेको गत असोजमा गएको बाढी पहिरो हो । वडाको सिलिङ बजेट पनि एकदमै न्यून भएकाले हामीले भने जसरी कामहरू चाहिँ गर्न सकेनौँ । स्वास्थ्य र खानेपानीको क्षेत्रमा भने राम्रै काम भएको छ । सडकको क्षेत्रमा धेरैथोर काम गर्यौ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत हामीले केही सामान्य सडक सरसफाईका कामहरू गरेका छौँ । खोरङ भन्ने ठाउँमा एउटा नयाँ सडकको ट्रयाक खोल्ने काम पनि भएको छ । नयाँ ट्रयाकहरू खोल्नेभन्दा पनि सडकहरु पक्की बनाउनुपर्छ भन्नेतर्फ हाम्रो आगामी योजनाहरू केन्द्रित हुनेछन् । कृषि र पशुपालनको क्षेत्रमा पनि हामीले यो वर्ष केही काम गरेका छौँ । समुदायमा आधारित एक वडा एक कृषि उत्पादनलाई जोड दिएर हामीले यो वर्ष कार्यक्रमहरु गर्यौ । यो कार्यक्रम गाउँपालिका र प्रदेशको साझेदारीमा सम्पन्न भएको कार्यक्रम हो । शिक्षा, स्वास्थ, खानेपानी, सडक यी नै क्षेत्रमा हो हामीले काम गर्ने । वडा अध्यक्षले आफ्नो वडा कार्यालयभित्रका नागरिकलाई जुन दिनुपर्ने सुविधा हुन्छ, हामीले सोही अनुसार सोवा दिन्छौँ । जस्तो वडा अध्यक्षले सिफारिस मात्र ३७ प्रकारको गर्नुपर्नेछ । त्यसलाई पनि हामी निरन्तरता दियौँ ।
आर्थिक वर्ष २०८२÷८३ मा कस्ता कार्यक्रमलाई केन्द्रित गरेर योजनाहरू बनाउँदै हुनुहुन्छ ?
त्यहाँबाट पनि धेरै कार्यक्रमहरूको डिटेल आउने नै छ । नागरिकहरूको माग धेरै छ । हामी त अझ नजिकको सरकार भएकाले नागरिकहरूबाट गुनासो पनि उत्तिकै मात्रामा आइरहेको हुन्छ । तर बजेटको सीमा भित्र रहेर मात्रै काम गर्न सकिने हाम्रो अर्को बाध्यता रहेको छ । त्यसकारण हामीले चाहेर पनि भने जस्ता कार्यक्रमहरु ल्याउन सकेका छैनौँ । भौगोलिक विकटताको कारण गर्नुपर्ने विकासका कार्यक्रमहरू धेरै छन् । तर धेरै गर्न नसकेर अलपत्र परेका पनि छन् । सडकहरूको लागि निकै समस्या छ । सडक केन्द्रित कार्यक्रमहरूलाई नै विशेष फोकस गर्नुपर्ने अवस्था छ । किनभने जबसम्म सडकको काम पक्की हुँदैन तबसम्म अरु योजना सम्पन्न गर्न गाह्रो पर्छ । भनेजति पर्याप्त बजेट नहुँदा हामीले कामहरू पनि धेरै गर्न सकेका छैनौँ । वडाको बजेट भनेको त एउटा शीर्षकमा एक÷डेढ लाखभन्दा माथि खर्च भएको हुँदैन । त्यसैले ठूला योजनाका लागि माथिल्लो निकायसँग नै भर पर्नुपर्ने अवस्था छ । संघ र प्रदेशसंग समन्वय गरेर जुन कुरामा जनताले समस्या भोगिरहेका छन, त्यो समस्या हटाउने हाम्रो प्रयास जारी रहेने छ । अर्को जनताले चाहेको विषयको विकास गर्ने कार्यमा मात्र अगाडि बड्ने छु भन्ने मेरो योजना छ । योजनाकै रुपमा शिक्षा, स्वास्थ, खानेपानी, सडक आदि विषयमा के कस्तो कार्यक्रम बनाएको छौँ । हाम्रो बढी जस्तो बजेट चाहिँ खानेपानी र सडकमा रहेको छ । पशुपालन, शिक्षा, स्वास्थमा पनि हाम्रा कार्यक्रमहरु रहने छन् ।
संघीय सरकार, प्रदेश सरकार वा अन्य निकायहरूसँग बजेट अथवा कार्यक्रम ल्याउन कतिको समन्वयात्मक भूमिका निर्वाह गरिराख्नु भएको छ ?
हाम्रो तर्फबाट मात्र समन्वय भएर नहुने रहेछ । माथिल्लो निकायबाट पनि पहल भयो भने सहज हुने हो । संघीय सरकार, प्रदेश सरकारबाट जति विनियोजन भएर आउँछ, त्यसकै आधारमा मात्र चलेका छौँ । अरु कहाँ जानुपर्ने हो बजेटको लागि भन्ने पनि हामीसँग आइडिया छैन । कुनै संघसंस्थाहरू आयो भने हामीले बाटो खुल्ला गरेका छौँ ।
तपाईँको वडामा कृषिमा कतिको सम्भावना छ ? कृषिमा यान्त्रीकरण, व्यावसायकरण, आधुनिकीकरणका कार्यक्रमहरू कत्तिको गरिरहनुभएको छ ?
वडामा त कृषिमा निर्भर हुनुभएको धेरैजना हुनुहुन्छ । कृषिको कार्यक्रमहरु पनि हामीले पछिल्लो समय गरिरहेका नै छौँ । पहिले चाहिँ हामीले कृषि अनुदानको कार्यक्रममा बढी फोकस गरेका थियौं तर त्यसको खासै राम्रो उपलब्धि नभएपछि अहिले अलि कमै मात्रामा गर्नुपर्छ भनेर हामी लागि परेका छौँ । गाउँपालिकाबाट अनुदानको कार्यक्रमहरू चाहिँ पर्याप्त मात्रामा भएको छ । एक दुईवटा बाख्रा, गाईभैंसी नपालेको कुनै घरहरू पनि छैन । सबैजना त्यसैमा निर्भर भएर आर्थिक उपार्जन गरिरहनु भएको छ । कृषिमा निर्भर रहेका कृषकलाई कृषि तालिम, उन्नत विउविजन एवं विरुवा, प्रविधि र व्यवसायिकताको पहुँचमा ल्याई आधुनिक, स्वच्छ र दिगो कृषिको स्थापना गर्नतर्फ हाम्रो वडा लागि परेको छ । नेपालको प्रशासनिक संरचना परिबर्तन भएसंगै तीन तहबाट कृषि सेवाहरु प्रदानहँुदै आएकोमा वडाले पनि गर्न सक्नेसम्मको काम गरिरहेको छ । सम्भाव्यता तथा भौगोलिक विषेशताका आधारमा कृषि उत्पादन, उत्पादकत्व वृद्धि गर्नुपर्छ । अर्को भनेको निर्वाहमुखी कृषि प्रणालीलाई नाफामुलक, दिगो एवं व्यवसायिक प्रणालीमा रुपान्तरण गर्न वडाले काम गर्नेछ । कृषिमा आधारित उद्योग विकास गरी रोजगारी एवं आयस्तर वृद्धि गर्ने योजना त छ, अब गर्दै जाउँ कति पूरा हुन्छ । कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने हाम्रो लक्ष छ । कृषि उपजहरुको बजार व्यवस्था एवं कृषिजन्य लघुउद्यमहरुलाई बढावा दिई गैर फार्म रोजगारी वृद्धि गर्नेगरी कार्यक्रम ल्याउनको लागि वडा लागि पर्नेछ । देश विकास गराउने हो भने कृषकहरुलाई अग्रसर गराउन आवश्यक छ ।
शैक्षिक गुणस्तर वृद्धिको लागि तपाईंको वडाले के कस्तो कार्य अगाडि बढाइरहेको छ ?
वडाको एकल पहलले सम्पूर्ण शिक्षा जगतमा प्रभाव पार्ने ठूला कामहरू गर्न सक्दैन तर यसमा नागरिक सहभागिता भयो भने पक्कै पनि हुन्छ । त्यसकारण हामीले शैक्षिक विकासको लागि विद्यालय स्तरमा विभिन्न कार्यक्रमहरु गरिरहेका छौँ । गाउँपालिकाले पनि थप कार्यक्रम शिक्षा शाखा अन्तर्गत गरिरहेको छ । शिक्षकहरू नियुक्ति प्रक्रियामा चाहिँ अलि चित्त नबुझेको हो । शिक्षक जथाभावी नियुक्त हुँदा गुणस्तरीय शिक्षामा केही प्रभाव पर्यो कि भन्ने महसुस गरेका छौँ । शिक्षा जस्तो विषयमा राजनीतिक संरक्षण हुनु हुँदैन भन्ने मेरो धारणा हो । शिक्षा एक आधारभूत मौलिक अधिकार हो । सामुदायिक प्रारम्भिक बाल शिक्षा र अभिभावक शिक्षामार्फत पिछडिएका क्षेत्रहरुमा प्रारम्भिक सिकाईको पहुँचलाई वृद्धि गर्ने हाम्रो उद्देश्य छ । नीतिगत पैरवीका कुराहरु पनि छ । शिक्षाको गुणस्तर वृद्धि गर्ने कार्यक्रमहरु ल्याउन पहल भने निरन्तर जारी छ । विद्यालयमा आधारित प्रारम्भिक बाल शिक्षालाई समान रुपमा वितरण गर्न स्थानीय सरकारलाई सघाउने र हामीले पनि काम गर्नेछौँ ।
वडामा भएको स्वास्थसंस्था बाट प्रवाश हुने सेवाहरु अझै प्रभावकारी बनाउन वडाले कस्तो भुमिका खेल्न सक्ला ?
वडामा स्वास्थ्य सस्था छ । हामीले त्यो स्वास्थ्य चौकीमा चाहिँ राम्रै सुविधाहरु दिन सकेका छौँ । सामान्य सुविधाहरूको लागि उहाँहरु बाहिर जानुपरेको अवस्था छैन । औषधि अभाव भएको भन्ने खासै छैन । ठूलो हस्पिटल नै पु¥याउनु पर्यो भनेपछि अलि समस्या हुने हो । किनभने बाटोहरू हाम्रोमा पक्की छैन । हाम्रो गाउँपालिका धेरै दुर्गम भएकाले वडाले भन्दा पनि सेवाहरु प्रभाकारी बनाउन माथिल्लो सरकारले नै धेरै हेर्नू पर्ने हुन्छ । यसमा वडा कार्यलयले हातेमालो गर्ने कुराहरु त छदैँ छ तर वडाले मात्र गर्न सक्दैँन । त्यसकारण स्वास्थ्यको कुरामा गर्न सक्नेजति वडाले गर्ने र नसक्ने जती माथिल्लो निकायबाट हुनुपर्ने जस्तो लाग्छ मलाई । हामी समन्वयको काम गर्न तयार छौँ र गछौँ पनि । स्वास्थ्यका सुविधा प्रभावकारी बनाउनको लागि पनि हाम्रो पहिलो प्राथमिकता भनेको सडक नै हुनेछ । किनकी यहाँको सडकको कारण नै बर्खायाममा अस्पतालसम्म जान नसकेको र हेलिकप्टरबाट उद्धार गर्नु परेकोहुँदा सडकलाइ हामिले प्राथमिकता दिएर काम गर्नेछौं ।
विपत् व्यवस्था व्यवस्थापन पूर्व तयारी केही छ ? छुट्टै वडाले बजेट विनियोजन नै गरेर केही काम गर्ने गरेको छ त ?
सम्पूर्ण कोषहरू विपद व्यवस्थापनको लागि गाउँपालिकाले नै व्यवस्थापन गरेको छ । केही परिहाल्यो भने हाम्रो वडामा पनि त्यही बजेट मार्फत काम हुने हो । छुट्टै वडाले बजेट चाहिँ विनियोजन गरेको छैन । सामान्य औजार उपकरणहरू पनि अहिलेको छैन ।
कार्यक्रमहरू सम्पन्न गर्ने क्रममा कस्ता खालका चुनौतीहरु आउँछन् ? तिनको समाधान वडाले कसरी गर्दै आएको छ ?
मुख्य समस्या भनेको त सडकको नै हो । सडकहरू पकि नहुँदा हामीले अरु कार्यक्रमहरू गर्दा पनि विभिन्न खालका चुनौतीहरु भोग्नु परिरहेको छ । यसमा पनि विशेष कारण भनेको त बजेट नहुनू हो । बेलाबखतमा आइरहने विभिन्न साना बाधा व्यवधान भनेको त छँदै नै छ । तिनलाई हामीले वार्तामै समाधान गर्छौ । वडामा बजेट सिलिङ जति जति आउँछ त्यहीबाट सबै काम गर्नुपर्ने हुन्छ । अहिलेको लागि मुख्य चुनौती नै कम बजेट हुनु हो ।
महिला, बालबालिका, अपाङ्गता भएका, नागरिक जेष्ठ नागरिक, दलित, जनजाति पछाडि पारिएका वर्ग लगायतलाई लक्षित गर्दै गर्नुभएको कार्यक्रमहरू के के छ ?
बजेटको सीमितताले गर्दाखेरि हामीले भनेजसरी काम चाहिँ गर्न सकेका छैनौं तर एउटा पनि काम नभएको भन्ने चाहिँ हैन । महिलाहरुलाई सिपमूलक तालिमहरु दिने, दलित जनजाति पछाडि परिएका वर्गहरूलाई आर्थिक उपार्जनमा केन्द्रित हुन पहल गर्ने कामहरू चाहिँ प्रशस्तै भएको छ । पछिल्लो समय हामीले तालिम दिने कार्यक्रमहरूलाई एकदमै कम गरेका छौँ । किनभने तालिमहरू प्राप्त गरिसके पछाडि उहाँहरुले व्यावसायिक रुपमा नगरिदिँदा तालिमको औचित्य खासै नरहेको हामी प्रष्ट भएका छौँ । पहिलाको जस्तो कोटागत रुपमा छुट्टै बजेट हुँदैन । त्यसैले उहाँहरु लक्षित छुट्टै कार्यक्रम सञ्चालन गर्न समस्या छ । पेशा र संस्कृतिसँग जोडिएर केही योजना बन्ने भएपनि विगतमा जस्तो महिला, जनजाति, दलित समुदायको क्षमता विकास सशक्तिकरणका कार्यक्रम स्थानीय तहमा कमै मात्रामा सञ्चालन हुन्छ । लक्षित समूदायको कार्यक्रम कटौती भएपछि अहिले त्यस्ता कार्यक्रमका प्रस्ताव पनि आउन छाडे भनेर धेरै गुनासो पनि आउँछ । अहिले आर्थिक विकास, कृषि, पशुपालन, सडक, खानेपानी लगायतका योजना बढी माग हुनेगर्छ । त्यसकारण पनि हामीम मागअनुसारको काम गर्न लागेकाले पनि कम भएको हुन सक्छ ।
बालमैत्री वडा बनाउने भनेर केही नीतिगत योजना वडाले बनाएको छ त ?
बनाउनुपर्ने चाहिँ हो तर हामीले खासै यसमा पनि धेरै काम गर्न सकेका छैनौँ । सबैमा शिक्षाको चेतना पुग्नुपर्छ भन्ने हाम्रो प्रयास चाहिँ जारी छ । गाउँपालिकाबाट यसको लागि सामान्य कार्यक्रमहरू गरेर सुरुवात चाहिँ भएको छ । हाम्रो वडामा पनि बिस्तारै हुन चाहिँ हुन्छ तर समय चाहिँ लाग्छ ।
तपाईँको वडामा खानेपानीको अवस्था के छ ? यसमा सुधारात्मक योजनाहरु के के बनाउनुभएको छ ?
खानेपानीको अवस्थामा चाहिँ पहिलेको भन्दा धेरै नै सुधार आएको छ। हामीले निर्वाचनपछि पनि यो क्षेत्रमा केही कामहरू गरेका छौँ । खानेपानीको क्षेत्रमा पनि हामीले बृहत योजनाहरू सञ्चालन गर्न सकेका छैनौँ । तर पहिलेको भन्दा खानेपानीको क्षेत्रमा पनि धेरै सुधार चाहिँ भएको हामीले देखेका पनि छौँ ।